विराटनगर । नेकपा (माओवादी केन्द्र) प्रदेश १ ले औपचारिक रुपमा मुख्यमन्त्रीमा दाबी गरेको छ ।
माओवादी केन्द्र प्रदेश १ का अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो)ले एक विज्ञप्ति जारी गर्दै प्रदेश सरकार गठन र अन्य पार्टीसँगको सहकार्यका लागि वार्ता समिति समेत निर्माण गरेको जनाएका हुन् ।
‘प्रदेश सरकारको नेतृत्व हाम्रो पार्टीले पाउनुपर्ने मागदाबीसहित पार्टीको शीर्ष नेतृत्व र सत्तासाझेदार दलहरुसँग छलफललाई अगाडि बढाउने निणर्य गरियो,’ विज्ञप्तिमा भनिएको छ ।
यस्तै प्रदेश सरकार गठन र अन्य सहकार्यका लागि पार्टीको तर्फबाट माओवादीका केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज राम कार्कीको संयोजकत्वमा वार्ता समिति समेत गठन गरिएको छ । समितिका अन्य सदस्यहरुमा इन्द्रबहादुर आङ्बो र हर्कबहादुर नेम्वाङ रहेका छन् ।
प्रदेश १ प्रदेशसभामा ९३ जना सांसद छन् । जसमा नेकपा एमालेका ४०, नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३, राष्ट्रिय प्रजातन्त्र पार्टीका ६, नेकपा एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका एक जना सांसद निर्वाचित भएका छन् ।