प्रधानमन्त्री देउवाद्वारा इन्द्रजात्रा पर्वमा शुभकामना

प्रधानमन्त्री देउवाद्वारा इन्द्रजात्रा पर्वमा शुभकामना

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कुमारी इन्द्रजात्रा पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको शुभकामना व्यक्त गर्नुभएको छ ।

उहाँले एक शुभकामना सन्देशमार्फत सहकालका देवता इन्द्रप्रति कृतज्ञता प्रकट गर्दै मनाइने यस पर्वले प्रकृति र मानवबीचको अन्योन्याश्रित सम्बन्धलाई प्रतिविम्बित गर्ने उल्लेख गर्नुभएको छ ।

साथै उहाँले शताब्दीयौँदेखि प्रचलनमा रहेका यस्ता मौलिक पर्वले प्राचीन सभ्यता एवं संस्कृतिको जगेर्ना गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । यो पर्व देवराज इन्द्रको पूजाअर्चनाका साथै जीवित देवी कुमारी, गणेश र भैरवको रथयात्रा गरी मनाउने गरिन्छ । काठमाडौँको वसन्तपुरमा भाद्र शुक्ल द्वादशीका दिन लिङ्गो ठड्याएर इन्द्रजात्रा शुभारम्भ हुन्छ भने आश्विन कृष्ण चौथीका दिन लिङ्गो ढालेर जात्रा समापन गर्ने प्रचलन रहेको छ ।

प्रधानमन्त्री देउवाले काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा मनाइने कुमारी इन्द्रजात्रा जस्ता पर्वले विविध जातजाति, भाषाभाषी, संस्कृति र भौगोलिक क्षेत्रका नेपालीका बीचमा आपसी सद्भाव र सहिष्णुतालाई प्रगाढ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने उल्लेख गर्नुभएको छ ।

उहाँले यस पर्वले जल, जमिन र जङ्गललगायतका प्राकृतिक स्रोतको दिगो उपयोगका साथै ऐतिहासिक एवं सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन गर्न प्रेरणा प्रदान गर्न सकोस् भनी कामना गर्नुभएको छ । रासस फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्