पोखरा महानगरले थाल्यो भूमिगत पार्किङ खाली गर्ने अभियान

पोखरा महानगरले थाल्यो भूमिगत पार्किङ खाली गर्ने अभियान

लेखनाथ । पोखरा महानगरपालिकाले नगर क्षेत्रभित्र प्रयोजन विपरीत सञ्चालन हुदै आएका भूमिगत पार्किङ खाली गर्ने अभियान सुरु गरेको छ ।

भूमिगत पार्किङमा व्यापारिक सामग्री राखेका घरधनीलाई पटकपटक त्यस्ता सामग्री हटाएर पार्किङका रूपमा प्रयोग गर्न आग्रह गरेको भए पनि अटेर गरेपछि महानगरले आजदेखि डोजर लगाउन सुरु गरेको हो । सूचना नै दिएर भूमिगत पार्किङ खाली गर्न आग्रह गरिएको तर उनीहरूले दुई महिना बितिसक्दा पनि उक्त सूचनालाई लत्याएपछि डोजर लगाउन सुरु गरिएको जानकारी महानगर प्रमुख धनराज आचार्यले दिनुभयो ।

भूमिगत पार्किङका लागि भनेर यसअघि महानगरपालिकाबाट कर छुट लिएर निर्माण गरिएका ती भवन वषौँदेखि पार्किङका रूपमा नभई व्यापारिक प्रयोजनको रूपमा प्रयोग हुँदा महानगरले पटकपटक त्यस्ता सामग्री हटाउन आग्रह गर्दै आएको थियो । केही घरधनीले यसअघि नै व्यापारिक सामग्री खाली गरेका छन् भने अटेर गर्नेको घरमा डोजर लगाइएको प्रमुख आचार्यले जानकारी दिनुभयो । भूमिगत पार्किङ धेरै मात्रामा चिप्लेढुङ्गा, महेन्द्रपुल, न्यूरोड, सृजनाचोक, पृथ्वीचोक र लेकसाइडमा रहेका छन् ।

अटेर गरेको भन्दै महानगरले पोखराको चिप्लेढुङ्गास्थित आरके बिल्डिङ र महेन्द्रपुलस्थित गरिमा विकास बैंक भएको भवनमा डोजर लगाएको छ । महानगर क्षेत्रमा दुई सय बढी घर भूमिगत पार्किङ भएका भवन रहेको जानकारी प्रमुख आचार्यले दिनुभयो । ती पार्किङलाई पार्किङका रूपमा प्रयोग गर्न सके पोखराको सडकमा अव्यवस्थित पार्किङ र ट्राफिक जामलाई केही हदसम्म कम गर्न सकिने भनाइ प्रमुख आचार्यको छ ।

विन्ध्यवासिनी मन्दिर परिसर सरसफाइ

पोखराको प्रसिद्ध धार्मिक पर्यटकीयस्थलका रूपमा परिचित विन्ध्यवासिनी मन्दिर परिसरमा सरसफाइ गरिएको छ । दुर्लुङ समाज पोखराले धार्मिक विन्ध्यवासिनी मन्दिर परिसरमा आज सरसफाइ गरेको हो । पर्वत जिल्लाको साविक दुर्लुङ घर भई पोखरामा बसोबास गर्दै आएका व्यक्तिद्वारा गठित दुर्लुङ समाज पोखराले आफ्नो प्रथम स्थापना दिवसको अवसर पारेर मन्दिर परिसरमा सरसफाइ गरेको हो ।

विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठले भक्तजनहरूको सहयोग र सद्भावबाट मन्दिरको विकासमा सहयोग पुगेको बताउनुभयो । मन्दिरमा संस्कृत पाठशाला सञ्चालनमा रहेको र छिट्टै आयुर्वेदिक अस्पताल समेत सञ्चालनमा ल्याइने भनाइ श्रेष्ठको छ । दुर्लुङ समाज पोखराका अध्यक्ष बाबुराम शर्माले समाजको प्रथम स्थापना दिवसको अवसरमा माता विन्ध्यवासिनी मन्दिर परिसरमा सरसफाइ गर्न पाउनु खुसीको विषय भएको बताउनुभयो । समाजका सचिव ईश्वरी पौडेलले समाजले सामाजिक क्षेत्रमा आफ्ना गतिविधि सञ्चालन गर्दै आएको बताउनुभयो ।

सरसफाइ कार्यक्रममा समाजका सल्लाहकारहरू उदीमबहादुर गुरुङ, समाजका उपाध्यक्ष कुलबहादुर गुरुङ, द्वितीय उपाध्यक्ष टेकबहादुर विक, सहसचिव शिव पौडेल, रामबहादुर थापा, रवीन पोखरेल, राधा पौडेललगायतले सहभागिता जनाएका थिए । रासस

फोटो: फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्