शून्य समय : डेङ्गु नियन्त्रण गर्न माग

शून्य समय : डेङ्गु नियन्त्रण गर्न  माग

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदले काठमाडौँ उपत्यकालगायत देशका विभिन्न जिल्लामा फैलिएको डेङ्गु रोग नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

आजको बैठकको शून्य समयमा सांसद मीना सुब्बाले उपत्यकाका अस्पतालमा डेङ्गुका बिरामी दैनिकरुपमा बढ्दै गएको जनाउँदै बेलैमा नियन्त्रण गर्न सरकारसँग माग गर्नुभयो । उहाँले त्रिवि शिक्षण अस्पताल, वीर, टेकु अस्पतालमा डेङ्गुका बिरामीले शय्या पाउन मुस्किल परेको अवस्था रहेको बताउनुभयो । सांसद मैनाकुमारी भण्डारीले नागरिकता विधेयकमा सरकार संवेदनशील हुन नसकेको गुनासो गर्नुभयो । सांसद रङ्गमती शाहीले स्वास्थ्य, शिक्षा र वृद्धवृद्धाको जिम्मा राज्यले लिनुपर्छ भन्नुभयो ।

सांसद राजेन्द्रकुमार राईले धनकुटा जिल्लाको भेडेटार–पाँचथरको रविराँके सडक (एक सय एक किलोमिटर) बाटो निर्माण सुरु गरेको पाँच वर्ष भए पनि पूरा हुन नसकेकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद रामवीर मानन्धरले शून्य समयमा बोलेको विषयको कुनै पनि सम्बोधन नहुने गुनासो गर्नुभयो ।

सांसद रेनुका गुरुङले नेपाल– भारत खुला सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि अन्त्य गर्न सरकारसँग माग गर्नुभयो । रासस फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्