पर्यटन बिशेष: दशैँमा प्रदेश १ का घुम्न सकिने पर्यटकीय गन्तव्य

पर्यटन बिशेष: दशैँमा प्रदेश १ का घुम्न सकिने पर्यटकीय गन्तव्य

दसैंको अवसर पारेर प्रदेश १ का पर्यटकीय गन्तव्य घुम्ने योजना बनाउँदै हुनुहुन्छ ?

प्रदेश १ मा समुद्री सतहको ६८ मिटरमा रहेको झापाको कचनकवलदेखि विश्वकै सर्वोच्च शिखर सगरमाथा ८८४८.४८ मिटर उचाइमा रहेकाले पनि यो प्रदेश घुम्न आकर्षित छ ।

नेपालमा ८ हजार मिटरभन्दा अग्ला पाँचवटा हिमाल रहेका छन् । तीमध्ये प्रदेश १ मा पाँचवटा पर्छन् । प्रदेश १ मा रहेका ८ हजार मिटरमाथिका पाँचवटा हिमालमध्ये विश्वकै अग्लो सगरमाथा, विश्वकै तेस्रो अग्लो कञ्चनजंघा, चौथो अग्लो ल्होत्से, पाँचौं मकालु र छैठौं अग्लो चोओ यु रहेका छन् । प्राकृतिक र जैविक विविधताले भरिपूर्ण रहेको यो प्रदेशमा दसैंमा घुम्न चाहनेहरूका उपयुक्त छ ।

इलाम
इलाम भन्नेबित्तिकै मानिसहरूको मनमा चिया बगानको झझल्को आउँछ । कतिपयले त इलामलाई प्रकृतिकी रानी पनि भनेर चिन्छन् । एकैछिनमा कुहिरो लाग्ने, केहीबेरमै घाम लाग्ने र जुनसुकै समयमा पनि चिसो बतास चलिरहनु इलामका विशेषता हुन् ।

इलाममा धेरैजसो मानिस सूर्योदय हेर्न जान्छन् । यहाँको श्रीअन्तु डाँडाबाट उदाउँदै गरेको सूर्यको मनोरम दृश्य हेर्न पर्यटकको भीड लाग्ने गरेको छ । यहाँ होमस्टेमा बसेर स्थानीय अर्गानिक परिकारको स्वाद लिन सकिन्छ । श्रीअन्तुको अलावा कन्याम, फिक्कल, पशुपतिनगर, इलाम बजार, सन्दकपुरलगायतका ठाउँ पनि घुम्नका लागि आकर्षक ठाउँ हुन् । त्यसो त दार्जिलिङ जान पनि यहाँको पशुपतिनगर हुँदै जाने नाका भएका कारण पनि पछिल्लो समय बाह्य पर्यटक पनि बढ्दै गएका छन् ।

पाँचथर
पाँचथरमा घुम्न जिल्ला सदरमुकाम फिदिमदेखि ऐतिहासिक महŒव बोकेको हिलिहाँङ दरबारसम्म छन् । यस्तै, पाँचथरमा काबेली, तिम्बुपोखरी, जोरपोखरी, पानावा झर्ना, छिन्तापु, तिम्बुङ पोखरी, पौवा भन्ज्याङ, स्वर्गपुरी मन्दिर, लब्रेकुटीलगायतका ठाउँ घुम्न आकर्षक ठाउँ हुन् ।

ताप्लेजुङ
ताप्लेजुङ भन्नेबित्तिकै पाथिभरा छर्लंगै हुन्छ । ताप्लेजुङ जिल्ला धार्मिक पर्यटकका लागि मुख्य गन्तव्य हो । ३ हजार ९४ मिटर उचाइमा अवस्थित पाथिभरा मन्दिरमा गरेको भाकल पूरा हुने धार्मिक विश्वास छ ।

त्यसो त, विश्वको तेस्रो अग्लो स्थानमा रहेको कञ्चनजंघा हिमाल (८,५८६ मिटर) पनि धेरैजसोको आकर्षण बन्ने गरेको छ । कतिपय पाथिभरा मन्दिरबाट कञ्चनजंघालाई आँखाको लेन्समा कैद गर्छन् ।

ताप्लेजुङमा तिम्बुङपोखरी, फुङफुङे झर्ना, मिल्के जलजले क्षेत्र, सुकेटार क्षेत्र प्रमुख पर्यटकीय गन्तव्य हुन् भने तिब्बतसँग सीमा जोडिएको ओलाङचुङगोला यही जिल्लामा पर्छ ।

संखुवासभा

संखुवासभामा यहाँको सभापोखरी र गुफापोखरीले चर्चित छ । त्यसो त मकालु बरुण राष्ट्रिय निकुञ्ज, मिल्के डाँडा पनि संखुवासभाका पर्यटकीय गन्तव्य हुन् ।

संसारकै होचो अरुण उपत्यका (४५७ मिटर), विश्वको पाँचौं र नेपालको चौथो अग्लो मकालु हिमाल (८,४८१ मिटर)लगायतका हिमशृंखलाका रूपमा प्रसिद्व छ । लालीगुराँससहित धेरै प्रजातिका गुराँस पाइने जलजले क्षेत्र पनि यो जिल्लामा पनि पर्छ ।

तेह्रथुम
तेह्रथुम गुराँसको राजधानीका रूपमा परिचित छ । तीनजुरे, मिल्के, जलजले (टिएमजे) क्षेत्रका रूपमा प्रसिद्व रहेको तेह्रथुममा २८ प्रजातिका गुराँस पाइन्छन् । नेपालकै अग्लो ह्यात्रुङ झरना (३६५ मिटर) उचाइमा रहेको छ । यस्तै, ढुंगाको बगैंचा, चिचिलिङ पोखरी, वसन्तपुर, सोल्मा चियाबगानले पनि यस जिल्लालाई पर्यटक आउने गन्तव्य बनाएको छ । यस्तै, मेन्छ्यायेम डाँडा र सिमिनाक्सी पाथिभरा तेह्रथुमका धार्मिक पर्यटकीय गन्तव्य हुन् ।

धनकुटा
धेरैजसो मानिसले धनकुटा भन्नेबित्तिकै भेडेंटार सम्झन्छन् । २०६७ सालमा अमेरिकी टेलिभिजन च्यानल (सीएनएन)ले विश्वका उत्कृष्ट घुम्न लायक १२ स्थानमा नाम्जेलाई पनि समेटेपछि यहाँ पर्यटकीय गन्तव्य बढेका छन् ।

होमस्टे र अर्गानिक खाना खान पाइने भएकाले पनि नाम्जेमा पर्यटकहरूको चहलपहल बढी हुन्छ । सुनसरीसँग सीमा जोडिएको धनकुटास्थित भेडेटार १४ सय ३० मिटर उचाइमा छ । धनकुटा एभोकाडो फलका लागि पनि चर्चित जिल्ला हो । जिल्लाको पाख्रीबास, हिले, धनकुटा बजार, डाँडाबजार, छिन्ताङ, विश्रान्ति मन्दिर, राजारानी, नमस्ने झरना आदि पर्यटकीय गन्तव्य हुन् ।

भोजपुर

भोजपुर जिल्ला खुकुरीका लागि प्रसिद्व छ । अहिले पनि कतिपय अन्य ठाउँहरूमा भोजपुरे खुकुरी भनेर खुकुरी बेच्ने गरेको पाइन्छ । भोजपुर प्राकृतिक, धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक जिल्लाका रूपमा परिचित जिल्ला हो । ट्याम्के डाँडा, मैयुङ डाँडा, साल्पा सिलिचुङ, साल्पापोखरी, षडानन्दको जन्मभूमि दिङ्ला, सिद्धकाली मन्दिर, नागछाँगा, बैकुण्ठे, हतुवागढी आदि भोजपुरका पर्यटकीय गन्तव्य हुन् ।

खोटाङ
खोटाङ भन्नेबित्तिकै धेरैजसोले धार्मिक पर्यटकीय गन्तव्य हलेसी महादेवलाई स्मरण गर्छन् । भ्वाङ बनाएर विराजमान भगवान्् शंकर र अन्य देवीदेवताको अवस्थितिले हलेसी पुग्ने पर्यटकको आकर्षणको केन्द्र बन्छ । खोटाङ र ओखलढुंगालाई छुट्याएको दूधकोसी नदीमा स्नान गरेर हलेसीको दर्शन गर्दा भाकल गरेका कुरा पुग्ने धेरैजसोको विश्वास छ ।

हलेसीका अलावा हलेसी मलाथुम्की, तुवाचुङ जायजुम, मुढे डाँडा, रूपाकोट डाँडा, मझुवागढी, ताराखसे डाँडा र सहदेउ गढी, खोटाङ बजार, दिक्तेल आदि पर्यटकीय गन्तव्य हुन् ।

उदयपुर
उदयपुर देशकै सबैभन्दा ठूलो पूर्ण सरकारी स्वामित्वको ‘उदयपुर सिमेन्ट उद्योग’का कारण प्रख्यात छ । त्यसका अलावा जाल्पादेवी, लिम्पाटार, रौतापोखरी, चित्रेथाम, चौदण्डीगढी, उदयपुरगढी, ताप्ली पोखरी, मैनामैनी, कोसीटप्पु वन्यजन्तु आरक्ष, झिल्केपोखरी, सुकेपोखरी, थानापोखरी बेलकालगायत जिल्लाका पर्यटकीय गन्तव्य हुन् ।

सुनसरी
सुनसरी कोसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्र भएकाले चर्चित छ । त्यसो त यहाँ धार्मिक पर्यटकका लागि बराहक्षेत्र, धरानको बूढासुब्बा, पिण्डेश्वर, दन्तकाली मन्दिर, शिवजट्टा, रामधुनी, विष्णुपादुका चताराधामका कारण पनि प्रख्यात छ । यस्तै, सप्तकोसी नदी पनि यही जिल्ला हुँदै बग्ने भएका कारण पनि धेरैजसोको पर्यटकीय गन्तव्य सुनसरी हुन सक्छ । कोसीटप्पु वन्यजन्तु आरक्षमा चराका लागि उचित बासस्थान हो । यस्तै, अर्ना, जंगली हात्तीलगायतका अन्य विभिन्न वन्यजन्तु नियाल्न पाइने भएकाले सुनसरीको कोसीटप्पु आकर्षक गन्तव्य हो ।
यस्तै, सुनसरीमा विभिन्न मूर्तिहरूले भरिपूर्ण इटहरीको तालतलैया पनि अर्को आकर्षक गन्तव्य हो । यस्तै, विभिन्न ताल, पोखरी, बर्जु तथा धरानको चिण्डेडाँडा पनि यहाँको घुम्नलायक अर्र्को गन्तव्य हो ।

मोरङ
प्रदेश १ को एउटै मात्र महानगर रहेको मोरङमा विराटनगर महानगरपालिका छ । औद्योगिक सहरका रूपमा परिचित रहेको विराटनगरमा विभिन्न ठाउँमा अवलोकन गर्न सकिन्छ । बिराटनगरको बिराट राजाको दरवार पनि घुम्न जान सकिन्छ ।

यस्तै, मोरङको कर्णाली भनेर चिनिँदै आएको जेफाले पनि पर्यटकका लागि आकर्षक गन्तव्य हो । जेफाले डाँडाबाट विभिन्न जिल्ला अवलोकन गर्न सकिन्छ । यस्तै, केराबारी, मिक्लाजुङ डाँडा, बेलबारीको बेतना सिमसार, सुन्दरहरैंचाका विभिन्न पार्क यहाँका लागि अर्को आकर्षणको गन्तव्य हो ।

झापा
घना बस्ती भएको झापा जिल्ला ‘धान उत्पादनको राजधानी’ हो । झापामा नेपालकै सबैभन्दा होचो भूभाग कचनकवल छ । झापाको बिर्तामोड पछिल्लो समय तीव्र सहरीकरण हुँदै गएकाले प्रदेश १ कै मुख्य व्यापारिक केन्द्रसमेत बन्दै गएको छ ।

झापामा अर्जुनधारा, कचनकवल, सतासीधाम कन्काईमाई, समयगढ, चिल्लागढ, चन्द्रगढी, कृष्ण थुम्की, जामुनखाडी सिमसार क्षेत्र आदि घुम्नलायक ठाउँ हुन् ।

ओखलढुंगा
ओखलढुंगा जिल्ला युगकवि सिद्धिचरण श्रेष्ठको जन्मथलो हो । साहित्यका लागि उर्वर भूमि ओखलढुंगा विविधताले भरिपूर्ण छ ।
मल्लकालीन समयमा राजा लक्ष्मीनरसिंह मल्लले राज्य विस्तारका क्रममा काजी भीम मल्ललाई यस भेगमा पठाएका थिए । उनको फौजले किराँतलाई लखेटी लुटेको धान यहाँको ठूलो ढुंगाको ओखलमा कुटेर खाएकाले त्यही ओखलका नामबाट यस ठाउँको नाम ओखलढुंगा रहन गएको यहाँका पुर्खाहरू सुनाउँछन् । सो ओखल रहेको ढुंगा परिसरमा सिद्धिचरण श्रेष्ठको पार्कसमेत बनाइएको छ । ओखलढुंगामा रुम्जाटारले पनि परिचित छ ।

सोलुखुम्बु
विश्वकै सर्वोच्च शिखरमा रहेको सगरमाथा सोलुखुम्बुमा अवस्थित छ । हिमाली भेगको यात्रा गर्न चाहनेहरूको पहिलो गन्तव्य नै सोलुखुम्बु हुने गरेको छ । ८८४८.४८ मिटर उचाइमा रहेको सगरमाथासहित अन्य विभिन्न हिमाल यो जिल्लामा छन् ।

यस्तै, लुक्ला विमानस्थल पनि यहाँको चर्चित ठाउँ हो । नाम्चे बजारका कारण पनि सोलुखुम्बु पर्यटकीय गन्तव्यका रूपमा परिचित छ । त्यसको अलावा दूधकुण्ड पोखरी, साल्पा पाँचपोखरी, लामाजुरा, पत्ताले डाँडा यहाँका चर्चित ठाउँ हुन् । विदेशी पर्यटकका लागि पनि घुम्ने पहिलो गन्तव्य सोलुखुम्बु हो ।

-राजधानी 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्