कृषि उत्पादन बेचेर ‘पढ्दै, कमाउँदै’ विद्यार्थी

कृषि उत्पादन बेचेर ‘पढ्दै, कमाउँदै’ विद्यार्थी

सुर्खेत । कैलाली अत्तरियाका युवराज आचार्य तीनवर्षे भेटेनरी जेटिए पढिरहनु भएको छ । एसइई उत्तीर्ण गरेर रोजगारीका लागि भारतको हिमाञ्चल हानिएका आचार्य अहिले सुर्खेतको बराहताल गाउँपालिका–५ बड्डीचौरस्थित जनज्योति माध्यमिक विद्यालयमा तीन वर्षे भेटेनरी जेटिए पढिरहनुभएको छ ।

पढाई सँगैसँगै आचार्यले सोही विद्यालयमा ‘पढ्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत विद्यालयले दिएको ऋणले १२ वटा बङ्गुर र एक सय ५० वटा बट्टाइपालन गरिरहनुभएको छ । आचार्यसहित छ जना विद्यार्थीले बङ्गुर र बटाइबाटै विद्यालयको शुल्क र ऋण तिरिरहनुभएको छ । “स्कुलको ऋण तिरेर पनि फाइदा हुन्छ”, आचार्य भन्नुहुन्छ, “पढाइ खर्चबाट बचेको पैसा घरमा पठाउँछु ।”

उहाँका अनुसार विद्यार्थीले लिएको ऋणको ब्याज तिर्नुपर्दैन । विद्यालय छोड्ने बेलासम्म साँवा रकम मात्रै तिरे पुग्ने आचार्यले बताउनुभयो । सोही विद्यालयमा तीन वर्षे भेटनरी जेटिए अध्ययन गरिरहनुभएका सुर्खेतकै दिपक शाही विद्यालयको पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत बट्टाइको चल्ला ह्याचरी सञ्चालन गर्नुहुन्छ ।

यसबाट उहाँले आफ्नो पढाई खर्चसँगै घरपरिवारलाई समेत खर्च पठाउने गर्नुभएको छ । अहिले उहाँलाई विभिन्न ठाउँबाट चार हजार २०० चल्लाको माग आएको छ । दिपक जनज्योतिमा पढेर उद्यम गरेकै कारण विद्यालयको सिफारिसमा उहाँका आमा बुबालाई कृषि गर्नका लागि बैंकले समेत सहुलियतमा रु १० लाख ऋण दियो ।

सैद्धान्तिकसँगै प्रयोगात्मक गर्दा बुझ्न सहजता हुनुको साथ पढाई समेत प्रभावकारी भएको आचार्य र शाहीको अनुभव छ । विद्यालयले तीन वर्षदेखि ‘पढ्दै–कमाउँदै’ कार्यक्रम सञ्चालन गरिरहेको छ । यो कार्यक्रमले विद्यार्थीलाई आत्मनिर्भर हुन प्रेरित गरिरहेको छ । कार्यक्रमअन्तर्गत विद्यालयमा अध्ययन गरिरहेका सबैले ऋण लिएर कृषि व्यवसाय गर्न सक्छन् ।

‘पढ्दै–कमाउँदै’ गर्न चाहने विद्यार्थीका लागि ऋण दिनुका साथै आवश्यक संरचना पनि उपलब्ध गराउने गरेको जनज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक नारायण सिग्देलले बताउनुभयो । “विद्यार्थीले काम गर्ने जाँगर मात्रै देखाउनुप¥यो”, प्रधानाध्यापक सिग्देलले भन्नुभयो, “उनीहरूलाई समूह वा व्यक्तिगतरूपमा सानोतिनो व्यवसायका लागि ऋण दिइरहेका छौंँ ।”

विद्यालयमा प्राविधिक विषयसमेत पढाइ हुन्छ । भेटेरेनरी र कृषितर्फ १८ महिने र तीन वर्षे कक्षा सञ्चालन भइरहेको छ । विद्यालयबाट ऋण लिएर सामूहिक व्यवसाय गर्न चाहने विद्यार्थीले पहिले समूह गठन गर्छन् । त्यसमा कुन व्यवसाय रोजेर कक्षा शिक्षकलाई प्रस्तावना दिन्छन् । त्यसअनुसार शिक्षकले ऋण दिन विद्यालयलाई सिफारिस गर्छन् ।

विद्यार्थीलाई पाँच हजारदेखि एक लाख २० हजार रुपैयाँसम्म ऋण दिइरहेको प्रधानाध्यापक सिग्देलले बताउनुभयो । “विद्यार्थीलाई सर्च–रिसर्च र खर्चको विधि अपनाएर व्यवसायमा संलग्न गराएका छौँ”, उहाँले भन्नुभयो, “यसबाट विद्यार्थीले कतिसम्मको व्यवसाय गर्न सक्छु भनेर पहिचान गर्छ । धेरै लगानी गरेर व्यवसाय गर्नुपरे बैंकिङ प्रक्रियाबाट भए पनि ऋण उपलब्ध गराउँछौँ ।”

प्राविधिक शिक्षा पढ्ने विद्यार्थीले पहिले पाँच हजार रुपैयाँ धरौटी राख्छन् । त्यही कोषमा जम्मा भएको रकमबाट विद्यालयले ऋण दिन्छ । कार्यक्रमका लागि कर्णाली प्रदेश सरकारले रु ५० लाख उपलब्ध गराएको छ । उक्त रकमबाट रु ३५ लाखको लागतमा विद्यालयले तीन हजार कुखुरा, ५० वटा बङ्गुर र २० वटा माउ बाख्रा अट्ने खोर बनाएको छ ।

प्रधानाध्यापक सिग्देलका अनुसार रु ३० लाखमा अर्को कोष बनाएर विद्यार्थीलाई आवश्यकताअनुसार ऋण दिँदै आएको छ । प्राविधिक शिक्षाअन्तर्गत प्रयोगात्मक कक्षाका लागि आवश्यकपर्ने सबै संरचना विद्यालयको आफ्नै छ । आफूसँग भएको जग्गा नपुगेपछि विद्यालयले पाँच रोपनी जग्गा भाडामा लिएको पनि प्रधानाध्यापक सिग्देल बताउनुहुन्छ ।

उहाँका अनुसार भाडामा लिएको जग्गामा पनि विद्यार्थीले माछा, बङ्गुर, कुखुरा तथा मौरीपालन गरिरहेका छन् भने तरकारी र च्याउलगायत खेती पनि गरिरहेका छन् । विद्यालयले सञ्चालन गरेको ‘पढ्दै–कमाउँदै’ कार्यक्रमले विद्यार्थीलाई कापी, कलम मात्रै होइन, विद्यार्थीले उत्पादन गरेको कृषिजन्य सामग्री लिएर विद्यालय आउन जान पनि सिकाएको छ ।

कार्यक्रम सञ्चालनपछि जनज्योतिका विद्यार्थी हरेक दिन विद्यालय आउने समयमा अण्डा, मह, तरकारी, कुखुरा ल्याएर विद्यालयको कृषि तथा पशु व्यवसाय प्रवद्र्धन सेवा केन्द्रमा जम्मा गर्छन् । कुन विद्यार्थीले के ल्याए भनेर सेवा केन्द्रमा बसेका शिक्षकले तथ्याङ्क सङ्कलन गर्छन् । विद्यालयले बजारमा वस्तु बिक्री गरेर विद्यार्थीलाई पैसा दिन्छ ।

विद्यालयका प्रधानाध्यापक सिग्देलका अनुसार विद्यार्थी खाली हात आउन नपाउने गरी विद्यालयले नियम बनाएको छ । विद्यालयले तीन कक्षा मुनिका बालबालिकाका अभिभावकसँग कृषिमा कसरी बालबालिकालाई जोड्न सकिन्छ भनेर अन्तरक्रिया गर्छ भने चारदेखि १२ कक्षासम्म प्रत्येक कक्षामा ४० जनाका दरले विद्यार्थीलाई कृषि विषय पढाइन्छ ।

जनज्योतिले ल्याएको ‘पढ्दै, कमाउँदै’ कार्यक्रमलाई नेपाल सरकारले गत बर्ष मात्रै नीति तथा कार्यक्रममा समावेश गरी यसलाई कार्यान्वयनमा ल्याएको हो । तर, जनज्योतिले त्यसअघि नै कार्यान्वनमा ल्याइसकेको थियो । विद्यालयमा २५० जना विद्यार्थी १८ महिनेदेखि तीन वर्षे कृषि तथा भेटेनरी जेटिए अध्ययन गर्दैछन् । यस वर्ष १६० जना भर्ना हुँदैछन् ।

‘पढ्दै कमाउँदै’ कार्यक्रमलाई प्रदेश सरकारले समेत सहयोग गरेको छ । पहिलो चरणमा कर्णाली प्रदेश सरकारले विद्यालयलाई ५० लाख रूपैयाँ दिएको थियो । सोही रकमबाट विद्यालयले अध्ययनसँगै कृषि, पशुपालन र सीप विकासमा विद्यार्थीलाई केन्द्रीत ग¥यो । देशका विभिन्न ठाउँबाट कृषि अध्ययन गर्नेहरू जनज्योतिमा अवलोकनका लागि आउने गर्छन् भने पैसा नभएर पढ्न नसकेका विद्यार्थीहरूले पनि पढ्न पाइरहेका छन् ।

अहिले विद्यालयले जंगलमा खेर जाने थाकलका पातबाट विद्यार्थीलाई टोपी र झोला बनाउने तालिम समेत दिन थालिएको छ । विभिन्न व्यक्ति र सङ्घसंस्थाहरूको सहयोगमा विद्यालयले विद्यार्थीलाई यो सीप सिकाएको हो । अहिले विदेशबाट समेत नौं लाख झोला र टोपीको माग आएको छ । त्यही परिपूर्ति गर्नका लागि विद्यालयले तालिमलाई निरन्तरता दिएको छ ।

त्योसँगै विद्यालयले चुरापोते, चप्पललगायतका सीपमूलक तालिमहरू सञ्चालनमा ल्याएको विद्यालयका प्रध्यानाध्यापक सिग्देल बताउनुहुन्छ । “प्रमाणपत्र भएर मात्र केही हुनेवाला छैन, सीपको विकास नै महत्त्वपूर्ण शिक्षा हो”, उहाँले भन्नुभयो, “अहिले हाम्रा विद्यार्थी पढ्दै कमाउँदै छन्, जसबाट समुदायको पनि विकास भएको छ । उनीहरुमा पनि पैसाको महत्वको बोध हुनुको साथै भविष्यमा व्यवसायमा लाग्न प्रेरित गर्नेछ ।”

अहिले विद्यालयमा अध्ययनरत एक हजार २९७ जना विद्यार्थीहरू कुनै न कुनै माध्यमबाट कृषि तथा पशुपालनमा जोडिएका छन् । कुनाथरी गाउँका प्रत्येक कुना–कुनामा लोकल कुखुराका चल्ला वितरण गर्ने र मौरीपालनको तालिम चलाएर गाउँलाई नै मौरी ‘हब’का रूपमा विकास गर्ने विद्यालयको योजना छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्