छठ पर्व मनाइरहेकी चन्द भन्नुहुन्छ, ‘सबै भगवान् एउटै हुन्’

छठ पर्व मनाइरहेकी चन्द भन्नुहुन्छ, ‘सबै भगवान् एउटै हुन्’

काठमाडौँ । कञ्चनपुर महेन्द्रनगरकी विमला चन्द छठ पर्व मनाउन थापाथलीस्थित बागमती नदी किनारमा निर्माण गरिएको छठपूजा स्थलमा भेटिनुभयो । आफ्ना बच्चासहित साँझ छठपूजा स्थलमा भेटिएकी चन्द हरेक वर्ष झैँ यो वर्ष पनि छठ पूजा गर्न र आपसमा खुसी साट्न आएको बताउनुभयो ।

रासससँग कुराकानी गर्दै चन्दले भन्नुभयो, “चाडपर्व र धर्म संस्कृति कुनै वर्ग र समुदायको मात्रै हैन भन्ने लाग्छ, सबै पर्व र धर्मको सम्मान गर्नुपर्छ । सबै भगवान् एउटै हुन् खाली नाम मात्रै फरक हुन्छ ।”

काठमाडौँको बबरमहलमा ११ वर्षदेखि बस्दै आएकी चन्द हरेक वर्ष छठ पर्व मनाउन थापाथली पुग्ने गर्नुभएको छ । चन्दजस्तै काठमाडौँ शान्तिनगरकी विमला सुवेदी पनि विगत चार वर्षदेखि छठ पर्व मनाउँदै आउनुभएको छ ।

“छठ पर्व मात्रै हैन जुनसुकै पर्व पनि सबै मिलेर गर्नुपर्छ, यो तराईको या पहाडको भन्ने हुँदैन । सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम गर्न यस्ता पर्वले भूमिका खेल्छन्”, छठपूजा गर्दै गरेकी सुवेदीले रासससँग भन्नुभयो । सुवेदीले छठ पर्व मनाउन पाउँदा असाध्यै रमाइलो लाग्ने गरेको अनुभव सुनाउनुभयो ।

सुवेदीसँगै आउनुभएकी मन कार्कीले पनि छठी माताको पूजा आराधना गर्न पाउँदा खुसी लाग्ने गरेको अनुभव सुनाउनुभयो । चन्द, सुवेदी र कार्की जस्तै अन्य विभिन्न समुदायका मानिसहरू उल्लासका साथ जम्मा भएर छठको पूजा अर्चना गरेर पर्व मनाउने गरेका छन् ।

पहिला–पहिला तराई र मधेशको मात्र पर्वको रूपमा चिनिने छठ पर्व पछिल्ला वर्षमा आम नेपालीको साझा पर्वका रूपमा मनाउन थालिएको छ । विभिन्न समुदायका मानिस जम्मा भएर छठी माताको पूजा आराधना गरी छठ पर्वलाई धुमधामका साथ मनाउन थालिएको छ ।

छठ पूजा समिति कुपण्डोल (ललितपुर) का अध्यक्ष राजीव सिन्हाले सामाजिक सद्भाव अभिवृद्धि र राष्ट्रिय एकता कायम गर्न छठ पर्वले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । उहाँले राष्ट्रको समृद्धि, समुन्नतिका लागि पनि छठ पर्व मनाइने गरिएको उल्लेख गर्नुभयो ।

अध्यक्ष सिन्हाले भन्नुभयो, “हामी बच्चा हुँदा छठ पर्व मधेशको पर्व मात्रै हो भन्ने थियो । समयक्रमसँगै यो मधेशमा मात्रै सीमित नरहेर मधेश, पहाड र हिमालका मानिस समुदाय मिलेर पर्व मनाउने गरेका थियौँ । अहिले विस्तारै यो राष्ट्रिय पर्व भएको छ । त्यति मात्रै हैन गौरवको पर्व पनि भएको छ ।”

अध्यक्ष सिन्हाका अनुसार छठ पूजाका लागि अस्ताउँदो सूर्य विशेष मानिन्छ । बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएर छठ पर्व समापन हुन्छ । बर्तालुले आज अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर रातभर जाग्राम बस्ने र भोलि बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएर समापन हुने उहाँले जानकारी दिनुभयो । समग्रमा छठ पर्वले सुख, शान्ति र समृद्धि ल्याउनुका साथै राष्ट्रिय एकतालाई प्रवद्र्धन गर्नसमेत टेवा पुग्ने अध्यक्ष सिन्हाको भनाइ छ ।

ललितपुरको कुपण्डोल बस्ने काभ्रेकी ६७ वर्षीया बिना शाहीलाई पनि छठ पर्व मनाउँदा खुशी लाग्छ । उहाँ हरेक वर्ष छठ पर्व मनाउन थापाथली पुग्ने गर्नुभएको छ ।

काठमाडौँको नयाँ बानेश्वर बस्ने जनकपुरका रामजी गुप्ता काठमाडौँमा छठ मनाउन शुरु भएदेखिनै हरेक वर्ष छठको पूजा अर्चना गर्न उपत्यकाका विभिन्न नदी तलैयामा निर्माण गरिएका छठपूजा स्थलमा पुग्ने गर्नुभएको छ । थापाथलीस्थित बागमती किनारमा प्रायः हरेक वर्ष पुग्ने उहाँले देश, जनता र परिवारको सुख, शान्ति र समृद्धिको कामना गर्दै विधिपूर्वक छठ पर्व मनाइने गरेको बताउनुभयो ।

जनकपुरका प्रदीप महतो परिवारका साथ छठ पर्व मनाउन थापाथली पुग्नुभएको छ । छठी माताको पूजा आराधना गरेर पारिवारिक सुख, शान्ति र समृद्धिका लागि खुसी साटासाट गरेर छठ मनाउने उहाँले बताउनुभयो ।

भारतको मोतिहारीकी ६५ वर्षीया सुमिला तिवारी विगत तीन वर्षदेखि थापाथलीमा छठ पर्व मनाउन जाने गर्नुभएको छ । कुपण्डोलमा व्यापार गर्ने तिवारी बुहारी रजनी तिवारीका साथ छठ पूजा गर्न आउनुभएको छ । उहाँले छठ पर्व मनाउन पाउँदा खुसी लागेको बताउनुभयो ।

जनकपुरकी २१ वर्षीया आकृति गुप्ता बच्चा हुदाँदेखिनै थापाथलीमा छठ पर्व मनाउन पुग्ने गर्नुभएको रहेछ । काठमाडौँको भोटेबाहल बस्ने गुप्ताले साथीभाइका साथ छठ पूर्जा गर्न थापाथली आएको बताउनुभयो ।

दस जोड दुईमा अध्ययनरत उहाँले भन्नुभयो, “यो घरको सबैभन्दा ठूली आमाले सन्तानको भलो र उन्नतिको कामना गर्दै पूजा आराधना गरेर मनाइने पर्व हो । अन्य देशमा ‘सनसेट’लाई बेग्लै अर्थले परिभाषित गर्छन् तर नेपालमा छठ मात्रै यस्तो पर्व हो, जसले ‘सनसेट’ र ‘सनराइज’को पूजा गरिन्छ, दुवैलाई महत्त्व दिनुपर्छ भन्ने सन्देश दिएको छ ।”

प्रधानमन्त्री शेरबहादुर देउवाले आज साँझ थापाथलीस्थित बाग्मती किनारमा निर्माण गरिएको छठपूजा स्थलमा पुगी छठी माताको पूजा अर्चना गर्नुका साथै छठी माताको प्रतिमामा माल्यार्पण गर्नुभएको थियो । छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्य र भोलि उदाउँदो सूर्यलाई अघ्र्य दिई पूजा अर्चना गरिन्छ ।

राजधानीको गुह्ेश्वरी, कमलपोखरी, थापाथलीलगायत नदी किनार र तलाउमा बर्तालुले छठको पूजा गरेका छन् । ती क्षेत्रमा छठपूजाका लागि भक्तजनको भिड लागेको छ ।

कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म सूर्य एवं छठी माताको पूजा आराधनासहित अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्यदान गरेमा मनले चिताएको पूरा हुने सूर्यपुराणलगायत ग्रन्थमा उल्लेख गरिएको छ । महाभारतकालमा द्रौपदीसहित पञ्चपाण्डवले सूर्यको पूजा आराधना गरी एकवर्षे अज्ञातवास सफल भएको उल्लेख छ । रासस

फोटो :फाईल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्