मेरो पासपोर्टको पन्ना सकिएकोले मैले मेरो पासपोर्ट रिन्यु गर्नु पर्ने थियो । सिडिओ कार्यालयमा गएर बुझे, राष्ट्रिय परिचय पत्र बनाएर पासपोर्टको अनलाइन फर्म भरेर आउनु पर्ने जानकारी पाए । रास्ट्रिय परिचय पत्र बनाइ सकेकोले पासपोर्टको 'एपोइन्टमेन्ट डेट' मात्र लिनु पर्ने भयो (अन्यथा त्यसको बेग्लै झन्झट छ) । अनलाइन फर्म भर्न निकै दिन निकै प्रयास गरियो तर अनलाइन 'एपोइन्टमेन्ट डेट' पाउन सकिएन ।
सिडिओ कार्यालय अगाडीको फर्म भरिदिने भाइलाइ अनुरोध गरे । उनले हुन्छ दाइ, म हेर्छु भने । बिराटनगरबाट मेरो काम ढिलो हुने भएपछि ११ अगस्टको काठमान्डूको लागि 'एपोइन्टमेन्ट' हात पारे । २०० सय रुपिया ति फर्म भर्ने भाइले मागे र मैले खुसीसाथ दिए । एक हफ्ता पछीसम्म जान मिल्ने भनेपछि म १५ अगस्टको प्लेनको टिकट गरि काठमान्डू लागे । सिधै त्रिपुरेस्वर स्थित राहदानी बिभाग तिर हानिए । त्यहाँ ठुलो लाइन थियो । तर पनि ११ बजे बिहान लाइन लागेको लगभग १:३० मा सबै काम सकियो र भोलि मोबाइलमा म्यासेज आएपछि पासपोर्ट लिन आउनु भनियो । १७ अगस्टको १२:३० सम्ममा पासपोर्ट हात पारे र ३ बजेको प्लेनको टिकट गरि बिराटनगर फर्किए । यति चाडो काम भएकोमा खुसि पनि थिए ।
मैले ६६ पानाको पासपोर्ट बनाउन २०००० पनि तिरेको थिए । धेरै पैसा तिर्दा चाडो पासपोर्ट पाउन सकिन्छ तर त्यहि प्रभावकारी सेवा साधारण दस्तुर तिर्ने नागरिकहरुले किन २-३ महिना कुर्नु पर्ने भन्ने जिज्ञासा मनमा पलायो । राहदानी लिन आउने मानिसहरुको भिडको फोटो खिच्न मन लाग्यो र मोबाइले भिडियो खिच्न थाले । एक जना प्रहरी जंगिदै आए । “भिडियो डिलिट गर्नुस, तपाइको मात्र क्यामेरा छ ?” भनेर हकारे, केहीछिन बादबिबाद भयो, अन्त्यमा म भिडियो डिलिट गर्न बाध्य भए ।
भोलि पल्ट पनि फोटो खिचे, फेरी पनि प्रहरीले आएर फोटो डिलिट गर्न बाध्य गरे । कति धेरै रुखो बोलि, नागरिकहरु मानिस नभएर भेडा- बाख्रा भएको महसुस हुन्छ त्यो बाताबरणमा । किन त्यसो गरेका होलान् उनीहरुलाइ नै थाहा होला । पासपोर्टको 'एपोइन्टमेन्ट डेट' को लागि कति तिर्नु भयो भनेर छेउछाउका मानिसहरुलाइ सोधे । कसैले २५०, त कसैले १५००, कसैले ३५०० सय सम्म तिरेको जानकारी पाए । मलाइ अचम्म र दुक्ख लाग्यो ।
आफुले २०० मात्र तिर्नु परेकोमा खुसि पनि लाग्यो । तर यदि मलाइ पनि २-३००० सम्म पनि मागेको भए दिन तयार हुन्थे होला, किनकी मलाइ पासपोर्ट समयमा चाहिएको थियो । थाहा छैन कसको दोष हो, तर अनलाइन सेवा भनेको नागरिकहरुको जीवनलाइ सहज बनाउनको निम्ति सुरु गरिएको व्यवस्था हो । यदि यसैको कारण नागरिकहरु सेवा सुबिधा लिनबाट बन्चित हुन्छन् वा बढी तिर्न बाध्य हुन्छन् भने, यो भन्दा दुक्खको कुरा अरु के हुन सक्छ ? मैले प्लेन, पासपोर्ट र व्यक्तिगत खर्च गरि ३५००० खर्च गरे (आफन्तको घरमा बस्दापनि ) । यदि नागरिकहरुलाइ राज्यले सहज प्रभाकारी सेवा प्रदान गर्न सकेको भए आफ्नै ठाउ बाट सेवा लिन सकिने थियो र यतिका धेरै रकम खर्चिनु पर्ने थिएन l यस्तै-यस्तै झन्झट आदिका कारणले गर्दा यो देशमा नागरिकता बनाउने भन्दा पासपोर्ट बनाउनेहरुको संख्या बढ्दो क्रममा छ र स्थितिमा सुधार नआउने हो भने बढिरहने छ ।