तामाङ र ह्योल्मो समुदायका महिलाहरूले प्रयोग गर्ने श्यामा कपडा लोप हुने अवस्थामा

तामाङ र ह्योल्मो समुदायका महिलाहरूले प्रयोग गर्ने श्यामा कपडा लोप हुने अवस्थामा

सिन्धुपाल्चोक । तामाङ र ह्योल्मो समुदायका महिलाहरूले प्रयोग गर्ने मौलिक वेशभूषा श्यामा कपडा योे समुदायमा लोकप्रिय मानिन्छ । श्यामा बुनेर नै जीवन चलाएका वृद्धा महिलाहरुको परम्परागत सीपलाई नयाँ पुस्ताले बेवास्ता गरेपछि भने यो पेशा नै लोप हुने अवस्थामा पुगेको छ । हातले बुनिएको श्यामा कपडा हिजोआज मुस्किलले मात्र पाइन्छ ।

सिन्धुपाल्चोकको विकट बस्ती पाँचपोखरी थाङ्पाल गाउँपालिका–४ मानेखर्कका स्थानीयवासीले कुनै समयमा प्रत्येक घरधुरीमा श्यामा कपडा उत्पादनका लागि तान बुन्ने गर्थे । तर अहिले दुई चार घरमा मात्र पाका पुस्ताका महिलाहरूले श्यामा बुनेर आफ्नो दैनिकी कटाउने गरेका छन् । बजारमा हातले बुनेको श्यामा कपडाको माग धेरै भए पनि परम्परागत सीपलाई नयाँ पुस्ताले बेवास्ता गर्दा मागबमोजिमको उत्पादन हुन नसकेको स्थानीयवासी ग्याल्मु लामा बताउनुहुन्छ ।

मेसिनबाट बनाइएको श्यामा कपडा गाउँघरमा भित्रिनाले पनि हाते बुनाइ ओझेलमा परेको हो । तर तान लगाएर हातले बुनेको श्यामा जस्तो गुणस्तरीय नभएपछि कतिपय ग्राहक हातले बुनेको श्यामा खोज्दै घरसम्मै आउँछन् । एक पटकको तानबाट १२ वटासम्म श्यामा बुन्न सकिन्छ । तान बुन्नका लागि आवश्यक पर्ने हाते सामग्रीहरु सबै गाउँघरमै पाइने काठ, बाँस, मुढाबाट तयार गरिन्छ । यो कपडाबाट श्यामा मात्र नभई झोला, थैली जस्ता विभिन्न सामग्री बनाउन सकिने अर्का स्थानीयवासी बाबुराम लामाको भनाइ छ ।

यहाँ उत्पादन भएको श्यामा कपडा गाउँपालिकाभित्रका गुन्सा, भोताङ, बरुवा, बासखर्क, जुगल गाउँपालिकाको तेम्बाथाङ, गुम्बाथाङलगायत भारत, बेलायत, अमेरिकामा रहेका तामाङ समुदायमा अत्यधिक माग हुने गरेको छ । सुरुआतमा एउटा श्यामाको मूल्य रु एक सय ८० थियो । अहिले रु एक हजार आठ सयदेखि दुई हजार दुई सयसम्म पर्छ । वृद्ध भएसँगै तान बुन्नेको सङ्ख्या कम हुँदै गएपछि पछिल्लो पुस्ताले श्यामा भनेको नै के हो भनेर बिर्सिन्छ की भन्ने चिन्ता व्यक्त गर्नुहुन्छ स्थानीय नोर्चिन लामा ।

परम्परागत पेशालाई संरक्षणका लागि स्थानीय तहले युवा पुस्तालाई आकर्षित गर्न तालिमको व्यवस्था र नयाँ पुस्ताले यसको महत्त्व बुझेर निरन्तरता दिए आम्दानीको राम्रो स्रोत हुने र श्यामा व्यवसाय पनि लोप नहुने स्थानीयवासी बताउँछन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्