नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड ८६ औँ वर्षमा, नेपाल बैंकको इतिहास यस्तो छ

<span class='c1'>नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड</span> <span class='c2'>८६ औँ वर्षमा, नेपाल बैंकको इतिहास यस्तो छ</span>

नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड ८६ औँ वर्षमा प्रवेश गरेको छ । ८६ औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा बैंकले विभिन्न कार्यक्रम आयोजना गरेको छ भने आज वार्षिकोत्सव कार्यक्रम आयोजना गर्दै छ ।

८६ औँ वार्षिकोत्सवको अवसरमा बैंकले कात्तिक २८ गते बिहान ११ बजेदेखि ३ बजेसम्म रक्तदान कार्यक्रम आयोजना गरेको थियो ।

नेपाल बैंकले हाल २२२ शाखामार्फत सेवा दिँदै आएको छ । बैंकले शाखासँगै १९८ वटा एटीएम, ४९ वटा एक्सटेन्सन काउन्टरमार्फत देशैभर उपस्थिति जनाएको छ ।

नेपाल बैंकको इतिहास 
नेपालमा बैंकिङ इतिहासको अध्ययन गर्दा २० औँ शताब्दीको मध्यपूर्वको समयलाई बैंकिङ इतिहासमा सर्वाधिक महत्त्वको समय मानिन्छ । विश्वमा १७ औँ शताब्दीताका नै सुरु भएको बैंकिङ अभ्यास नेपालमा आइपुग्न २० औँ शताब्दीको पनि अन्त्यसम्म पर्खनुपर्‍यो ।

नेपालको बैंकिङ क्षेत्रमा अहिले जुन क्रान्ति भएको छ, यसको जग बसाल्ने काम ‘नेपाल बैंक लिमिटेड’ को स्थापनाबाट भएको हो । किनकि नेपाल बैंक नेपालको पहिलो बैंक हो । जसको स्थापना १९९४ साल कार्तिक ३० गते भएको हो ।

यस बैंकको उद्घाटन राजा त्रिभुवनले गरेका हुन् । त्यतिबेला पनि सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा सुरु भएको यस बैंकमा १० जना लगानीकर्ता थिए । आठ लाख ४२ लाख हजार चुक्ता पुँजीबाट सुरु भएको बैंकको निक्षेप १७ लाख थियो भने लगानी १९ लाख थियो ।

नेपालमा बैकिङ प्रणालीको सुरुवात र विकासकर्ताका हिसाबले पनि नेपाल बैंकको भूमिका अतुलनीय रहेको छ । यसको आफ्नै लामो गौरवमय इतिहास छ । नेपालमा औपचारिक बैकिङ सेवाको सुरुवात मात्र नभई स्वदेशी मुद्रा प्रचलनमा सहजता ल्याउने श्रेय पनि नेपाल बैंक लिमिटेडलाई जान्छ ।

भारतीय रुपैयाँको दबदबा रहेको समयमा आफ्नै देशको मुद्रा प्रचलनमा ल्याउन नेपाल बैंक लिमिटेडले खेलेको भूमिका इतिहासका स्वर्णिम पानाहरूमा सदा लेखिइरहने नै छ । त्यसैगरी वि.सं. १९९४ देखि २०१३ सालसम्म देशको केन्द्रीय बैंकको भूमिकासमेत निर्वाह गरेको नेपाल बैंक लिमिटेड नेपालको वित्तीय क्षेत्रमा एउटा छुट्टै अनुभव बोकेको गौरवशाली बैंक हो ।

नेपालको आर्थिक विकासमा अग्रणी भूमिका खेलेको नेपालको पहिलो बैंक नेपाल बैंक १९९४ सालदेखि हालसम्म अनवरत विश्वासको ८६ औँ वर्षसम्म अटुट रूपमा बैंकिङ सेवा प्रदान गर्न सफल भई आफ्नो निरन्तर यात्रामा गतिशील रूपमा लागिपरिरहेको छ ।

स्थापनाकालदेखि हालसम्म पनि अनवरत सेवा प्रवाह गर्दै आएको नेपाल बैंक नेपाली माटो र हरेक नेपाली जनसँग प्रगाढ सम्बन्ध गाँसिएको बैंक हो । बालक, युवा र प्रौढ हुँदै ज्येष्ठ नागरिक सबैको पहिलो रोजाइको बैंक बन्न सफल नेपाल बैंक लिमिटेडमा हाल २३ लाखभन्दा बढी ग्राहक छन् ।

पुस्तौँदेखि पुस्तासम्म गहिरो इतिहास भएको यो बैंक हाल ‘सबै पिँढीको साथी’का रूपमा अगाडि बढिरहेको छ । सरकारी वित्तीय कारोबार गर्ने जिम्मेवारी पाएका कारणले पनि नाफा मात्र नभई उच्च सेवा भावले आम नेपालीको मन मस्तिष्कमा रहन यो बैंक ओतप्रोत छ ।

बैंकको मुल ध्येय नै ग्राहकलाई कसरी गुणस्तरीय र सहज ढङ्गले वित्तीय सेवा उपलब्ध गराउने भन्नेमा छ । ठुला उद्यमी व्यवसायीदेखि सामान्य आर्थिकस्तर भएका नेपालीजनको प्राथमिकतामा नेपाल बैंक लिमिटेड सधैँ अग्रपङ्क्तिमा रहेको छ ।

वास्तवमा नेपाल बैंक लिमिटेड आफ्नो ८६ वर्षे लामो यात्रामा लाखौँ नेपालीको मन जितेर उनीहरूको पहिलो रोजाइको बैंक बन्न सफल भएको  छ । सेवाग्राहीको यही अटुट साथ र सहयोगले बैंकलाई थप हौसला प्रदान गर्दै अघि बढ्न प्रेरित गरिरहेको छ । हामीलाई सेवाग्राहीको सन्तुष्टि र उत्साही अनुहारले जति खुसी तुल्याउँछ सम्भवतः अन्य कुनै कुराले पनि तुल्याउँदैन । नाफा मात्र नभई हरेक नेपालीको आर्थिक समृद्धिका खातिर उच्च सेवाभावले सहरी इलाकादेखि ग्रामीण दूर दराजसम्म यस बैंकका शाखा कार्यालयहरूका कर्मठ जनशक्ति ग्राहक सेवामा आफूलाई समर्पित गरिरहेका छन् ।

असारसम्मको वित्तीय सूचकहरू 

गत असार मसान्तसम्म १ खर्ब ९६ अर्ब निक्षेप सङ्कलन गरी १ खर्ब ७८ अर्ब कर्जा प्रदान गर्न बैंक सफल भएको छ । ८६ वर्षअघि ८ लाख ४२ हजार रुपैयाँबाट सुरु भएको नेपाल बैंकको चुक्तापुँजी अहिले १४.४० अर्ब छ । प्रत्येक वर्ष सञ्चालन मुनाफा बढिरहेको छ ।

बैंकको जगेडा कोषमा १७.८२ अर्ब रुपैयाँ रहेको छ भने ३५ अर्ब बढी नेटवर्थ रहेको छ । प्रशस्त अचल सम्पत्ति, कासा निक्षेप, आधार दरको न्यूनता, स्प्रेड दर व्यवस्थापन, ब्याजदरको सन्तुलित उतारचढाब, खराब कर्जा व्यवस्थापनलगायतका सूचकहरूमा समेत बैंक दरिलो देखिन्छ । त्यसैले हरेक वित्तीय परिसूचकहरूका आधारमा नेपाल बैंक नेपालको बैंकिङ क्षेत्रको एउटा सशक्त बैंकको रूपमा उभिएको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व

बैकिङ सेवासँगै सरकार र समुदायसँग रहेर कार्य गर्ने सोचअनुरूप बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गतका धेरै महत्त्वपूर्ण क्षेत्रहरूमा आफ्नो सहभागिता जनाएको छ । कैयौँ समाज सेवाका कार्यहरूमा बैंक निरन्तर साथ दिइरहेको छ । त्यसैगरी हरेक नेपालीहरूमा वित्तीय ज्ञान एवं चेतना प्रदान गर्दै वित्तीय पहुँचको विस्तार एवं वित्तीय समावेशीकरणमार्फत आर्थिक समृद्धिको आधारशिला निर्माणमा टेवा प्रदा गर्न देशव्यापी रूपमा वित्तीय साक्षरताका कार्यक्रमहरू सञ्चालन गरिरहेको छ ।

प्राकृतिक प्रकोप, महामारीलगायतका विभिन्न सङ्कटहरूमा अग्रपङ्क्तिमा रही बैंकले अतुलनीय रूपमा सामाजिक उत्तरदयित्व पूरा गर्ने काममा महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ ।

आर्थिक विकासमा योगदान

अर्थतन्त्रको मौद्रिकीकरण तथा देशैभर शाखा सञ्जाल विस्तारमार्फत वित्तीय पहुँच बढाएर एवं सरकारका नीति तथा कार्यक्रमहरूको कार्यान्वयन गरी गरिबी निवारणमा योगदान दिएर उद्योग तथा वाणिज्य क्षेत्रको विकासमार्फत प्रत्यक्ष र परोक्ष रूपमा रोजगारी सिर्जना गरेर नेपाल बैकले आर्थिक विकासमा प्रभावकारी भूमिका खेलिरहेको छ ।

साना मझौला एवं ठुला सबै खाले उद्यम र परियोजनामा बैंकले ऋण लगानी गरेको छ । कृषि, पर्यटन, जलविद्युत्लगायत सरकारको नीतिअनुसार प्राथमिकता प्राप्त क्षेत्रमा बैंकको लगानी उल्लेख्य छ । युवा स्वरोजगारका क्षेत्रमा होस् वा महिला उद्यमशिलता, शैक्षिक बेरोजगार व्यक्तिहरूलगायत विदेशबाट फर्किएका सिपयुक्त व्यक्तिहरूलाई सक्षम एवं आत्मनिर्भर बनाउन सरकारले दिएको सहुलियतपूर्ण कर्जा कार्यक्रमलाई समेत बैंकले प्रभावकारी रूपमा कार्यान्वयनसमेत गर्दै आइरहेको छ

आधुनिक प्रविधिको प्रयोग

परम्परागत बैकिङबाट आधुनिक बैकिङमा सफलताका साथ ठुलो छलाङ मार्न सफल अब्बल बैंकका रूपमा नेपाल बैंक लिमिटेडले आफ्नो पहिचान बनाएको छ । सम्पूर्ण आधुनिक बैकिङ सेवाका रूपमा रहेका मोबाइल बैकिङ, इन्टरनेट बैकिङ, अनलाइन बैंकिङ, डेबिट कार्ड, क्रेडिट कार्ड, सी–आस्बा, क्यूआरकोडलगायतका अन्य डिजिटल बैंकिङ सुविधाहरूले बैंकको सेवाप्रवाहलाई थप गतिशील, सहज र प्रतिस्पर्धी बनाएको छ ।

ग्राहकको बैंकप्रतिको विश्वासलाई अझ प्रगाढ बनाएको छ । बैंकले आधुनिक बैंकिङ सेवाको साथमा सुरक्षित निक्षेप, सुलभ र सहज कर्जा, भरपर्दो रेमिट्यान्स, छिटोछरितो र सुरक्षित प्रतीतपत्र, बैंक जमानतलगायत ट्रेड फाइनान्सका थुप्रै सुविधाहरू प्रदान गरिरहेको छ । नेपाल बैंक आधुनिक प्रविधिमैत्री बैंकका रूपमा पूर्णतः स्थापित भइसकेको छ ।

दक्ष युवा जनशक्ति तथा कुशल व्यवस्थापन

नेपाल बैंक लिमिटेडले यो स्तरको सफलता हासिल गर्नुमा त्यहाँका जनशक्तिले थापेको काँधलाई किमार्थ भुल्न सकिँदैन । आधुनिक प्रविधिसँगै साक्षात्कार गर्ने युवा पुस्ताको बाहुल्य रहेको यस बैंकमा करिब ३३०० को सङ्ख्यामा कर्मचारी कार्यरत छन् । यस बैंकमा कार्यरत कर्मचारीहरूको औसत उमेर ३५ वर्ष रहेको छ भने महिला र पुरुष कर्मचारीहरूको सङ्ख्यामा उचित सन्तुलन रहेको छ ।

सक्षम सञ्चालक, कुशल व्यवस्थापक तथा शैक्षिक र प्राविधिक निपूर्णताले खारिएका जनशक्तिका कारण बैंकले निरन्तर रूपमा ग्राहकको माया पाउन बैंक सफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्