मेरो अस्तित्व लुटिएको त्यो रात !

मेरो अस्तित्व लुटिएको त्यो रात !

सुजता लिम्बू
ओई के भयो ? तेरा दुवै आँखा रसाएका छन । के भो सन्चो भएन हो ? सरुले एकै स्वासमा सोधेको प्रश्नको उत्तर दिनका लागि म सँग कुनै सामर्थ थिएन । सायद त्यो समय भित्रैबाट टुटेकी थिए क्या हो । उनको प्रश्नको जवाफ दिन कुनै शब्दहरु जोडिएर मुख बाहिर निस्किएन । म सँग मात्रै मौनता बाहेक अरु केही थिएन । त्यसैले पनि होला उनले मेरो मौनतालाई तोड्न चाहिन क्या हो, उनी म भएको ठाँउबाट जुरुक्क उठेर खै कता हिँडी मैले ख्याल गरिन । म मौनता भित्रको आफ्नै संसारमा डुबेकी थिए । मन भित्र त्रासैत्रासले डेरा जमाएर बसेको थियो । भनौँ कसलाई भन्ने ? को सँग र कहाँ बाट सुरु गर्ने ? सुरु गर्नका लागि पनि त पहिले कुन शब्द फुराउने ? यस्तै यस्तै मन भित्रका अन्तरद्धन्द्धले मेरो मन मष्तिस्क सबै थलिएको थियो । जवाफविहीन भएर अँध्यारो दुुनियामा भौतारिरहेकी थिएँ ।

तर, म बाँचिरहेको बाहीरी संसार उज्यालो थियो । खुल्ला आकाशमा पंख फिजाएर यताउता डुलिरहेका सेता बादलहरुले ठाँउठाँउमा आफ्नै साम्राज्य जमाइरहेको थियो. । वरपर चिरविरचिरविर गर्दै चराका आवाजहरुले प्रकृतिमा छुट्टै संगित भरिरहेको थियो । सँधै जस्तो हुँदो हो त यी सबै कुराले मेरा मन फुरुङ्ग हुन्थ्यो । यही प्रकृतिको सुन्दरतासँग साउती मार्दै रमाई रहेकी हुन्थे । तर, खै किन हो यी सबै प्रकृतिमा कोरिएका दृष्यहरु रंग नपुगेको झैँ भएको थियो ।

उफ ! मलाई मात्रै किन यस्तो हुन्छ ? मेरा रहर, सपनाका घर किन क्षणभरमै भत्किए । सबै रातहरु एउटी हुर्कदै गरेको छोरीका लागि मिठो निन्द्रा निदाउने रात नहुँदो रहेछ । उमेरै नपुगी गिद्दे नजरले कलिलो उमेरमा हुर्कदै गरेको शरीरका हरेक अंगहरुलाई परैबाट मिठो भोजनको रुपमा राल काड्नेहरुको भिडमा आफूलाई चाहेर पनि संरक्षण गर्न नसकिने रहेछ । मलाई त्यो समय डाँको छोडेर रुने अधिकार पनि थिएन । आमाले भन्ने गर्थिन, कुर्ता सुरुवाल लगाएर हिँड्दा नारीलाई भद्र र सुन्दर देखिन्छ । अझ सलले शरीर ढाक्दा झनै शालिन देखिन्छ । तर, त्यो गलत थिएछ, गलत नजरले हेर्नेहरुका लागि कपडाले छोपिएको शरिर भित्र पुग्न केही समय नलाग्ने रहेछ ।

भनिन्छ नि कहिलेकाँही जीवनमा आफूले नजिक ठानेका कुनकुनै कुराहरु थाहा नै नपाई कम्जोरी बनिदिन्छ । आमाले आफ्नो आत्मरक्षाका लागि हप्काउदै सल ओड भन्दै गर्दा मेरो आमाले दिएको सुरक्षा कवजले म लुटिनुबाट जोगिन । सालिन, सुन्दर र भद्र हुन सिकाउने मेरी आमा छोरी तँलाई अप्ठ्यारो पर्दा प्रतिकार गर्नु भनेर किन सिकाउनु भएन ? आमा तिमिले मेरी छोरीको उमेर, यौन र जवानी नलुटोस कसैले भन्दै जुन सरक्षा कवज हुन्छ भनेर सुझाएकी थियौ नि त्यो मैले ओडेको सल के हो त्यसैको पासोमा पारेर मलाई त्यो पुरुषले सर्वस्व लुट्यो ।

मैले चिच्याएर आमा भन्दै तिमिलाई पुकार्न सकिन । क्षणभरमा मेरो कुमारीत्व मात्रै गुमाइन मेरो आत्मसम्मान र अस्तित्व गुमाए । कालिएर रुन सकिन किनकी यो तिमि हामीले निर्माण गरेको एउटा वृहत समाजिक संरचना छ नि हो त्यसका प्रत्येक पर्खालहरुले मेरा आजवाहरु म भित्र नै गुमनाम बनाई दियो ।
मेरो मुखमा मैले शरीर ढाकेको सल खाँदेर यौनको नसामा मस्त झुमेको त्यो कु्रर पुरुषको प्रतिकारमा म भिड्न सकिन केही गर्न सकिन । त्यो त समाज बुझेको, पढेलेखेकै मान्छे थियो । त्यसैले त होला मेरो अस्तित्व सँग खेल्दै गर्दा मेरा आवाजहरुले उसको प्रतिष्ठा माथि आँच आउने त्रासले मुख बन्द गर्दै गर्दा मेरो अर्धनग्न शरिरको महत्व र ईज्जतको किन डर राखिदिएन ? म मृत्यु र जीवनको लडाईमा लड्दै गर्दा मलाई मेरो ईज्ज्त जान्छ भन्ने डर भन्दा पनि जिवित भएर त्यो नर्कबाट भाग्नु थियो ।

पीडा र छटपटीले लमतन्न परेको म मैले लगाएको बस्त्रभरी रगतका दागहरु बोकेर घरभित्र पस्दै गर्दा परिवारले समाजमा ईज्जतको दाग नलागोस भन्ने संकेत गरे । आमाको काखमा लुटुपुटु परेर मनमा भएका पीडाहरु पोख्दै गर्दा लुटीएको शरिर फिर्ता ल्याइदेउ न आमा भन्न सकिन । किनकी आमाको काखमा पनि मैले न्यायको बाटो भेटिन् । उनले मेरो कपाल सुम्सुमाउदै भन्दैथिइन, छोरी यो सबै छिमेकमा थाहा भयो भने समाजले के भन्छ ? समाजसँग डराउनुपर्छ । मलाई भन्न मन थियो आमा मलाई भन्ने समाजले त्यो पुरुषलाई भन्दैन र ? के यो समाजले पुरुषलाई चाहीँ ईज्जत र बेईज्जतको ट्याग भिराईदिएको छैन ? तर, मैले यही प्रश्नहरु तेस्राउदै आमासँग बहस गर्न सकिन ।

किनकी आमाको आँखाको डिलमा छल्किएको आँशुले म भित्रका आवेग सबै राकिदियो । मलाई आमाको काखबाट चुडिएर सँधै का लागि यो समाजबाट बिदा लिउँ झैँ लाग्यो । बन्द अँध्यारो कोठामा पसेर आफ्नै घाँटी निचोर्दै गर्दा आफैलाई सजाय दिए झैँ लाग्यो । भित्रैबाट उकुसमुकुस भएर आयो । मेरा स्वासहरु एकै ठाँउ जमेर पोको परे झैँ आभास भयो । म मर्न पनि सकिन । किनकी मरेर जाने त गयो तर, बाँच्नेहरुलाई समाजले जिउन दिँदैन ।त्यसैले मैले त्यो बन्द कोठा भित्रैबाट एउटा प्रण गरे अब समाज, परिवारका लागि होइन म आफ्ना लागि विद्रोही भएर जिउनुपर्छ । हो, मैले जिउनुपर्छ ।
उफ!
मोबाईलमा दैनिक बिहान ६ बजे बज्ने अलरामले बिउझायो । छ्या सपनामै पो भटभटाएछु । हैट सपनामा पनि कस्तो देखेको , शरीर पसिनाले लर्थक्कै भिजेको रहेछ । निन्द्राबाट बिउझिदा पनि रिस, डर र थरथरी कापेको शरीर भित्रैबाट जिउने हिम्मत पो बटुल्दै रहेछु । सपना पनि कस्तो यार आफ्नो लागि होईन समाजको लागि जिउनुपर्ने आफै भित्र रिस पोख्दै ओछ्यानबाट उठेर दैनिकी तिर लागे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्