काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बाह्य शक्तिहरू सरकारलाई असफल बनाउने प्रयास गरेको टिप्पणी गर्नुभएको छ ।
नेपाल मार्बल व्यापार सङ्घ नेपालको १०औँ अविधेशनमा उहाँले अहिले भर्खरै गठन भएको सरकारलाई असफल बनाएर अस्थिरता निम्त्याउन खोजेको आशङ्का गर्नुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो, “अस्थिरता फेरि फर्काउन खोज्ने, स्थिरता हुनै नदिने, राजनीतिक अस्थिरताकाबीच भएको स्वाभिमानी सरकार निर्माण सानो देखिए पनि ठूलो खुसीको कुरा हो ।” उहाँले नेपालको विकासमा चासो नहुने बाह्य शक्तिलाई राजनीतिमा चाहिँ किन चासो भएको भन्दै आश्चर्य व्यक्त गर्नुभयो ।
उहाँले मार्बल व्यापारलगायत सबै व्यवसायीका समस्या समाधान गर्न सरकारले न्यूनतम साझा कार्यक्रममार्फत नै कदम अघि बढाउने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा राष्ट्रियसभा सदस्य देवेन्द्र दाहालले व्यवसायीका समस्या समाधानमा आफूले विगतदेखि नै सहयोग गर्दै आएको र आगामी दिनमा पनि कानुन निर्माण गरी समस्या समाधान गर्न पहल गर्ने विश्वास दिलाउनुभयो ।
कार्यक्रममा बागमती प्रदेशसभा सदस्य किरण थापाले देश र उद्योगी दुवैको हित हुने गरी कानुन निर्माण हुनुपर्नेमा जोड दिनुभयो । त्यसअवसरमा सङ्घका अध्यक्ष लक्ष्मी सङ्ग्रौला, पूर्वअध्यक्ष ओमप्रकाश गोयल, नेपाल निर्माण सामग्री व्यापार सङ्घ काठमाडौँका अध्यक्ष अच्युत केसी कटुवालले व्यवसायीमाथि सरकारले थिचोमिचो गरिरहेको गुनासो राख्नुभयो ।
फोटो:फाइल