बैतडी । बैतडीको पञ्चेश्वर गाउँपालिका-४ की माया लुहारको हत्या आरोपमा शिवनाथ ४ का सशस्त्र प्रहरी जवानसमेत रहेका भरतराम कोली पक्राउ गरेका छन्।
उनलाई प्रहरीको विशेष सुरक्षा टोलीले कञ्चनपुरबाट पक्राउ गरेको प्रदेश सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) मोहनकुमार आचार्यले कोली महेन्द्रनगरबाट पक्राउ परेको पुष्टि गरे । उनले विस्तृत विवरण प्राप्त हुन बाँकी रहेको बताए ।
यहि मंसिर १३ गते मंगलबार घरबाट माया र नेहा लुगा सिउन भनेर घर नजिकैको कुलाउ बजार गएका थिए। भरतले माया र नेहालाई बोलाएर हत्या गरेको पीडित परिवारको आरोप छ। भरत र मायाबीच पहिलेदेखि प्रेम सम्बन्ध रहेको पीडित परिवारको भनाइ छ। माया हालै सम्पन्न निर्वाचनमा म्यादी प्रहरीसमेत रहेकी थिइन् ।
घाइते नेहाले पनि भरत कोली नै घटनामा संलग्न रहेको बताएकी थिइन् । २२ वर्षीय कोली हुल तथा दंगा तालिम व्यवस्थापन शिक्षालय पोखरामा सशस्त्र प्रहरी जवानका रूपमा कार्यरत थिए ।