चाडपर्व आयो सीमामा कडाई गर

चाडपर्व आयो सीमामा कडाई गर

नेपालीका घरघरमा चाडपर्व भित्रिएको छ । विशेष साँस्कृतिक महत्व बोकेका पर्वले नेपालीमा खुशी, उमंग र भाईचारा सम्बन्ध स्थापीत गराउँदछ । बहुसाँस्कृतिक विशेषता रहेको नेपालमा सबै जातजातिले दशैं, तिहार र छैठ पर्वलाई उतिकै महत्व दिन्छन् । हिन्दुहरुले मात्रै मनाउने भएपनि अन्य जातिले दशैं, तिहार र छैठलाई उतिकै महत्व दिएर सम्मान गर्ने गर्दछन् । धार्मिक सहिष्णुता सम्पन्न नेपालीहरु भएको देशमा सबै पर्वको महत्व विशेष छ ।

चाडपर्वको साँस्कृतिक महत्व छ । यससँग आर्थिक पक्ष र कारोबारहरु जोडिएका हुन्छन् । दशैं केन्द्रीत किनमेललाई खासगरी सीमा जोडिएका जिल्लाका नागरिकले सीमापार भारतीय बजारलाई रोज्ने गर्दछन् । पर्व विशेष भएपनि किनमेल भारतीय बजारमा हुँदा त्यसको असर नेपाली अर्थतन्त्रमा पर्नजान्छ । खुल्ला सीमानाकाको फाइदा नेपालीहरुले फुटकर सामान खरिद गर्न गएर मात्रै उठाएका हुँदैनन् । यसको दुरुपयोग व्यापारीहरुले भारीका भारी सामान अवैध रुपमा भित्र्याएर पनि गरिरहेका हुन्छन् । त्यसलाई रोक्नु नेपाली अर्थतन्त्रका लागि फाइदाजनक हुन्छ ।

रोक्ने कसले ? प्रश्न उब्जन्छ । सबैभन्दा पहिले रोक्ने खोज्नु भन्दा पहिले रोकिन खोज्नु उत्तम हुन्छ । लोकतन्त्र वा खुल्ला बजार अर्थतन्त्रले उपभोक्तामा स्वेच्छाचारिता त सिर्जना गरेको छ । त्यसले सीमापार बजारमा गएर सामान खरिद गर्न पाउनु पर्ने अधिकारको रुपमा प्रष्ट्याँइन्छ । तर, लोकतन्त्र स्वनिमय र स्वअनुशासन पनि हो । यसलाई समुन्नत बनाउन राष्ट्रियहितलाई सर्वोपरी राख्नुपर्दछ । यस कारण चाडपर्व केन्द्रीत किनमेललाई नेपाली बजारमुखी संस्कृतिमा परिणत गर्नु उचित हुन्छ ।

एपभोक्ताले झोला र पोकामा ल्याउने सामानको विषय फरक हुन् । राज्यले सीमा सुरक्षामा खटाएको सशस्त्र प्रहरी बल र सामाजिक सुरक्षामा परिचालित नेपाल प्रहरीले सीमामा कडाई गर्न जरुरी छ । घरायसी प्रयोजनका लागि खरिद गरेर ल्याएका सामान पक्राउ गर्ने सुरक्षा संयन्त्रले मुनाफामुखी भएर सामान ओसारपसार गर्ने व्यापारीमाथि निगरानी बढाउनु पर्दछ । सीमामा सुरक्षा संयन्त्रले ‘सेटिङ’ गर्ने गरेको चर्चा पहिल्लैदेखिको चलेको चलन हो । जसको फाइदा उपभोक्तालाई नभएर व्यापारी वा प्रहरीलाई मात्रै हुने गर्दछ । त्यस्तो कार्यले सुरक्षा संयन्त्रको प्रतिष्ठामा समेत आँच आउँछ । समयदेखि नै चाडपर्व केन्द्रीत सीमा निगरानी बढाउने, नियन्त्रण गर्ने र वैधानिक आयातलाई प्रोत्साहन गर्ने काम सशस्त्र प्रहरी, नेपाल प्रहरी, सीमा नजिक बसेका नागरिक लगायतका सरोकारवाला पक्षको हो भन्ने बुझ्न जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्