भोजपुर । आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि प्रदेश नं १ का मुख्यमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का नेता राजेन्द्रकुमार राईले उम्मेदवारी मनोनयन दर्ता गर्नुभएको छ । मुख्यमन्त्री राईले भोजपुर प्रदेशसभा (क)बाट उम्मेदवारी दर्ता गराउनुभएको हो ।
मुख्यमन्त्री राईले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आज ३ः४० बजे मनोनयन दर्ता गराउनुभयो । मुख्यमन्त्री राईले हरि भित्रीकोटी प्रस्तावक र ईश्वरकुमार कार्कीको समर्थनमा मनोनयन दर्ता गर्नुभएको हो । मनोनयन दर्तापछि बोल्दै मुख्यमन्त्री राईले आफूसँगै गठबन्धनका उम्मेदवारको जित सुनिश्चित रहेको बताउनुभयो । देशको अवश्यकतालाई ध्यानमा राख्दै संविधान र गणतन्त्र रक्षाका लागि गठबन्धन बनाएर चुनाव लड्नुपरेको उहाँको भनाइ थियो ।
“गठबन्धनका उम्मेदवारको जित सुनिश्चित छ”, मुख्यमन्त्री राईले भन्नुभयो, “हाम्रो मुख्य एजेण्डा भनेको संविधान र गणतन्त्रको रक्षा गर्दै देशलाई विकासको गतिमा लैजानु हो ।”
त्यस्तै गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र)को तर्फबाट प्रतिनिधिसभाका पूर्वसदस्य सुदन किराँती र भोजपुर प्रदेश (ख) मा नेपाली कांगे्रसका तर्फबाट विनोद बान्तावाले मनोनयन दर्ता गराउनुभएको छ ।
नेकपा (एमाले) का तर्फबाट प्रतिनिधिसभा सदस्यमा पूर्वमुख्यमन्त्री तथा एमाले स्थायी कमिटी सदस्य शेरधन राईले मनोनयन दर्ता गराउनुभएको छ । राईले प्रस्तावक जीत किराँत र दुर्गा रणपंहलीको समर्थनमा १२ः४५ बजे मनोनयन दर्ता गराउनुभएको हो । मनोनयन दर्तापछि बोल्दै पूर्वमुख्यमन्त्री राईले मङ्सिर ४ मा हुन गइरहेको निर्वाचनबाट नेपाली जनताले आफ्नो भविष्यको फैसला गर्ने बताउनुभयो ।
एमालेबाट भोजपुर प्रदेश (क) मा हरिबहादुर राई र प्रदेशसभा (ख)मा खड्गबहादुर कार्कीले मनोनयन दर्ता गराउनुभएको छ । प्रतिनिधिसभा सदस्यमा, एमाले, जनता समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी, हाम्रो नेपाली पार्टी, नेपालीका लागि नेपाली पार्टी र तीन स्वतन्त्रसहित १२ जनाले मनोनयन दर्ता गराएका छन् । रासस