विराटनगर । मोरङमा निर्वाचनसँग सम्बन्धित सम्पूर्ण तयारी पूरा भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय मोरङले शनिबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरेर ३०६ मतदानस्थल ८३९ स्थायी र दुईवटा अस्थायी गरी ८४१ मतदान केन्द्रको सम्पूर्ण व्यवस्थापनको तयारी पूरा भएको जानकारी दिइएको हो ।
देशभर सबैभन्दा धेरै मतदाता रहेको मोरङमा ६ प्रतिनिधिसभा र १२ प्रदेशसभा सदस्यको निर्वाचन आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुँदैछ । जसमध्ये क्षेत्र नम्बर १ मा ६० मतदानस्थलका १४३ मतदान केन्द्रमा ६२ हजार ९१२ महिला र ६० हजार ७०३ पुरुष गरि जम्मा १ लाख २३ हजार ६१५ मतदाताले मत खसाल्ने छन् । यस्तै क्षेत्र नम्बर २ मा ६८ स्थलमा १५१ मतदान केन्द्रमार्फत ५९ हजार ८०८ महिला, ६४ हजार ९२० पुरुष र अन्य एकजना मतदाता रहेका छन् ।
क्षेत्रनम्बर ३ मा ५५ मतदानस्थलका १६७ मतदान केन्द्रमा ७७ हजार २३९ महिला, ७२ हजार ५९० पुरुष र चारजना अन्य मतदाता गरि १ लाख ४९ हजार ८३३ मतदाताले मतदान गर्नेछन् । यसैगरी क्षेत्र नम्बर ४ मा ४० मतदानस्थलका १२२ मतदान केन्द्रबाट ५३ हजार ३७६ महिला र ५६ हजार ६१७ पुरुष गरि १ लाख १० हजार ९३ मतदाताले मतदान गर्नेछन् । क्षेत्र नम्बर ५ का ४४ मतदानस्थलका ११५ मतदान केन्द्रबाट ४५ हजार ८२१ महिला र ५४ हजार ६७३ पुरुष गरि १ लाख ४९४ जना मतदाताले मतदान गर्नेछन् । क्षेत्र नम्बर ६ का ३९ मतदानस्थलका १४१ मतदान केन्द्रबाट ६१ ह्जार ९३७ महिला, ६४ हजार ८२३ पुरुष र एकजना अन्य मतदाताले मतदान गर्नेछन् । मोरङमा ७ लाख ३५ हजार ५२५ मतदाता रहेका छन् ।
मुख्य निर्वाचन अधिकृत दुर्गाप्रसाद ढुंगेलका अनुसार कारागार कार्यालय मोरङमा २१० र आदर्श पुस्तकालय विराटनगर मतदान केन्द्रमा दुईहजार ५९५ जना मतदाताले प्रतिनिधिसभा सदस्यमा समानुपातिक निर्वाचनमा मतदान गर्ने गरी अस्थायी केन्द्र निर्धारण गरिएको छ ।
मोरङका ६ निर्वाचन क्षेत्र मध्ये विराटनगर महानगरपालिकासँग जोडिएका ४, ५ र ६ को मतगणना आदर्श माध्यमिक विद्यालय विराटनगरमा हुनेछ । क्षेत्र नम्बर १ को उर्लाबारी नगरपालिकाको कार्यालय, २ को विश्वनाथ मन्दिर रतुवामाई र ३ को भगवती मा.वि. बेलबारीमा हुने छ । मोरङमा प्रतिनिधिसभातर्फ ४८ जना र प्रदेशसभातर्फ ५५ उमेदवार रहेका छन् ।
प्रमुख निर्वाचन अधिकृत ढुंगेलका अनुसार मोरङमा ६ हजार ७१२ कर्मचारी र ५ हजार ३९५ जना प्रहरी मतदान केन्द्रहरुमा खटिएका छन् । त्यस बाहेक प्रत्येक मतदान केन्द्रमा ३ देखि ४ जना स्वयम् सेवक समेत खटाइएको छ । विराटनगर–७ को बालिका मा.वि.लाई नमूना मतदानस्थलको मानिएको छ । जहाँ महिला कर्मचारी मात्रै खटिने भएका छन् ।
निर्वाचनका लागि सम्पूर्ण सुरक्षाको व्यवस्था समेत पूरा भएको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । उहाँका अनुसार निर्वाचन लक्षित एकिकृत सुरक्षा योजनामा चारवटा संयन्त्र परिचालित हुनेछ । जसमा नेपाली सेनाको ६५०, नेपाल प्रहरी २ हजार ८२,म्यादी प्रहरी तीन हजार ६१६ र सशस्त्र प्रहरी एक हजार ५५ जना रहेका छन् । त्यस बाहेक राष्ट्रिय अनुसन्धानको टिम समेत जिल्लाभर परिचालन गरिएको छ । एकिकृत सुरक्षा योजनाको रुपमा जिल्लाभर सात हजार ४७१ जना परिचालिन हुने भएका छन् ।
‘रिजर्भ फोर्स, स्टाण्डिङ्ग फोर्स, कमाण्ड टोलि, मोवाइल र पेट्रलिङ्ग गस्ती रहनेछ’ प्रमुख जिल्ला अधिकारी दाहालले भन्नुभयो–मतदानस्थल बाहिरको सुरक्षामा विशेष ध्यान दिनेछौं । उहाँले भारतको अररिया र किसनगञ्ज जिल्लासँग सीमा जोडिएको मोरङको सीमावर्ती क्षेत्रमा पेट्रोलिङ्ग गस्ती गरिने छ । संयुक्त सीमा सुरक्षा समिति बैठकमा छिमेकी देश भारतका समकक्षी जिल्लाका सुरक्षा अधिकारीसँग बसेर सीमामा कडाई गर्ने विषयमा सहमति भएको प्रमुख जिल्ला अधिकारी दाहालले जानकारी दिनुभयो । निर्वाचनको दिन भारतबाट बिरामी बोकेर आएका सवारीलाई दुवैदेशको सुरक्षा निकायको चेकजाँचपछि प्रवेश दिईने छ ।