खोटाङ : एउटा मात्र निर्वाचन क्षेत्र , २८ जनाको उम्मेदवारी

<span class='c1'>खोटाङ : एउटा मात्र निर्वाचन</span> <span class='c2'>क्षेत्र , २८ जनाको उम्मेदवारी</span>

आगामी मङ्सिर ४ गते देशभर एकैसाथ हुने निर्वाचनमा प्रदेशसभा र प्रतिनिधिसभा सदस्यका लागि खोटाङमा २८ जनाको उम्मेदवारी दर्ता भएको छ । एउटा मात्र निर्वाचन क्षेत्र रहेको खोटाङमा प्रतिनिधिसभा सदस्यका लागि नौ तथा प्रदेशसभा (क)मा नौ र प्रदेशसभा (ख)मा छ जनाको उम्मेदवारी दर्ता भएको हो ।

सत्ता गठबन्धनमा आबद्ध तीन राजनीतिक दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)बीच खोटाङमा चुनावी तालमेल भएको छ । प्रतिनिधिसभातर्फ माओवादी केन्द्रका रामकुमार राई तथा प्रदेशसभा (क)मा एकीकृत समाजवादीका वीरबलकाजी राई र प्रदेशसभा (ख)मा कांग्रेसका भूपेन्द्रकुमार राईले चुनावी गठबन्धनबाट संयुक्त रूपमा उम्मेदवारी दर्ता गराएका छन् ।

नेकपा (एमाले)ले प्रतिनिधिसभा सदस्यका लागि विशाल भट्टराई तथा प्रदेशसभा (क)मा प्रदेश सदस्य पाँचकर्ण राई र प्रदेशसभा (ख)मा रामप्रसाद दङ्गालले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ता गराउन एमालेका उम्मेदवार कार्यकर्ता तथा सांस्कृतिक झाँकीसहितको र्‍याली लिएर मुख्य निर्वाचनको अधिकृतको कार्यालय पुगेका थिए ।

जनता समाजवादी पार्टी नेपाल (जसपा)बाट प्रतिनिधिसभाका लागि डा कृष्णकुमार राई तथा प्रदेशसभा (क)का लागि केन्द्रीय राकेश राई र प्रदेशसभा (ख)का लागि प्रदेश समिति सदस्य प्रेमकुमार राईले उम्मेदवारी दर्ता गराएका छन् । केन्द्रमा एमालेसँग तालमेल गरेको जसपाले जिल्लामा एक्लै उम्मेदवारी दिएको हो ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधिसभा सदस्यका लागि मात्र उम्मेदवारी दिएको छ । राप्रपाले सर्जु श्रेष्ठलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको हो । प्रदेशसभा (क) र प्रदेशसभा (ख) का लागि उम्मेदवारको नामावली पठाइए पनि अन्तिममा प्रतिनिधिसभामा मात्र मनोनयन दर्ता गराइएको राप्रपाले जनाएको छ ।

नेपाल मजदुर किसान पार्टीबाट प्रतिनिधिसभा सदस्यका लागि भोजराज बस्नेत तथा प्रदेशसभा (क)मा केशव राई र प्रदेशसभा (ख)मा ध्यानप्रसाद ढकालले उम्मेदवारी दर्ता गराएका छन् । मङ्गोल नेशनल अर्गनाइजेशन पार्टीबाट प्रतिनिधिसभा सदस्यका लागि दीपक मगर तथा प्रदेशसभा (क)मा प्रयाग राई र प्रदेशसभा (ख)मा विमला राईले उम्मेदवारी दिएका छन् ।

आमूल परिवर्तन मसिहा पार्टी नेपालबाट प्रतिनिधिसभा सदस्यका लागि चन्द्रमणि राईले उम्मेदवारी दर्ता गराएका छन् भने खम्बुवान राष्ट्रिय मोर्चाबाट सुवास राईले प्रदेशसभा (ख)मा उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत सुवासबाबु पुरीले जानकारी दिए । यस्तै प्रतिनिधिसभा सदस्यका लागि जयन्द्रकुमार राई र सर्वधन राई तथा प्रदेशसभा (ख)का लागि कुमारप्रसाद भट्टराईले स्वतन्त्रमा उम्मेदवारी दर्ता गराएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्