उपराष्ट्रपतिद्वारा नवदुर्गाको पूजा तथा प्रसाद ग्रहण

<span class='c1'>उपराष्ट्रपतिद्वारा नवदुर्गाको पूजा</span> <span class='c2'>तथा प्रसाद ग्रहण</span>

भक्तपुर । बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसरमा आज उपराष्ट्रपति नन्दबहादुर पुन भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा सरिक भई नवदुर्गा भवानीको पूजाअर्चना गरेर टीका प्रसाद ग्रहण गर्नुभएको छ ।

राष्ट्रप्रमुखका रूपमा राष्ट्रपतिले प्रसाद ग्रहण गर्दै आए पनि राष्ट्रपति विद्यादेवी भण्डारी बिरामी भएर अस्पताल भर्ना भएपछि उहाँको अनुपस्थितिमा उपराष्ट्रपति पुन आज नवदुर्गा भवानीको मन्दिरमा सरिक हुनुभएको हो ।

उपराष्ट्रपतिलाई नवदुर्गा मन्दिरका पुजारीले नवदुर्गा भवानीको मन्दिरमा स्वागत गर्दै सङ्कल्प पूजा गरी नवदुर्गाको पूजा एवं टीका, प्रसाद प्रदान गर्नुभयो । त्यस क्रममा उपराष्ट्रपतिले नवदुर्गा देवगणका मूर्तिहरू अवलोकन गरी दर्शन गर्नुभएको थियो । उपराष्ट्रपति पुनलाई नवदुर्गा देवगणका मूल पुजारी इन्द्रबहादुर वनमालाले नवदुर्गा देवगणको प्रसादका रूपमा फूलमाला, बिमिरो र पञ्चरङ्गी धागो प्रदान गर्नुभएको थियो ।

त्यस क्रममा नवदुर्गा जात्रा व्यवस्थापन समितिका निवर्तमान सचिव एवं नवदुर्गा पूजा व्यवस्थापक रत्नमान वनमालाले उपराष्ट्रपति पुनलाई देवगणको समस्या र नवदुर्गाको मुकुट एवं मुखुण्डो निर्माणमा आएको समस्याका बारेमा अवगत गराउनुभएको थियो ।

राष्ट्रपति नवदुर्गा मन्दिर आउँदा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख ईश्वर थापा, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, एमालेका जिल्ला अध्यक्ष बचन देउजा, मध्यपुरथिमि नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठ, नेकपा (माओवादी केन्द्र)का नेता देवेन्द्र श्रेष्ठ, दीलिप प्रजापतिलगायत सुरक्षा निकायका प्रमुख र विभिन्न सरकारी कार्यालयका प्रमुखहरूले स्वागत गर्नुभएको थियो । उपराष्ट्रपति पुनलाई तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले तलेजु भवानीको फूल तथा प्रसाद प्रदान गर्नुभयो ।

उपराष्ट्रपति पुनले नवदुर्गाका पुजारी, नाइके र देवगणहरूलाई जनही रु ५०५ का दरले दक्षिणा दिनुभएको थियो । उहाँलाई जिल्ला समन्वय समितिका प्रमुख ईश्वर थापाले ढलौटको गणेशको आकर्षक मूर्ति र प्रजिअ शर्माले पानस उपहार प्रदान गर्नुभएको थियो । अपराह्न ४ बजे मन्दिर आइपुग्नुभएको उपराष्ट्रपति १५ मिनेटको पूजा एवं प्रसाद ग्रहणपश्चात मन्दिरबाट बाहिरिनुभएको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्