काठमाडौं । सत्यमोहन जोशीको निधनमा सरकारले एक दिन सार्वजनिक विदा दिने भएको छ ।
शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा शोक व्यक्त गर्दै सरकारले सार्वजनिक विदा दिने भएको हो ।
पर्यटन तथा संस्कृतमन्त्री जीवनराम श्रेष्ठले संस्कृतिविद् जोशीको निधनमा शोक व्यक्त गर्दै एकदिन सार्वजनिक विदा दिने निर्णय भएको बताएका हुन् ।
‘पर्यटन मन्त्रालयको प्रस्तावमा स्वयं सरकारको तर्फबाट प्रधानमन्त्रीज्युले एकदिन राष्ट्रिय विदा दिने भन्ने निर्णय पनि भएको छ’, श्रद्धाञ्जली दिन ललितपुर महानगरमा पुगेका मन्त्री श्रेष्ठले भने, ‘कुन दिन विदा दिने भन्ने आधिकारिक सूचना सरकारबाट प्रकाशित हुनेछ ।’
जोशी विगत लामो समयदेखि प्रोटेस्ट तथा मुटुको समस्याबाट पीडित थिए भने उनलाई पछिल्लाे समय डेंगुको पनि संक्रमण रहेको थियो । डेङ्गु संक्रमणपछि उनलाई असोज २३ गते छातीमा निमोनियाको संक्रमण साथै मुटुको चाल सम्बन्धी समस्या देखिएको थियो ।
यस्तै अक्सिजन कमी भएर उनलाई सघन उपचार कक्षमा सिफ्ट गरि उपचार सेवा दिइँदै आएको थियो । अस्पताल बसाइको शुरुका दिनमा केही सुधार भएजस्तो देखिए पनि पछि उनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको थियो ।
उनलाई पहिलेदेखि पुरानो रोगले ग्रसित पारेको कारणले जतिसुकै औषधि चलाएता पनि शरीरले राम्रो रेस्पोन्स नगरेको अस्पतालले जनाएको छ ।
शताब्दी पुरुष जोशीको आइतबार बिहान १०३ वर्षको उमेरमा निधन भएको हो ।