काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत आज नेपालले घरेलु टोली नामिबियासँग नामिबियासँग खेल्दैछ ।
नेपाल र नामिबियाबीचको खेल आज दिउँसो पौने २ बजे युनाइटेड क्लब क्रिकेट ग्राउण्डमा खेल हुने लागेको हो ।
नेपाल, नामिबिया र स्कटल्याण्ड सम्मिलित यस शृंखलामा नेपालको यो तेस्रो खेल हो । नेपाल र नामिबियाबीच यसअघिको खेल वर्षाले प्रभावित हुँदा नतिजा विहीन बनेको थियो, जसले गर्दा दुवैले अंक बाँडेका थिए । यस्तै दोस्रो खेलमा नेपाल स्कटल्याण्डसँग पराजित भएको थियो ।
पहिलो खेलमा स्कटल्याण्डसँग पराजित भएको नामिबियाले नेपालसँग अंक बाँडेको थियो भने त्यसपछि स्कटल्याण्डलाई हराएको थियो ।
घरेलु टोली नामिबियासँग खेल्दा नेपाल यस टुरको पहिलो जितको खोजीमा हुनेछ । नेपालले कम्तीमा तीन खेल जित्ने लक्ष्य राखे पनि त्यो अब पूरा नहुने भएको छ । तर उत्कृष्ट प्रदर्शन गर्दै बाँकी दुई खेल जित्न सकेमा नेपालको नामिबिया भ्रमण सुखद हुनेछ ।
नेपालले शृंखलाको अन्तिम खेल बिहीबार स्कटल्याण्डसँग खेल्नेछ ।