कोशी राजमार्गमा तन्नेरीहरुको लाहुेर सपना

कोशी राजमार्गमा तन्नेरीहरुको लाहुेर सपना

विराटनगर । कोशी राजमार्ग जहाँ थुप्रै युवाहरु लाहुरे बन्ने हुटहुटीले दौडिरहेका हुन्छन् ।

विहान होस् या साँझ लाहुरे बन्ने र सुनौलो भविष्य बनाउने लक्ष्यले आफ्नै रफतारमा दौडिरहेका भेटिन्छन् । धरानको तीनकुनेमा साँझपख भेटिएका विश्व राई बेलायती आर्मीको तयारीमा छन् ।

सुनसरीको इटहरी उपमहानगरपालिकास्थित कस्तुरी एकेडेमीमा बिबिएस प्रथम वर्षमा अध्ययनरत १८ वर्षिय राईलाई लाहुरे बन्ने सपनाले तानेर साँझको समय सुनसरीको धरान बजारको तीनकुनेको सडकसम्म पु¥याउँछ।

बाल्यकालमा पढाइका लागि भोजपुरदेखि अरूण तरेर संखुवासभाको सदरमुकाम खाँदबारी पुगेका थिए। त्यही बेलादेखि नै लाहुरे बन्ने सपना देखेका विश्व बताउँछन्। त्यही सपना बोकेर व्यायाम र दौडका लागि उनी दैनिक साँझ ५ बजे घरबाट निस्किन्छन्।
‘लाहुरे बन्ने मेरो सानैदेखिको सपना हो,’ विश्वले भने, ‘बिहान कलेज जान्छु, दिउँसो पढाइलाई फोकस गर्छु। दैनिक साँझको ५ बजे रनिङका लागि निस्किन्छु।’

विश्वसँगै उनका साथीहरू इटहरीको तरहराबाट दौडेर धरानको बुढासुब्बा मन्दिरसम्म पुग्ने गरेका छन्। नेपालमा पढाइको प्रमाणपत्र हातमा भए पनि अवसर कम भएकाले लाहुरे बन्ने सपना सजाएको उनीहरू बताउँछन्।

विश्वसँगै तीनकुने रोडमा दैडिएका कतिका लाहुरे हुने सपना साकार भइसकेको छ। कतिको सपना विलिन भइसकेको छ।

‘मसँगै दौडिने केही सिंगारपुरे लाहुरे भए, कोही नेपाली लाहुरे,’ उनले सुनाए, ‘कसैको सपना यतै विलाएको पनि छ।’ लाहुरे बन्न तालिम केन्द्रहरू पनि धेरै छन्। तर‚ विश्व घरमै बसेर तयारी गरिरहेको बताउँछन्।
खोटाङका १७ वर्षीय लक्ष्मण गुरुङ पनि विश्वसँगै साँझ धरानको तीनकुने सडकखण्डमा दौडिन्छन्। सिंगापुरे लाहुरे बन्ने सपना बोकेर खोटाङबाट धरान झरेका उनी कक्षा १२ मा अध्ययनरत छन्। उनी धरान रोडमा पढाइ र लाहुरे सपनालाई एकै साथ लिएर दौडिरहेका भेटिन्छन्।

लाहुरे भएर पैसा कमाउने र परिवारलाई सुखमा राख्ने सपना सजाएका युवाहरू कम छैनन्। धनकुटा, पाँचथर, ताप्लेजुङ, संखुवासभा, भोजपुर, खोटाङलगायत जिल्लाबाट धरान झरेर तालिम केन्द्रमा नै बसेर तालिम लिनेहरूको संख्या प्रसस्तै छ। यस्तै संख्यामा घरमा नै बसेर व्यायम गर्नेहरू पनि छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्