विराटनगर । भौगोलिक विविधताले भरिपूर्ण संखुवासभा जिल्लामा जातजाति पनि उत्तिकै मिश्रित छन् ।
व्यावसायिक हिसाबले यहाँ स्थानीय स्तरमा उत्पादन हुने सक्खर, सभा खोलामा पाइने असला माछाको सुकुटी प्रख्यात छ। माछाको सुकुटी त देश, विदेश समेत निर्यात हुन्छ। योसँगै गुरुङसेनी दिदीले हातले बुनेको राडी (भेडाको ऊनबाट निर्माण भएको सामान) संखुवासभाको पहिचानको रूपमा लिइन्छ ।
संखुवासभामा पाइने सबै बस्तु स्थानीय बजारमै विक्री हुने गर्दछ। शनिबार लाग्ने हाट बजार नै स्थानीय व्यापारीको आर्थिक स्रोतको माध्यम हो। त्यही शनिवारे हाटमा भेटिएकी गीता गुरुङ आफ्नै हातले बुनेको राडीको व्यापारमा व्यस्त देखिन्थिन्। ३ हजार भनेको सामानलाई १५ सयमा माग्दै गरेका ग्राहकलाई आफ्नो मेहेनत र आफूले खर्चिएको समय बुझाउँदै गर्दा उनका ग्राहकले हातमा राखेको समान जहाँको त्यही छोडेर बाटो मोडे।
अर्काको मेहेनत के बुझ्छ र ? रापिलो घाममा मन्द मुस्कान सहित राडीलाई पट्याएर भुईंमा राखिन्। उनी आउने र जाने ग्राहकलाई मोलमोलाइ गर्दै गर्दा यो व्यवसायमा कतिको फाइदा छ ? भन्ने हाम्रो प्रश्नले ध्यान हामीतर्फ मोडियो।
उनले हाँस्दै भनिन्, ‘छैन, के हुनु र हामीले त गुरुङसेनी हुनुको पहिचान जोगाएका मात्रै हौँ।’ स्थानीयस्तरमा उत्पादन तथा निर्माण भएको सामग्रीहरूले उचित मूल्य र बजार नपाउँदा पेशा र सीप पछिल्लो समय लोप हुने अवस्था रहेको उनले बताइन्। धार्मिक पूजापाठ तथा घरमा आउने पाहुनाको सम्मान, सत्कारका लागि प्रयोगमा आउने राडी बुनिसक्दा लाग्ने समय र आफूले खरिद गरेको उनको दाम समेत स्थानीय बजारले लगाउन नसक्दा फाइदा भन्दा पनि घाटाको व्यापार हुने गरेको उनको गुनासो छ।
‘राडी बुनेर हामीलाई केही फाइदा छैन, आफूले खरिद गरेको ऊन त्यसमा पनि बुन्दा लाग्ने समय सबै जोड्ने हो भने यसमा केही फाइदा छैन’, उनी भन्छिन्,‘हाम्रो सीप खेर नजाओस् भनेर गुरुङकी छोरीले जात र सीपको जगेर्ना गरेको मात्रै हो।’
तीनचार दिनको यात्रा तय गरेर भेडाको ऊन पाइने ठाउँसम्म पुग्छन् उनीहरू। धार्नीको ८ सयदेखि हजारसम्म तिरेर ऊन खरिद गर्ने गरेको गीताले सुनाइन्। पुख्र्यौली पेशा र सीप भएकाले पनि आफूहरूले राडी बुन्ने कामबाट विश्राम लिन नचाहेको उनको भनाइ थियो।
पछिल्लो समय पुस्ता रूपान्तरण सँगै सीप हस्तान्तरण हुन नसक्दा यस्ता खालका पेशा र सीप लोप हुने सम्भावना रहेकाले स्थानीयस्तरमा उत्पादन हुने सामग्रीको उचित मूल्य र बजारीकरणका लागि स्थानीय सरकारले पनि ध्यान दिनुपर्नेमा उनीहरूको जोड छ ।