उदयपुरको गाउँमा हात्ती प्रवेश गर्न थालेपछि त्रास

उदयपुरको गाउँमा हात्ती प्रवेश गर्न थालेपछि त्रास

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रको वडा नं १ जोगिदह र २ को खैजनपुर क्षेत्रमा रातिको समयमा हात्तीको बथान गाउँ प्रवेश गर्न थालेपछि अहिले गाउँले त्रसित भएका छन् ।

खैजनपुर र जोगिदह क्षेत्रमा दैनिक रातको समयमा छभन्दा बढी हात्तीको बथान गाउँमा पवेश गरेर खेतीबाली नोक्सान गर्ने गरेका कारण आफूहरु त्रसित भएर रात काट्न बाध्य हुनु परेको खैनजुरका उदय चौधरीले बताउनुभयो ।

एक हप्तादेखि रातको समयमा हात्तीको बथान नजिकैको चुरिया जङ्गलबाट गाउँ प्रवेश गर्ने गरेको बताइएको छ । हात्तीको बथान गाउँ प्रवेश गर्न थालेपछि आफूहरु रातभरि जाग्रम बस्नुपर्ने बाध्यता रहेको खैजनपुरकै देवलाल चौधरीले बताउनुभयो ।

जोगिदहको मोथ्याई तथा सोमबारे क्षेत्रमा समेत केही दिनदेखि हात्तीको बथानले नोक्सानी गर्न थालेको छ । गाउँ प्रवेश गरेर नोक्सानी गर्न थालेपछि गाउँलेहरु रातभरि हात्तीको डरले एक ठाउँमा भेला भई बस्न बाध्य हुनुपरेको जोगिदह मोथ्याईका देवराज कार्कीले बताउनुभयो ।

शीतलहरका कारण विद्यार्थीको उपस्थिति न्यून
चिसो बढेसँगै शीतलहरसमेत सुरु भएपछि जिल्लाको त्रियुगा नगरपालिका, चौदण्डीगढी तथा बेलका नगरपालिका क्षेत्रका विभिन्न सरकारी तथा निजी विद्यालयमा विद्यार्थीको उपस्थिति न्यून रहेको छ ।

चिसोका कारण अधिकांश आधारभूत तहमा अध्ययन गर्ने विद्यार्थीको उपस्थिति न्यून बन्न पुगेको छ भने माथिल्लो तहका कक्षामा पनि विद्यार्थीको सङ्ख्या न्यून हुन थालेको विद्यालयका शिक्षक बताउँछन् ।

त्रियुगाको जनता मावि जोगिदह, चौदण्डीगढीको जनतामावि हडिया, सिवाई सुन्दरपुर माविसहित सप्तकोसी मावि बेलका क्षेत्रमा अहिले चिसोका कारण धेरै विद्यार्थी विद्यालयमा उपस्थित हुन छाडेको विद्यालयका शिक्षक बताउँछन् ।

जनता आधारभूत विद्यालय चौदण्डीगढी ज्यामिरेका शिक्षिका देवी कार्कीका अनुसार चिसो बढ्न थालेपछि तल्लो कक्षाका अधिकांश साना विद्यार्थी विद्यालयमा उपस्थिति हुन समस्या भएको छ ।

जिल्लाको पहाडी क्षेत्रको रौतामाई गाउँपालिकाको बोलुङखा, चिसापानी, सल्ले, नामन्त, डहर क्षेत्रमा पनि चिसोका कारण विद्यालयमा विद्यार्थीको उपस्थिति न्यून रहेको पञ्चनकन्या आधारभूत विद्यालय बोलुङखाका शिक्षिका तारा मगरले बताउनुभयो ।

चिसो बढेका कारण त्रियुगा नगरपालिकाले नगरभित्रका सरकारी विद्यालयमा यही पुस १८ देखि २३ गतेसम्म बिदा गरेको छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्