लोकतन्त्रको संस्थागत अभ्यास आवधिक निर्वाचनबाट जनप्रतिनिधि निर्वाचित गर्ने सुन्दर पक्ष हो । यो सुन्दरताले लोकतन्त्रको संस्थागत विकास गर्ने मात्रै नभई साशन व्यवस्थालाई सुशासनमैत्री बनाउन सहयोग गर्दछ । नागरिकले आफ्नो मताधिकारमार्फत साशन व्यवस्था सञ्चालन गर्ने सञ्चालक छान्ने सुनौलो अवसर लोकतन्त्रमा मात्रै सुरक्षित हुन्छ । यसलाई समुन्नत अभ्यासमार्फत अगाडी बढाउन आवधिक निर्वाचनमार्फत निर्वाचित जनप्रतिनिधि चुन्नु सार्वभौम अधिकार मानिन्छ ।
निर्वाचनलाई नागरिकले अधिकारको रुपमा लिनुपर्दछ । यो अधिकार प्रयोग गर्ने मंसिर ४ गतेको समयसीमा हाम्रा सामुन्ने आईसकेको छ । आफ्नो अधिकारबाट निर्वाचित प्रतिनिधि नागरिकका लागि सधैं खबरदारीका पात्र हुन्छन् । राज्य सञ्चालनमा पुगेकाहरुले समग्र राष्ट्रलाई लोककल्याणकारी रुपमा सञ्चालन गर्नुपर्ने अपेक्षा नागरिकमा हुन्छ । निर्वाचनमा बहुदलिय प्रतिस्प्रर्धाका आधारमा मतदानको अधिकार प्रयोग गर्ने नागरिकले उसको घोषणापत्र अनुसारका योजना ल्याउन नसक्दा त्यसको खबरदारी जरुरी हुन्छ ।
अधिकार प्रयोग गरेका नागरिकको खबरदारी फरक–फरक रुपमा व्यक्त हुन्छ । बारम्बार जीताएर पठाएका व्यक्ति राज्य सञ्चालकको हैसियतमा पुग्दा जनअपेक्षाअनुरुप काम नगरे उसलाई दण्ड दिने माध्यम समेत निर्वाचन हुने गरेको छ । त्यहि भएर मताधिकारको प्रयोगमा कतिपनि घृणाभाव पैदा नगरी आलोचना, खबरदारी र मतदानमार्फत सजाय दिन पाउने हैसियत नागरिकसँग हुन्छ । यति बलियो हतियारको रुपमा रहेको मताधिकार प्रयोग गर्दै निर्वाचनलाई उत्सव बनाउनु, उत्सवबाट नयाँ सिर्जना गर्नु र त्यो सिर्जनाको प्रयोग राज्यमार्फत गर्नु संसारका मुलुकले अभ्यास लोकतान्त्रिक प्रणाली मानिन्छ ।
त्यसैले निर्वाचनलाई उत्सवको रुपमा लिनु नागरिकका लागि हितकर हुनेछ । विचार र आस्थाका आधारमा संगठित दलका उमेदवार राम्रा नभए ईच्छाएका र केहि गर्नसक्ने सक्षम व्यक्ति चुन्न तयारी अवस्थामा बसौं । अधिकार प्रयोग गरौं, खबरदारी बढाऊँ ।