कारोबार लेनदेन, योजना जग्गा हडप्ने

कारोबार लेनदेन, योजना जग्गा हडप्ने

विराटनगर । घरायसी प्रयोजनका लागि आर्थिक लेनदेनको कारोबारमा मृत्युपछि पनि परिवारका अन्य सदस्यसँग ‘मिटरब्याज’को अंकुश लगाएर जग्गा हडप्ने गरेको देखिएको छ । जिल्ला प्रशासन कार्यालय मोरङमा ‘मिटरब्याजी’ पीडितले दिएका ३७ उजुरीको विवरणमध्ये केहिको सामान्य कारोबार सुरु गरेर मिटरब्याजको अंकुशबाटै घरजग्गा हडप्पेको देखिएको हो ।

सामान्य प्रयोजनमा लिइएको रकम मिटरब्याजले तन्काउँदा तन्काउँदै घरजग्गा डुब्ने गरेका छन् । लिइएको ऋण फिर्ता गर्दागर्दै लेनदेनमा सहभागी घरमूलीको मृत्यु भएपश्चात पनि परिवारका अन्य सदस्यलाई कारोबारीले अफ्ठ्यारोमा पार्ने समेत पाइएको छ ।
विराटनगर–१५ का जितेन्द्रकुमार रजकसँग २०७० चैत १६ गते विराटनगर–१८ का भानोप्रसाद साहले पाँचलाख रुपिँया लिनु भएको थियो । घरमूली भानोप्रसादको निधन भयो । रजकले श्रीमती गायत्रीदेवी साहलाई सुरुको शर्तनामाअनुसार जग्गा दिन मानेनन् ।

जिल्ला प्रशासन कार्यालय मोरङमा पाँच लाख ऋण दिदाँ पाँच कठ्ठा जग्गा पास गरिदिनुपर्ने तर ऋण तिरेपछि जग्गा फिर्ता गरिदिने शर्त अस्वीकार गरिएको भन्दै गायत्रीले रजक विरुद्ध उजुरी दिनु भएको छ । ऋण चुक्ता गर्दा समेत अहिले जग्गा फिर्ता गर्नुभन्दा तिर्न बाँकी देखाएर अंकुश लगाउने गरेको गुनासो छ ।

पीडितको दावी अनुसार ऋण प्रवाह गर्ने रजकसँग कुरा गर्दा सातवर्ष अगाडी पास भएको जग्गा अहिले मूल्य बढेपछि फिर्ता लिन नक्कली दावी गरिएको गुनासो गर्नुभयो । पीडित गायत्रीले जिल्ला प्रशासन कार्यालय मोरङमा ऋण लिँदा कित्ता नम्बर ८६७ नम्बरको १६९५ वर्गमिटर जग्गा रजकमा नाममा धितोपास गरिदिएको उल्लेख गर्नु भएको छ । शर्तअनुसार पाँचलाखको ८ लाख ऋण तिरेपछि जग्गा फिर्ता गर्नुपर्नेमा उल्टै ऋण देखाउने गरिएको उल्लेख छ ।

यस्तै विराटनगर–२ का प्रविन जैन विरुद्ध विराटनगर–५ का रामकुमार श्रेष्ठ र विराटनगर–१ का अजयकुमार चौधरीले मिटरब्याज असुलेको भन्दै उजुरी दिनु भएको छ । जैनले मिटरब्याजमा पैसा लगानी गरेर चौधरीको जायजेथा सबै हडप्पेको आरोप छ । जैनले पहिला भएको कारोबार चौधरीसँग मिलेसकेको र श्रेष्ठसँग बाँकी रहेको बताउनुभयो । विराटनगरमा हुण्डि, फाट्का तथा जुवाजन्य खेलमा संलग्न व्यक्तिलाई पैसा लगानी गर्ने गरेको जैनलाई आरोप छ ।

सुनसरी इटहरी–६ का बिक्रम श्रेष्ठले मोरङ बेलबारी–११ का मिलन राईसहित छ जना विरुद्ध उजुरी गर्नु भएको छ । समूह बनाएर आफूलाई छलछाम गरेको भन्दै राईसहित लेटाङका सीताराम पाण्डे, इटहरी–६ का नविन घिसिङ तामाङ, अर्जुन चौधरी, संजय बुढाथोकी, विरेन्द्र गुरुङ र इटहरी–९ का अनिस सुवेदी विरुद्ध उजुरी दिनुभएको हो ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले यस्ता उजुरी अन्तर जिल्ला कारोबारको समेत आएको जानकारी दिनुभयो । मोरङका पीडित र सुनसरीका पीडकको नाममा समेत उजुरी परेको छ । व्यक्तिगत र सामूहिक कारोबारका समेत उजुरी जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका छन् । कतिपय कारोबारको प्रमाण चुकेको देखिन्छ, कतिपयको प्रमाण समेत छन्, सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलले भन्नुभयो–अझै उजुरी लिने काम जारी छ, भदौ ५ गतेसम्म आएका उजुरीको जानकारी गृहमन्त्रालयमा पठाएका छौं ।

सर्वसाधारणमा मिटरब्याजी कारोबारले जेलेको जंगिर तोड्न सरकारले देशभर एकसाथ पीडितसँग उजुरी माग गरेको थियो । मोरङमा आम सर्वसाधारणसम्म सुचना नपुगेका कारण थोरै मात्रै उजुरी आएकोले अझै कसैको समस्या भए उजुरी गर्ने अवसर दिइने सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिनुभयो ।

पहाडका जिल्लामा छैनन् उजुरी
मिटरब्याजी विरुद्ध उजुरी प्रदेश १ का पहाडी जिल्लामा हालसम्म परेको देखिएको छैन । एक नम्बर प्रदेश प्रहरी कार्यालय अपराध अनुसन्धान शाखाको तथ्यांक अनुसार मोरङमा ३७, झापामा २३, सुनसरीमा २८ र उदयपुरमा १ वटा उजुरी परेका छन् ।
त्यस बाहेक पहाडी जिल्लामा कोहि पीडित भएको उजुरी परेको छैन । प्रदेश १ अन्तर्गत पनि तराईका जिल्ला झापा, मोरङ र सुनसरीमा धेरै पीडित रहेको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्