काठमाडौं । 'सामसङ ग्यालेक्सी ए १३' फोन नेपालमा सार्वजनिक भएको छ।
उक्त फोन सामसङको उच्च गुणस्तरको नवीनताबाट निर्मित रहेको बताइएको छ । सामसङले सामान्यतया मिड रेन्ज र सो भन्दा माथिको महँगा फोनमा ५,००० एमएएचको क्षमताको ब्याट्री उपलब्ध गराउने गर्छ । तर यो पटक भने सामसङले मिडरेन्ज भन्दा सस्तो स्मार्टफोनमा पनि कम्पनीले ५,००० एमएएचको ब्याट्री उपलब्ध गराएको छ ।
कम्पनीले हालै सार्वजनिक गरेको ग्यालेक्सी ए१३ मा ५,००० एमएचको ब्याट्री उपलब्ध छ । फोनलाई छिटो चार्ज गर्नका लागि कम्पनीले १५ वाटको फास्ट चार्जर उपलब्ध गराएको छ । ब्याट्री क्षमताबाहेक यस स्मार्टफोनमा अन्य थुप्रै फिचरहरू पनि उपलब्ध रहेका छन् । यो फोनले कन्टेन्ट बनाउनेहरूका लागि र विशेष गरी नयाँ उदीयमान प्रतिभाहरूका लागि उपयुक्त उपकरण बनाउन सहयोग गर्ने विश्वास सामसङले लिएको छ । तस्बिर र भिडियोहरूको लागि यो फोन उपयुक्त रहेको कम्पनीले जनाएको छ ।
फोनमा ६.६ इन्चको डिस्प्ले छ भने यसमा सामसङको एग्जिनोस ८५० प्रोसेसर उपलब्ध छ । उक्त मोबाइलमा ६४ जीबी इन्टरनल स्टोरेज सहित यसमा १ टीबीसम्मको माइक्रो एसडी कार्ड प्रयोग गर्न सकिनेछ । फोनमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा पनि दिइएको छ ।
यसको शक्तिशाली मल्टि–क्यामेरा प्रणालीले तस्बिर र भिडियोहरू खिच्न धेरै सजिलो हुने र यसको सिस्टमले प्रदान गर्ने स्टोरेज वृद्धिले यो फोन ग्राहकको लागि उपयुक्त हुने कम्पनीको दाबी छ।