विराटनगर । हिक्मतकुमार कार्की प्रदेश १ सरकारको मुख्यमन्त्रीमा एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त भएका छन् । उनलाई आइतबार प्रदेश प्रमुख पर्शुराम खापुङले नियुक्त गरेका हुन् । प्रदेश १ ले पहिलो कार्यकालमा तीनवटा मुख्यमन्त्री पाइसकेको छ । दोस्रो कार्यालयका लागि झापा गौरादहका कार्की चौथो मुख्यमन्त्री अथवा प्रदेश सरकारको बाघडोर सम्हाल्ने चौंथो मुख्यमन्त्री भएका हुन् ।
कार्कीको राजनीतिक यात्रा
अनेरास्ववियुको विभिन्न तहका कमिटिहरुको नेतृत्वदायी भूमिका खेलेको कार्कीले २०५५ सालमा केन्द्रिय अध्यक्षको जिम्मेवारी सम्हालेका थिए । स्वतन्त्र विध्यार्थी युनियनको समेत नेतृत्व (सभापति नेपाल ल क्याम्पस) सम्हालेका कार्कीले विद्यार्थी विषेश जिल्ला कमिटिको सचिव, उपत्यका समन्वय कमिटीको सदस्य, मेची अन्चल समन्वय कमिटी सदस्यको जिम्मेवारी लिने अवसर पाएका थिए ।
२०७१ सालमा सम्पन्न भएको नेकपा (एमाले) को नवौं राष्ट्रिय महाधिवेशन बाट केन्द्रीय कमिटीमा प्रवेश गरेका उनी पार्टीको पाँचौं राष्ट्रिय महाधिवेशन देखि स्वयंसेवकको केन्द्रीय कमान्डमा प्रदिप नेपाल, विष्णु रिमाल, बिनोद श्रेष्ठ, रुपनारायण श्रेष्ठ, विन्दा पाण्डेसंगै महत्त्वपूर्ण भुमिकामा रहेका थिए । पार्टीको महाधिवदेशनमा स्वयसेवक पर्यवेक्षक, प्रतिनिधि हुँदै केन्द्रिय राजनीतिमा आवद्ध भएका कार्की नवौं महाधिवेशन बाट केन्द्रीय कमिटीमा निर्वाचित भएका थिए ।
२०७१ दखि २०७३ साल सम्म मेची अञ्चल समन्वय कमिटिको ईन्चार्जका रुपमा जिम्मेवारी बहन गरेका कार्की संविधान अनुकुल संघीयता कार्यान्वयन गर्ने गरि पार्टीको प्रादेशिक संरचनामा संगठन रुपान्तरण गर्ने चरणमा प्रदेश संगठन कमिट,प्रदेश नम्बर १ को प्रचार विभाग प्रमुखको भुमिकामा थिए ।
संसदीय यात्रा सुरु
पार्टीको ‘ग्राउण्ड लेभल’ बाट राजनीतिमा छलाङ हानेका कार्की २०७४ सालको निर्वाचनमा झापा प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर ५ (१) बाट प्रत्यक्ष निर्वाचित भए । प्रदेश सरकारको स्थापनाकालीन मन्त्री परिषदमा आन्तरिक मामिला तथा कानुन मन्त्री भएका थिए ।
करिव ३ वर्ष ७ महिना आन्तरिक मामिला तथा कानुन मन्त्रीका रुपमा कार्यकाल सम्पन्न गरेपछि तत्कालिन नेकपा पार्टी भित्रको आन्तरिक विवादले पार्टी फुटसम्म पुगेपछि सरकार गुमेको थियो । संघमा फेरिएको सत्ता समिकरणसँगै २०७८ साल भाद्र १० गते सरकारबाट बाहिरिएपछि उनी कार्की एमालेको दशौ राष्ट्रिय महाधिवेशनबाट केन्द्रिय कमिटी सदस्यका रुपमा पुनः निर्वाचित भएका थिए । अहिले नेकपा (एमाले) को स्थायी कमिटी सदस्य तथा प्रदेश नम्बर १ को सह–ईन्चार्जको भुमिकामा छन् ।
मन्त्री हुँदा सबैका सहज
स्थापनाकालको पहिलो प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्री हुँदा कार्की सबैका लागि सहज मानिएका थिए । विभागिय मन्त्रालय भित्र पर्ने सुरक्षा, विपद् व्यवस्थापन, पत्रकारका लागि मात्रै नभई आम नागरिकका लागि मन्त्री कार्की सहज रुपमा प्रस्तुत भएका थिए । उनको स्वभावलाई धेरैले रुचाएका थिए । मुख्यमन्त्रीको जिम्मेवारी उनैले पाउने निर्वाचनपछिको दृष्यले देखाएपनि बहुमत पुग्ने अवस्था थिएन । एकाएक केन्द्रमा फेरिएको राजनीतिक समिकरणले प्रदेशमा कार्कीलाई मुख्यमन्त्री बाटो सहज रुपमा खुलेको थियो । सरकार समर्थन गरेको दोस्रो ठुलो दल नेकपा माओवादी केन्द्रले मुख्यमन्त्रीमा समर्थन गरेसँगै कार्कीको एउटा सपना पूरा भएको छ । यद्यपी सरकारको नेतृत्वमा रहँदा कार्कीले गर्ने कामले आगामी दिन उनको विषयमा थप मूल्यांकन हुने बाटो कोर्नेछ ।