धुलाबारी-भद्रपुर कालोपत्रे हुँदा विमानस्थल जान सजिलो

धुलाबारी-भद्रपुर कालोपत्रे हुँदा विमानस्थल जान सजिलो

झापा । काँकडभिट्टादेखि चन्द्रगढी विमानस्थल पुग्ने सबैभन्दा छोटो दूरीको धुलाबारी-भद्रपुर सडकको सात किलोमिटर खण्ड कालोपत्र भएको छ ।

भारत, भुटान तथा बङ्गलादेशबाट एसियन राजमार्ग हुँदै नेपाल आउने पर्यटकले यो सडक प्रयोग गर्दै आएका छन् । सडकको दूरी १७ किलोमिटर भए पनि भद्रपुर खण्डको तीन किलोमिटर र काँकडभिट्टाबाट धुलाबारीसम्मको पाँच किलोमिटर सडक यसअघि नै कालोपत्र भएको थियो ।

प्रदेश नं १ सरकारको गौरवको मुख्य परियोजनका रूपमा रहेको धुलाबारी-ज्यामिरगढी-चन्द्रगढी सडकको बाँकी दुई किलोमिटर खण्डमा कालोपत्र धमाधम भइरहेको छ भने दुईवटा कल्भर्ट निर्माणको अन्तिम चरणमा रहेको पूर्वाधार विकास कार्यालय झापाका प्रमुख रमेशकुमार श्रेष्ठले बताउनुभयो ।

पूर्वीनाकाबाट नेपाल भित्रिने पर्यटकले विमानस्थल प्रयोग गर्नका लागि यसअघि काँकडभिट्टा-विर्तामोड-चन्द्रगढी सडकको ३० किलोमिटर वा काँकडभिट्टा-चारआली-चन्द्रगढी सडकको २४ किलोमिटर लामो बाटो प्रयोग गर्दै आएका थिए । ती दुई सडकको तुलनामा धेरै यो सडकखण्ड निकै छिटो पर्छ ।

मेचीनगर-१५ का दुर्गा बुढाथोकीले विगतमा पिछडिएको क्षेत्रका रूपमा हेरिने ज्यामिरगढी क्षेत्र यो सडक कालोपत्र भएसँगै सुविधाजनक भएको बताउनुभयो । यो सडकको धुलाबारीबाट भद्रपुर सीमासम्मको नौ किलोमिटर कालोपत्र निर्माणको ठेक्का विसं २०७५ कात्तिक ७ मा हिम्डुङ एण्ड थोकर सरोज जेभीले लिएको थियो । सो सडक २०७९ असार ३१ गते निर्माण सम्पन्न गर्ने गरी रु २५ करोड ३२ लाख ८४ हजारमा ठेक्का लिएको कम्पनीले कोभिड महामारीका कारण समयै निर्माण गर्न सकेको थिएन ।

प्रदेश नं १ सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेटमा निर्माण भएको सो सडक यही फागुनसम्ममा सरकारलाई हस्तान्तरण हुने श्रेष्ठले जानकारी दिनुभयो । “कल्भर्टमा काम भइरहेको छ”, उहाँले भन्नुभयो, “काम दु्रतगतिमा भइरहेको हुँदा अब दुई महिनाभित्रमा सडक पूर्णपमा निर्माण भइसक्छ ।”

रोङ जोड्ने सडक निर्माण सुस्त

प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री आङ्बोले भद्रपुर–ज्यामिरगढी–धुलावारी–गोजाबस्ती–मागुरमाडी–शान्तिनगर–इरौटार सडकको विसं २०७५ मा शिलान्यास गर्नुभएको थियो । भद्रपुर नगरपालिकाबाट इलामको रोङ गाउँपालिकासम्मको ३५ किलोमिटर दुई लेनको सडकको दुईवटा अलग–अलग निर्माण कम्पनीले ठेक्का लिएका थिए ।

ठेक्का लिएका कम्पनीमध्ये हिम्डुङ एण्ड थोकर सरोज जेभीले धुलाबारी चोकबाट भद्रपुरसम्मको सडक निर्माणकार्य अन्तिम चरणमा पु¥याएको छ भने धुलाबारी मोडबाट उत्तर रोङ गाउँपालिकासम्मको २६ किलोमिटर सडकको निर्माण भने सुस्त गतिमा भइरहेको प्रमुख श्रेष्ठको भनाइ छ । इलामको रोङ जोड्ने सो सडक रु ४६ करोड २३ लाख ८२ हजार नौ सय ८३ मा सम्पन्न गर्ने गरी विर्तामोडको कनकाई झापाली जेभीले ठेक्का लिएको छ ।

सडक निर्माणसँगै यस क्षेत्रका जनताको आर्थिक जीवनस्तर उकाशिने प्रदेशका पूर्वसांसद श्रीप्रसाद मैनालीले बताउनुभयो । उहाँले पूर्वीनाकाबाट नेपाल प्रवेश गरेर भद्रपुर विमानस्थल हुँदै देशका विभिन्न स्थानमा जाने विदेशी पर्यटकलाई समेत सहज भएको बताउनुभयो ।

हँडियामा नयाँ पुलको खाँचो

यस सडकको मेचीनगर र भद्रपुर सीमामा पर्ने हँडिया खोलामा नयाँ पुलको आवश्यकता देखिएको छ । एक दशकअघि निर्मित एक लेनको उक्त पुल जीर्ण र साँघुरो भइसकेको छ । पुलको रेलिङ भत्किएका छन् भने दक्षिणतर्फ पुलको मुखमा ठूलो भ्वाङ परेको छ ।

दुईवटा सवारीसाधन ओहोरदोहोर हुन नसक्ने साँघुरो पुलको मुखैमा भ्वाङ परेपछि कुनै पनि बेला त्यहाँ दुर्घटना निम्तिने जोखिम बढेको स्थानीय बताउँछन् । तर भ्वाङ टाल्नेतर्फ कसैको ध्यान जानसकेको छैन । दुई लेनको सडक कालोपत्र भइसकेको अवस्थामा हँडिया खोलाको पुल पनि दुई लेनको हुनुपर्ने भद्रपुर-९ का पूर्व जनप्रतिनिधि कम्पलाल राजवंशीले बताउनुभयो । रासस

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्