जातीय विभेदको अन्त्य आरक्षणबाट होइन ज्ञान र सीपले हुन्छ : अध्यक्ष ओली

जातीय विभेदको अन्त्य आरक्षणबाट होइन ज्ञान र सीपले हुन्छ :  अध्यक्ष ओली

झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जातीय विभेदको अन्त्य आरक्षणबाट नभई ज्ञान र सीपबाट मात्र हुने बताउनुभएको छ । एमाले निकट नेपाल उत्पीडित जातीय मुक्ति समाजले आज दमकमा आयोजना गरेको प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रममा उहाँले आरक्षणले कुनै जाति समुदायको उत्थान गर्न नसक्ने बताउनुभयो । उहाँले आरक्षणले ज्ञान, सीप र क्षमतालाई निष्क्रिय बनाउँदै समुदायका पनि एउटा निश्चित व्यक्तिले मात्र अवसर पाउने बताउनुभयो ।

उहाँले भन्नुभयो, “आरक्षणले बौद्धिकता र ज्ञानमाथि अन्याय हुन्छ”, उहाँले भन्नुभयो । लामो समयदेखि उत्पीडनमा परेका जाति समुदायलाई केही समयका लागि मात्र आरक्षणको व्यवस्था गरिएकाले अब लामो समय जान नहुनेमा उहाँले जोड दिनुभयो ।

नेपालमा संविधान र कानूनमा विभेद हटेको वर्षौँ भए पनि मानिसको चेतना र व्यवहारमा हट्न अझै बाँकी रहेको उहाँको भनाइ छ । उहाँले देशमा भएको जातीय विभेदविरुद्ध सङ्गठितरूपमा एमालेले आवाज उठाउँदै आएकाले अब राज्यतहबाटै विभेद उन्मूलनको योजना अघि बढाइने बताउनुभयो ।

आजै उहाँले आज झापा क्षेत्र नं ४ सुरुङ्गा बजारमा आयोजित चुनावी सभामा मुलुकलाई राष्ट्रियता र लोकतन्त्रको निम्ति लड्न सक्ने शक्तिको खाँचो भएको बताउनुभएको छ । मुलुकमा सुसाशन कायम गर्ने, विकासलाई अगाडि बढाउने र राष्ट्रियताका लागि लड्ने सक्ने शक्ति अबको आवश्यकता भएको उहाँले बताउनुभयो ।

अध्यक्ष ओलीले यी सब गर्ने र राष्ट्रिय निर्माणको सङ्कल्प बोकेको शक्ति मुलुकमा एमालेबाहेक अरु कुनै पनि हुन नसक्ने जिकिर गर्नुभयो । उहाँले विगतको ४१ महिना आफू प्रधानमन्त्री हुँदा गरेका कामको फेहरिस्त हालै पार्टीले सार्वजनिक गरिएको घोषणापत्रमा समेत उल्लेख गरेको बताउनुभयो । “एमालेले गरेका सयवटा कामका बारेमा बसेकै ठाउँबाट भन्नसक्छु”, उहाँले भन्नुभयो ।

कृषिमा प्रविधिसँगै आधुनिकरण आवश्यक

आजै झापाको शिवसताक्षी नगरपालिकाको शिवगञ्जमा आयोजित सभामा उहाँले सबैखाले विकासले मात्रै मुलुकको अवस्था बदलिने बताउनुभएको छ । उहाँले पूर्वाधार विकाससँगै आर्थिक, कृषिसँगै अन्य क्षेत्रको उन्नति भएमात्रै मुलुक समुन्नत हुने बताउनुभयो ।

अध्यक्ष ओलीले मुलुकलाई विकासशील राष्ट्रमा पु¥याउन अहिले कृषिको आधुनिकीकरण र प्रविधिको प्रयोग अनिवार्य रहेको बताउनुभयो । “प्रविधि प्रयोग किसानलाई सिकाउँदै कृषिको आधुनिकीकरण गर्दै लैजानुपर्छ”, उहाँले भन्नुभयो, “कृषिलाई व्यावसायीकरण गरिए मुलुकको अर्थतन्त्र अघि बढछ ।”

उहाँले नदी नियन्त्रणसँगै कन्काई बहुउद्देश्यीय परियोजना सुरु गरिने बताउनुभयो । उहाँले बिरिङ र कन्काई नदीको तटबन्धको काम अघि बढाउने उल्लेख गर्नुभयो । देशका लागि सुदृढ राष्ट्रिय एकता आवश्यक रहेको बताउँदै उहाँले भन्नुभयो, “मुलुकको शान्ति र एकता अहिलेको आवश्यकता हो ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्