वैदेशिक अध्ययनका लागि अस्ट्रेलियामा अहिले भिसा रिजेक्सन (अस्वीकार) उच्च

वैदेशिक अध्ययनका लागि अस्ट्रेलियामा अहिले भिसा रिजेक्सन (अस्वीकार) उच्च

वैदेशिक अध्ययनका लागि केही महिनाअघि सबैभन्दा धेरै नेपाली विद्यार्थीले आवेदन गरेको र भिसासमेत प्राप्त गरेको अस्ट्रेलियामा अहिले भिसा रिजेक्सन (अस्वीकार) उच्च छ । भोकेसनल एजुकेसन एण्ड ट्रेनिङ (भेट) का लागि भएको आवेदनको झण्डै ९० प्रतिशत भिसा रिजेक्सन भएको छ । उच्च शिक्षाका लागि आवेदन गर्नेको भिसा प्राप्ती भने तुलनात्मक रुपमा केही धेरै छ ।

शैक्षिक परामर्श व्यवसायीहरू अहिले अस्ट्रेलियामा भेटका कोर्स अध्ययन गर्न आवेदन गर्नेको करिब १० प्रतिशतको मात्रै भिसा लागेको छ । उच्च शिक्षाको हकमा भने ५०–६० प्रतिशतको भिसा लागेको छ । ‘पछिल्लो समय अस्ट्रेलिया अध्ययनमा आवेदन गर्ने नेपाली विद्यार्थीको भिसा अस्वीकार अत्यधिक छ । भेट कोर्समा ९० प्रतिशतसम्म भिसा अस्वीकार भएका छन् । उच्च शिक्षामा यो दर ४० प्रतिशत रहेको अनुमान छ,’ राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका)का अध्यक्ष सन्तोष प्याकुरेलले भने ।

कोभिडका कारण अन्तर्राष्ट्रिय विद्यार्थीको अध्ययन आगमन रोकेको अस्ट्रेलियाले खुला गरेलगत्तै ठूलो संख्यामा भिसा लागेको थियो, तर केही महिनायता यो दर निरन्तर घटिरहेको छ । गत जुन महिनामा भेट कोर्समा सबैभन्दा कम अर्थात् २२ प्रतिशत नेपाली विद्यार्थीको मात्रै भिसा लागेको छ । कुल पाँच हजार सात सय ४८ नेपाली विद्यार्थीले भिसा आवेदन गरेकामा दुई हजार पाँच सय आठ अर्थात् ४३.६३ प्रतिशतको भिसा लागेको थियो । यसमध्ये उच्च शिक्षातर्फ तीन हजार पाँच सय ७९ ले आवेदन गरेकामा दुई हजार १८ अर्थात् ५६.३८ प्रतिशतको भिसा लागेको थियो । भेटतर्फ दुई हजार एक सय ६३ आवेदनमध्ये चार सय ८५ अर्थात् २२.४२ प्रतिशतको मात्रै भिसा लागेको थियो । जुन महिनामै पोस्ट–ग्र्याजुयट रिसर्च क्षेत्रमा ६ जनाले आवेदन दिएकामा पाँचजनाको भिसा लागेको थियो ।

गत जनवरीदेखि जुनसम्म आवेदन गर्ने २१ हजार ६ सय ७१ जनाले आवेदन गरेकामा १४ हजार एक सय ३८ विद्यार्थीको भिसा लाग्यो । पोस्ट–ग्र्याजुयटमा ३१ जनाले भिसा पाए । ६ महिनाको अवधिमा २१ हजार ६ सय थियो भने कुल १४ हजार एक सय ३८ अर्थात् ६५ प्रतिशत भिसा पाए । जुलाई महिनाको विवरण अस्ट्रेलियन सरकारले वेबसाइटमा सार्वजनिक गरिसकेको छैन । उनीहरूसँग डिपेन्डेन्ट भिसामा जानेको संख्यासमेत छ ।

अ‍ेस्ट्रेलिया अध्ययनका लागि परामर्श दिने व्यवसायीहरूको संस्था ऐरीका अध्यक्ष द्विराज शर्माले अस्ट्रेलिया अध्ययनका लागि अहिले कागजातमा कडाइ गरेको बताए । कतिपय नेपाली विद्यार्थीको ‘स्तर’लाई लिएर आलोचना भएपछि अस्ट्रेलियन सरकारले कागजातमा कडाइ गरेको उनको भनाइ छ । ‘गत जुनयता भिसा रिजेक्सन बढेको छ । अहिले युनिभर्सिटीमा अध्ययन गर्न जानेको हकमा धेरैको भिसा लागे पनि भेट कोर्समा एकदमै न्यून मात्र भिसा लागेको छ,’ उनले भने, ‘भिसा सफलता दर कम भएपछि आवेदनसमेत कम हुन थालेको छ ।’

कोभिड– १९ को संक्रमण विश्वमा बढ्न थालेपछि अस्ट्रेलियाले सन् २०२० मा सीमानाका बन्द गरेको थियो । कोभिड महामारी रोकिएपछि गत डिसेम्भरबाट अन्तर्राष्ट्रिय विद्यार्थीलगायतका लागि सीमा खुला गरेको थियो । सीमा खुला भएसँगै आवेदन गर्ने अधिकांश नेपाली विद्यार्थीको भिसा लागेको थियो । (नयाँपत्रिका)

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्