निर्वाचनमा एमालेले हार्न हुँदैन : अध्यक्ष ओली

निर्वाचनमा एमालेले हार्न हुँदैन : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमालेले हार्न नहुने बताउनुभएको छ ।

ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आज यहाँ आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले देशको विकास र समृद्धिका लागि निर्वाचनमा एमालेले हार्नै नहुने बताउनुभएको हो ।

“यो निर्वाचन पहिलेको जस्तोे सामान्य निर्वाचन होइन, यसको विशेष अर्थ र महत्व छ । लोकतन्त्र, राजनीतिक स्थिरता र विकासका लागि पनि यसपटक एमाले हार्न मिल्दैन”, अध्यक्ष ओलीले भन्नुभयो । देशको विकास गर्नका लागि एमालेबाहेक अर्को कुनै राजनीतिक शक्ति नभएको उहाँको जिकिर थियो ।

आगामी मङ्सिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नेता तथा कार्यकर्तालाई मत वृद्धि र मत रक्षा गर्नसमेत आग्रह गर्दै अध्यक्ष ओलीले एमालेमा प्रवेशको लहर चलेकाले स्थानीय तहमा ३८ लाख मत प्राप्त गरिएकामा अबको निर्वाचनमा ५० लाख मत पु¥याउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का प्रदेश सचिवालय सदस्य तथा भरतपुर महानगरका सहइन्चार्ज अञ्जन तिमिल्सेना, कालिका नगरपालिकाका उपाध्यक्ष तुलबहादुर विक, बागमती प्रदेश कमिटी सदस्य गिरिधारी सुवेदीलगायत एमालेमा प्रवेश गर्नुभएको थियो । नवप्रवेशीलाई पार्टी अध्यक्ष ओलीले स्वागत गर्नुभएको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्