घरको चौघेराबाट निस्किएर सहकारीको नेतृत्वमा विराटनगरकी सञ्जु

घरको चौघेराबाट निस्किएर सहकारीको नेतृत्वमा विराटनगरकी सञ्जु

सुजता लिम्बू
विराटनगर । अक्सर नारीहरुको विवाहपछि जीवनको आधा समय घर भित्रको कार्य व्यस्ततामा बित्छ । जो देखिने गरि परिणाममा हुँदैन ।
त्यसमा पनि नेपाली समाजमा घरभित्रको कामलाई महत्व नदिने अर्थात भनौँ कामै नठान्ने प्रवृत्ति पनि जो छ ।
धेरै महिलाहरुको त्यो समयलाई महत्वविहीन ठान्नुले पनि केही गरौँ भन्नेहरु घर भित्रका काम सम्हाल्दै केही गरौँ भन्ने उद्देश्य सहित बाहिर निस्कन चाहन्छन् ।

यस्तै विवाह पछि घरभित्रको चार घेरामा परिवारको साथमा रमाइरहेकी विराटनगरकी सञ्जु राई पनि यही परिधिबाट बाहिर निस्किइन् । घरपरिवारको रेखदेख र व्यवहारिक पाटोमा उनले जति समय लगाइन् । बाहिरी दूनियाँमा पनि आफूलाई नेतृत्वकर्ताका रुपमा उभ्याउन खोजिइन् । उनले घरबार सम्हाल्दा सिकेका हरेक पाठ सौर्य बचत तथा ऋण तथा सहकारी संस्थामा लगेर प्रयोग गरिन् । अर्थात उनी अहिले सो वचत संस्थाको व्यवस्थापनको रुपमा जिम्मेवारी सम्हाल्दै आइरहेकी छिन् । घर परिवारको नेतृत्वसहित कार्यालयको जिम्मेवारी एउटी गृहिणीको लागि सहज नहुँदो हो । उद्यपी उनले त्यसलाई सहजै रुपमा लिइन् र चुनौति बोकिइन् ।

परिवार र कार्यालयलाई समयको एउटै लयमा लिएर हिँड्न त्यति सहज नभए पनि सहजताका साथ अगाडी बढ्नु जीवनको एक सिकाइ रहेको उनी बताउछिन् । घरको चार घेराबाट महिलाले पाइला अगाडी बढाउँदा धेरै कुरा अनुभवले पनि सिकिने रहेछ भन्ने कुराका अनुभवहरु उनको जीवनमा धेरै छन् । सहकारीमा आवद्ध हुनु अगाडीसम्म उनलाई सहकारी के हो ? यसलाई कसरी नेतृत्व गर्ने ? भन्ने ज्ञान समेत थिएन् । तर समय र भोगाइले मान्छेलाई परिपक्व बनाउँदै जाने उनको भोगाई छ ।
‘मलाई सहकारीमा जोडिदा सहकारी नै बुझेकी थिइन, सुरु–सुरुमा धेरै गाह्रो भएको थियो’ उनी सुनाउछिन्, ‘सबैभन्दा ठूलो कुरा भोगाइ नै रहेछ । म जब कामको मैदानमा उत्रिए त्यही मैदानले सिकायो कति कुराहरु । जुन भोगाईले म आज परिपक्व र नेतृत्वकर्ता भएकी छु ।’
सुरुवाती चरणमा उनका लागि संस्थालाई फाइदामा कसरी लग्ने भन्ने चुनौतीका पहाडहरुले नघेरेको पनि होइन् । दुई वर्षसम्म लकडाउनको सामना गर्दै आएको संस्थालाई कसरी चलायमान गराउने भन्ने चुनौतीसँगै सिस्टम विना नै चलेको संस्थालाई व्यवस्थित गर्न धेरै सकस भएको उनी सुनाउछिन् ।

एउटा संस्था फाइदाको बाटोमा हिँडाउन मैदानदेखि नै सिस्टममा चलाउन सक्नु पर्ने उनको बुझाइ छ ।
‘म नेतृत्व गर्न सक्छु भनेर मात्रै हुँदैन रहेछ । एउटा संस्था र त्यहाँका कर्मचारीलाई कसरी कामप्रति आकर्षित गर्ने भन्ने कुरा चाहीँ नेतृत्वमा रहेको व्यक्तिमा निर्भर रहनेरहछ,’ उनी अनुभव सुनाउदै बताउछन्, ‘म आउनु भन्दा अगाडी यो संस्था आफ्नो जसोतसो चलिरहेको थियो तर, अहिले मैले सबै सिस्टम परिवर्तन गर्दिएकी छु, । व्यवस्थापनको पाटोलाई एउटा नेतृत्वले कसैले औँला नउठाउने ढंगले संचालन गर्नुपर्ने हुन्छ । जुन म त्यसको प्रयासमा छु ।’
एक हजार २ सय ७६ जना सेयर सदस्य रहेको सौर्य बचतमा दैनिक करिब २ लाख वचत गर्ने गरेको उनले बताइन् । लकडाउनको त्यो समयदेखि आजसम्म आफूहरुको संस्थाबाट वितृष्णा छाएर वचत गर्नेको संख्या नघटेको उनी सुनाउछिन् ।
एउटा सहकारीलाई सेवाग्राहीको विश्वासको पात्र बनाउनका लागि बचतकर्ताको वचत गरेको रकमलाई संस्थाको भन्दा पनि सेवाग्राहीको पसिनाको कमाइ हो भन्ने धारणा हुनुपर्ने उनी बताउछिन् । समय पुगिसकेको सेवाग्राहीहरुको बचत रकम समयमा नै फिर्ता गर्न सके संस्थाप्रतिको भरोसा नटुट्ने उनको बुझाई छ ।

यसका लागि व्यक्तिगत रुपमा आफूले पहिला चुनौति बोक्नुपर्ने पनि उनको भनाई छ । यसका लागि आफैँले फराकिलो सोच र साहसिक निर्णय लिन सक्नुपर्ने सञ्जुको सिकाई छ ।
‘व्यक्तिगत रुपमा आफूले सोचेर मात्रै पुग्दैन, सोचले परिवर्तन आउँदैन,’ उनले आफ्नो जीवनको भोगाईलाई नेतृत्वमा बदलेपछि आएको सारलाई सुनाइन्, ‘परिवर्तन ल्याउनलाई चौघेराबाट निस्केर केही काम गरेर प्रमाणित गर्नुपर्छ । मैले सहरकारीको व्यवस्थापनलाई चुनौति सम्झेर नेतृत्व गरे । यो मेरा लागि उपलब्धी हो । सबै महिलाले आ–आफ्नो ठाउँबाट नेतृत्व गर्ने हो भने असम्भव केही पनि छैन ।’
यसमा पुरुषहरुको पनि साथ सहयोग रहेको उनको भनाई छ । पुरुषलाई अलग राख्नु, उनीहरुसँग सल्लाह नगर्नु समस्याको समाधान नभएको पनि उनको बुझाई छ । एकले अर्कोलाई कमजोर सम्झेर विभेद गर्नेभन्दा एक अर्कोको बलियो साथलाई बोकेर हिड्दा सफलतामा पुगिने उनी बताउँछिन् ।

‘मेरो जीवनको सफलता मेरो बलियो शक्ति हो । कमजोरी देखाएर, कोट्याएर कोही कँही पनि पुग्दैन’, सञ्जुले कुराकानीको सारमा भनिन्, ‘पुरुषको बलियो साथलाई सँगै लिएर अगाडि बढ्दा सबै कुराको व्यवस्थापन गरेर अगाडि बढ्न सकिन्छ । हामी यसैमा केन्द्रित हुनुपर्छ । कसैको खुट्टा तानेर कसैलाई सफलता मिल्दैन ।’
उनले सहकारीका बचतकर्ता सबैको भरोसा कहिल्यै नतोड्ने भन्दै यसका लागि अझै कटिबद्ध भएर सहकारी समूहलाई दिगो र बलियो बनाउने योजना रहेको पनि बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्