काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले कोभिड–१९ महामारीपछि पुनरुत्थानको दिशामा अघि बढेको मुलुकको पर्यटन क्षेत्रलाई थप चलायमान बनाउन रणनीतिक अभियान चलाउन जरुरी रहेको बताउनुभएको छ ।
नेपाल पर्यटन बोर्डको २४औँ वार्षिकोत्सवका अवसरमा बोर्डमा आयोजित कार्यक्रममा उहाँले बदलिँदो विश्व परिवेशमा पर्यटन प्रवद्र्धनका लागि नयाँ रणनीति आवश्यक भएको उल्लेख गर्नुभयो । “महामारीले विगत तीन वर्ष नेपालको अर्थतन्त्रमा पर्यटन क्षेत्रको यौगदान ह्वात्तै घट्यो तर, पछिल्लो पाँच–छ महिनाको विदेशी पर्यटक आगमनको आँकडा हेर्दा यो ‘रिभाइबल फेज’मा छ”, सचिव अधिकारीले भन्नुभयो, “हामीले सन्तोष गर्ने अवस्था छ । करिब सन् २०१९ को अवस्थामा फर्किएजस्तो देखिन्छ । आगामी वर्ष सन् २०२३ मा १० लाख पर्यटक भित्र्याउने हाम्रो लक्ष्य पूरा गर्न समय यत्तिकै अनुकूल हुँदै गयो भने सहज हुनेछ ।”
नेपाल पर्यटन बोर्डको तथ्याङ्कानुसार सन् २०२२ को ११ महिनामा पाँच लाख ४६ हजार तीन सय ४२ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । कोभिड–१९ महामारीका कारण घटेको विदेशी पर्यटकको सङ्ख्या सन् २०२२ मा भने बढ्दो क्रममा रहेको तथ्याङ्कले देखाउँछ । महामारीपूर्व सन् २०१९ मा ११ लाख ९७ हजार ९१ जना पर्यटक नेपाल आएका थिए । तर सन् २०२० मा कोरोना महामारीले विदेशी पर्यटकको सङ्ख्या ८१ प्रतिशतले कमी आई दुई लाख ३० हजारमा खुम्चिएको थियो ।
त्यसैगरी २०२१ मा एक लाख ५० हजार नौ सय पर्यटक नेपाल आएका थिए । जुन सन् २०२० को तुलनामा ३४ दशमलव चार प्रतिशतले कमी हो ।
पर्यटन सचिव अधिकारीले कोभिडले प्रभावित भएको पर्यटन उद्योग विस्तारै लयमा फर्किन थाल्नु राम्रो सङ्केत भएको बताउँदै सरकार निजी क्षेत्र र बोर्डबीचको समन्वय र सहकार्यमा पर्यटन प्रवद्र्धनका नयाँ कार्यक्रम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले छिमेकी मुलुक भारत र चीनको पर्यटन बजारका साथै मध्यपूर्वी मुलुकलाई प्राथमिकता राखेर बोर्डले रणनीतिक प्रवद्र्धनको अभियान चलाउनुपर्नेमा जोड दिनुभयो ।
पर्यटनको बजार रणनीति बनाउँदा विश्वको अर्थतन्त्र र पर्यटनको योगदानका आधारमा प्रवद्र्धन गरिनुपर्ने सचिव अधिकारीको सुझाव छ । पर्यटन बोर्डका उपाध्यक्ष चन्द्रप्रसाद रिजालले पर्यटन क्षेत्रको समग्र विकासका लागि नीतिगत सुधारको खाँचो औँल्याउनुभयो ।
बोर्डका कार्यकारी प्रमुख डा धनन्जय रेग्मीले नेपालको आर्थिक विकासमा पर्यटनको ठूलो योगदान रहेको उल्लेख गर्दै विदेशी मुद्रा आर्जन तथा रोजगारी सिर्जनाका लागि पर्यटन उद्योगलाई राज्यले थप प्राथमिकता दिनुपर्ने बताउनुभयो । होटल सङ्घ नेपाल (हान)का अध्यक्ष सिर्जना राणाले महामारीले सबैभन्दा बढी प्रभावित पर्यटन क्षेत्रको पुनःरुत्थानका लागि प्रभावकारी अभियान चलाउन जरुरी भएको बताउनुभयो ।
सो अवसरमा नेपालको पर्यटनलाई पुनः जीवन दिन संस्थागत योगदान गर्ने हान टे«किङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान), नेपाल पर्वतारोहण सङ्घ, नेपाल एशोसिएशन अफ ¥याफिटिङ एजेन्सिज (नारा), नेपाल–भारत चेम्बर अफ कमर्शलगायत संस्थालाई सम्मान गरिएको थियो । बोर्डले हरेक वर्ष प्रकाशन गर्ने ‘इन्फोकस २०२२’ को पनि विमोचन गरिएको थियो । रासस