काँकरभिट्टाका आँखा अस्पताल प्रायभारतीय नागरिककै भरपर्दो उपचार केन्द्र

काँकरभिट्टाका आँखा अस्पताल प्रायभारतीय नागरिककै भरपर्दो उपचार केन्द्र

झापा । सीमा नाका काँकरभिट्टा आसपास क्षेत्रमा रहेका आँखा अस्पताल भारतीय नागरिकका लागि भरपर्दो उपचार केन्द्र बनेका छन् । ती अस्पतालमा दैनिकजसो भारतीय आँखाका बिरामीले नै भरिने गरेका छन् ।

मेचीनगर नगरपालिका–६ स्थित काँकरभिट्टामा मात्र रहेका तीनवटा आँखा अस्पतालको तथ्याङ्क केलाउँदा एक वर्षको अवधिमा सेवा लिने ६० हजारभन्दा बढी आँखाका रोगीमध्ये ८० प्रतिशत भारतीय रहेका पाइएको छ । भारतका बिहार, झारखण्ड, आसाम, सिक्किम, नागल्याण्ड, मेघालय, वेष्ट बङ्गाललगायत स्थानबाट आँखा उपचारका लागि नेपाल आउने गरेका अस्पतालका सञ्चालक बताउँछन् । सीमा क्षेत्रका अस्पतालमा आँखाका बिरामी नेपालीभन्दा बढी भारतीय हुने उनीहरुको भनाइ छ ।

अधिकांश मोतियाविन्दुका बिरामी उपचारका लागि भारतबाट धाएर आउने गरेको काँकरभिट्टास्थित दिव्यज्योति आँखा अस्पतालका प्रशासन प्रमुख सुरेश सापकोटा बताउनुहुन्छ । उहाँका अनुसार उक्त अस्पतालमा गत आर्थिक वर्षमा उपचार गराउने १४ हजार दुई सय ८३ मध्ये ८० प्रतिशत भारतीय नागरिक थिए ।

मेची अभियानका संयोजक विजय डालमिया नेपालमा आँखाको उपचार सस्तो र राम्रो भएको हुँदा भारतीय नागरिक बढी आउने गरेको बताउनुहुन्छ । “भारतमा आँखाका राम्रा राम्रा अस्पताल छन् तर सामान्य मोतियाविन्दुको शल्यक्रिया गर्नुपर्दा भारतीय रु २० हजारसम्म तिर्नुपर्छ”, उहाँ भन्नुहुन्छ, “नेपालमा सोको उपचार रु पाँच हजारसम्ममै हुन्छ । भारतीय अस्पतालका तुलनामा उपचार नेपालमै सस्तो हुँदा उनीहरु यतै धाउँछन् ।”

संयोजक डालमिया अन्य रोगको उपचारका लागि भारत धाउने नेपाली धेरै भए पनि आँखाको उपचारमा भारतीय नागरिकलाई नेपालका अस्पतालले आकर्षण गर्न सकेकोमा खुशी व्यक्त गर्नुहुन्छ । भारतसँगको खुल्ला सिमाना र आउतजावतमा समस्या नहुँदा पनि उपचार गर्न आउन उनीहरुलाई सजिलो भएको उहाँको भनाइ छ । अघिल्लो आवमा कोभिडका कारण भारतीय बिरामी नपाउँदा यी आँखा अस्पताल प्रायः सुनसान नै बनेका थिए ।

यसैगरी काँकरभिट्टास्थित बाहुनडाँगी रोडमा विगत १५ वर्षदेखि सञ्चालनमा रहेको मेची नेत्रालयमा पनि उपचार गराउन आउने आँखाका बिरामीमध्ये ७० प्रतिशत भारतीय हुने गरेको अस्पतालकी प्रशासन प्रमुख पुनम प्रधान बताउनुहुन्छ । उक्त अस्पतालमा गत आव ४४ हजार छ सय २२ आँखाका बिरामीको उपचार भएकामा दुई हजार आठ सय २८ जनाको मोतियाविन्दु, रेटिनालगायतको शल्यक्रिया भएको उहाँले जानकारी दिनुभयो ।

प्रशासन प्रमुख प्रधानका अनुसार भारतका विभिन्न स्थानबाट आउने आँखाका बिरामी बच्चादेखि वृद्धसम्म हुने गरेका छन् तर धेरैजसो बिरामी भने ४१ वर्षमाथिका थिए । यसैगरी विगतमा उक्त अस्पतालमा बङ्गलादेशी पनि उपचारका लागि आएका थिए कोरोनाको महामारी पछि उनीहरु उपचारका लागि नआएको उहाँको भनाइ थियो ।

प्रायः काँकरभिट्टा क्षेत्रमा दुई किलोमिटर क्षेत्रको अन्तरालमा तीन ठूला आँखा अस्पताल रहेका छन् । यी अस्पताल भारतीय नागरिकलाई नै लक्ष्य गरेर सञ्चालनमा ल्याइएको काँकरभिट्टावासीको भनाइ छ । उपचार गर्न आउने भारतीय नागरिकका कारण काँकरभिट्टा आसपासका होटललाई फाइदा पुगेको छ ।

झापाको ठूलो व्यापारिक सहरको रुपमा चिनिएको विर्तामोड क्षेत्रमा पनि तीन ठूला आँखा अस्पताल छन् । मेची आँखा अस्पताल, दृष्टि र विर्तामोड आँखा अस्पतालका सेवाग्राही आधा जति भारतीय नागरिक नै हुने गरेका छन् ।

जिल्लामा सबैभन्दा पुरानो र ठूलो मेची आँखा अस्पताल हो । यो अस्पतालले स्थापनाको २६ वर्ष पार गरिसकेको छ । सो अवधिमा यो अस्पतालले तीन लाख ५० हजारभन्दा बढीलाई सेवा दिइसकेको छ । तीमध्ये झण्डै ५० प्रतिशत विरामी भारतीय नागरिक नै रहेको अस्पताल प्रशासनको भनाइ छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्