मोरङमा हुलाकी राजमार्ग विस्तार : बनेको भत्काए, नयाँ बनाएनन्

मोरङमा हुलाकी राजमार्ग विस्तार : बनेको भत्काए, नयाँ बनाएनन्

विराटनगर । ठेकेदार कम्पनीको ढिलासुस्तीले मोरङ जिल्लाभित्र निर्माणाधीन चरणमा रहेको हुलाकी राजमार्गले नागरिकलाई सास्ती दिइएको छ । ठेक्का सम्झौता गरेका निर्माण कम्पनीले भत्काएर लथालिङ्ग पारेपछि समयमै काम नगर्दा त्यसको अवसर नागरिकको दैनिक जीवनमा परेको हो ।

जिल्ला प्रशासन कार्यालय मोरङमा बिहीबार आयोजित बहुपक्षीय छलफल कार्यक्रममा हुलाकी राजमार्ग अन्तर्गत सेवाक्षेत्र भित्रका स्थानीय तहका जनप्रतिनिधिले निर्माणमा गम्भीर लापर्वाही भएको आरोप लगाएका छन् । उनीहरुले विराटनगर–रंगेली सडक खण्ड भत्काएर हुलाकी राजमार्ग विस्तार सुरु गरिएपनि भत्काएपछि ठेकेदारले बहाना बनाएर नागरिकलाई हैरानीमा पारेको भन्दै आक्रोश पोखेका छन् ।
मोरङमा हाल कुल ९९.५ किलोमिटर लम्बाईको हुलाकी राजमार्ग निमार्णको चरणमा छ । सात च्यानेजमा ठेक्का लगाएर ४४ किलोमिटरको रतुवा–केशलिया सडक, ३० किलोमिटरको गान्धी मनमोहन मार्ग, २२ किलोमिटरको कानेपोखरी–रङ्गेली सडक र ३.५ किलोमिटरको विराटनगर–केशलिया सडक पर्दछ ।

निमार्ण कम्पनीको ढिलासुस्तीका कारण प्रक्रिया अघि बढाईएका अधिकांश सडकहरु अलपत्र र अधुरो भएका छन् । जसका कारण नागरिकले हिडडुँुलमा समस्या खेप्नु परेको भन्दै स्थानीय तहका प्रमुखहरुले कार्यन्वयन गराउने हुलाकी राजमार्ग योजना कार्यालय र ठेकेदार कम्पनी विरुद्ध आक्रोश पोखेका थिए ।
छलफलमा रंगेली नगरपालिकाका प्रमुख दिलिप बगडीयाले जथाभावी सडक भत्काएर निर्माणमा गरिएको ढिलासुस्तीको दोष स्थानीय तहले खेप्नु परेको गुनासो गर्नुभयो । संघीय सरकार मातहतको योजना भएपनि नागरिकसँग प्रत्यक्ष जोडिने स्थानीय तहसँग नागरिकले गुनासो गर्ने गरेको भन्दै प्रमुख बगडीयाले तत्काल जनजीवन सामान्य बनाउन गर्नुपर्ने कार्यमा ध्यान दिन सुझाव दिनुभयो ।

यसैगरी कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले कुनै अवरोध भए जनप्रतिनिधिलाई भन्नुपर्ने तर साइट क्लियर गरिसकेको क्षेत्रमा निर्माणमा लापर्वाही भए योजना कार्यालय र निमार्ण कम्पनी जिम्मेवार हुनुपर्ने बताउनुभयो । चौधरीले कटहरीदेखि विराटनगरसम्मको ६ किलोमिटर सडक नबन्दा आवतजावतमा समस्या भएको भन्दै सवारी आवागमन समस्या पार्ने काम निर्माण कम्पनीले गरिरहेको बताउनुभयो ।
तराईको लाईफलाईन मानिएको हुलाकी राजमार्ग विस्तारमा ठेकेदार कम्पनीले आफूखुशी मापदण्ड निर्धारण गर्ने गरेको गुनासो समेत गरिएको छ । संघको आयोजना भएपनि स्थानीय तहका जनप्रतिनिधिको भनाईमा लागेर कतिपय स्थानमा बाटोको मापदण्ड र तोकिएको स्थान भन्दा बाहिर विस्तार गरिएको आरोप छ । ‘निमार्ण कम्पनीको अव्यवस्थित निर्माण कार्यका कारण हुलाकी राजमार्गमा दुर्घटनाको जोखिम उच्च भएको छ’ रंगेली नगरपालिकाका प्रमुख बगडीयाले भन्नुभयो–कागजी भौतिक प्रगति देखाएर राजमार्ग निर्माणमा लापर्वाही गरिएको छ, जुन योजना कार्यालय र ठेकेदारबीचको मिलेमतो छ ।

मोरङमा सात च्यानेजमा ठेक्का लगाएर निर्माण भईरहेको रतुवा–केशलिया सडक खण्डमा गजुरमुखी मोतिदान जेभी, कालिका मैनाचुली वेदान्सी जेभी र श्रेष्ठ कन्स्ट्रक्सनसँग सम्झौता भएको छ । यसैगरी गान्धी मनमोहन मार्गमा कान्छाराम कन्स्ट्रक्सन तथा विराटनगर केशलिया रोड सडक खण्डमा देव एण्ड सायर भूमिले ठेक्का लिएका छन् ।
योमध्ये विराटनगर महानगरपालिका क्षेत्र भित्र विस्तार गरिने हुलाकी राजमार्गमा पूर्व मेयर भीम पराजुलीले अवरोध गर्दा ढिलासुस्ती भएको ठेकेदार कम्पनीहरुले आरोप लगाएका छन् ।

कटहरीको नयाँ बजारदेखि विराटनगर अस्पताल चौकसम्म विस्तार हुनुपर्ने सडक खण्डमा पूर्व मेयर पराजुलीले सिंघिया खोलायता यथावत राख्नुपर्ने भन्दै विस्तारमा अवरोध पु¥याएको आरोप छ । अस्पतालचौकदेखि बरगाछीको गणेशचौकसम्मको सडक खण्ड भने अहिलेसम्म कुनै ठेक्का सम्झौता नै भएको छैन । गणेशचौकदेखि केशलियासम्मको ३.१९ किलोमिटर सडक निर्माणको सम्झौता २०७८ माघ २ गते भएपनि कुनै काम नभएको विराटनगर महानगरपालिका वडा नम्बर ५ का अध्यक्ष सन्तोष न्यौपानेले छलफलमा गुनासो गर्नुभयो ।

मोरङको रतुवा–केशलिया सडकखण्ड अन्तर्गत रतुवामाईदेखि झुँगी टोलसम्मको १६.५ किलोमिटर सडक खण्डको निमार्ण सम्झौता भएको अढाई वर्ष भईसकेको छ । २०७६ कात्तिक २४ मा सम्झौता भएको सो सडक २०७९ कात्तिक २३ सम्म सक्नुपर्ने लक्ष्य छ । तर, हाल सो सडकको भौतिक प्रगति २० प्रतिशत मात्र छ । ७९ करोड ११ लाख ३५ हजार मा सम्झौता भएपनि काम नभएको हुलाकी राजमार्ग योजना कार्यालयका योजना प्रमुख विजयकुमार थापाले बताउनुभयो ।
पि.एस÷गजुरमुखी÷मोतिदान जेभीले ठेक्का लिएको सडकमा पछिल्लो अढाई वर्षमा टेवापर्खाल तथा कल्भर्ट निमार्ण र आंशिक रुपमा माटो पुर्ने बाहेक बाँकी काम यथावत् रहेको हो ।

यसैगरी रतुवा–केशलिया सडकखण्डको बेतौनादेखि कटहरीको नयाँ बजारसम्मको ११.९ किलोमिटर सडकखण्डको अवस्था समेत उस्तै रहेको छ । २०७६ कात्तिक २४ मा सम्झौता भएको सडकको भौतिक प्रगति २० प्रतिशत मात्रै छ । चालु वर्षमा सक्नुपर्ने सडक ७८ करोडको लागतमा निमार्ण सम्झौता भएकोमा १४ करोड भुक्तानी भईसकेको छ ।
यसैगरी झुँगी टोलदेखि बेतौनासम्मको ७.६ किलोमिटर सडकखण्ड भने कालोपत्रे भईसकेको योजना प्रमुख थापाले जानकारी दिनुभयो । कटहरीदेखि विराटनगरसम्मको ६ किलोमिटरमा १५ प्रतिशत, गान्धी मनमोहन मार्ग अन्तर्गत पथरी–डाँसपुल र डाँसपुल–रङ्गेलीसम्मको ३० किलोमिटरको ३० प्रतिशत काम भएको छ । विराटनगरको गणेशचोक–केशलिया खोलासम्मको ३.१९ किलोमिटर सडकको भौतिक प्रगति ५ प्रतिशत मात्रै छ ।

छलफलमा निर्माण कम्पनीले भने कोरोना संक्रमण र त्यसपछि भएको अत्याधिक मूल्यबद्धिको प्रभाव पूर्वाधार निर्माणमा परेको दावी गरेका थिए । छलफलमा बोल्दै पि.एस.गजुरमुखी मोतिदान जेभीका दिपक गौतमले मूल्य बृद्धिका कारण परेको आर्थिक भार थेग्न नसकेर ढिलाई भएको दावी गर्नुभयो ।
छलफलमा सरोकारवाला निकायलाई निर्देशन दिदैं मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले सम्झौता मितिलाई ख्याल गरेर काम गर्नुपर्ने बताउनुभयो । उहाँले निर्माणको काम अगाडी बढाउनु भन्दा पहिला यात्रु तथा सवारी आवागमनका लागि सहज बनाउन निर्देशन दिनु भएको थियो ।

छलफलमा प्रदेश सरकारका आन्तरिक मामिला तथा योजना मन्त्री केदार कार्कीले संघीय सरकारको आयोजना निर्माणमा भईरहेको ढिलासुस्तीले तलका दुई सरकारका प्रतिनिधिलाई असर गरेको बताउनुभयो । उहाँले समयमै काम नगर्ने ठेकेदारलाई कारवाही गरिने बताउनुभयो ।

तराई–मधेशका २१ जिल्लाहरु जोड्ने बहुप्रतिक्षित राष्ट्रिय गौरवको आयोजना आर्थिक वर्ष २०६२÷६३ सालबाट सुरु भएको हो । पूर्व–पश्चिम हुँदै तराईका बस्तीहरूमा यातायातको सहज पहुँच विस्तार गर्ने लक्ष्यसहित सुरु भएको राजमार्ग विस्तारको कार्य २०७४÷२०७५ मा सम्पन्न हुने अनुमान गरिएको थियो । पूर्वको केचनादेखि पश्चिममा कञ्चनपुरको दोधारा चाँदनीसम्मको भू–भागलाई जोड्ने यो सडक निर्माणको काम मोरङमा भने अलमलमा परेको देखिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्