विराटनगर । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशन्शको ग्राहक संख्या ७ लाख पुगेको छ।
कम्पनीले मंगलबार वर्ल्डलिंकको ईन्टरनेट संख्या ७ लाख घरपरिवारमा पुगेको बताएको हो । नेपालको राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक प्रतिवेदन अनुसार प्रति परिवारको औसत जनसंख्या ४.३२ छ यसलाई आधार मान्दा वर्ल्डलिंकको ईन्टरनेट सेवा ३० लाख भन्दा ज्यादा नेपाली माझ पुगेको देखिन्छ ।
कम्पनीले यस स्थानमा पुग्न मद्दत गर्ने सबै ग्राहकलाई आभार व्यक्त गर्दै "विश्वस्तरिय सेवाद्वारा ग्राहकहरुको जीवनस्तर समृद्ध बनाउने" आफ्नो मिसनमा कटिबद्ध रहने जनाएको छ ।
विस २०५२ भदौ ३० गते स्थापना भएको वर्ल्डलिङ्कले नेपालमा इन्टरनेट सेवा दिन थालेको २७ वर्ष पूरा भइसकेको छ । २०७४ जेठमा एक लाख ग्राहक सङ्ख्या पुरा गरेको वर्ल्डलिङ्कले त्यसको साढे पाँच वर्षमा थप नयाँ छ लाख ग्राहक थपेको हो । देशभर १५० भन्दा बढी शाखा कार्यालय रहेको वर्ल्डलिङ्कमा हाल पाँच हजार भन्दा बढी कर्मचारी कार्यरत छन् ।
कम्पनीले देशको ७३वटै जिल्लामा आफ्नो सेवा विस्तार गरी कार्य सञ्चालन गरिरहेको छ भने यही वर्ष बाँकी रहेका दार्चुला, बैतडी, मनाङ र मुस्ताङमासेवा विस्तार गरी ७७ वटै जिल्लामा पुर्याउने लक्ष्य राखेको छ ।
हालसम्म १४ हजार भन्दा ज्यादा स्थानमा निःशुल्क सार्वजनिक वाइफाई उपलब्ध गराइरहेको कम्पनीको यो वर्षभित्र ३० हजार स्थानमा निःशुल्क वाइफाई उपलब्ध गराउने योजना छ ।
यो सँगै कम्पनीले 'कनेक्टिङ एभ्रिवन, एभ्रिवेर, अल द टाइम' नाराको अठोटमा आफुहरु सफल भएको जनाएको छ ।