विराटनगर । प्रदेश नंं. १ मन्त्रिपरिषद्को बैठकले प्रदेश सरकार सञ्चालनका क्रममा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेको छ ।
मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले सरकार सञ्चालनका क्रममा आजका मितिसम्म सहयोग गर्ने सम्बद्ध पक्षलाई धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको हो ।
प्रदेश प्रमुखबाट नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया सुरु भएपछि बसेको मन्त्रिपरिषद् बैठकमा धन्यवाद ज्ञापनको प्रस्ताव गरिएको थियो ।
उक्त प्रस्तावबमोजिम मुख्यमन्त्री राजेन्द्रकुमार राई नेतृत्वको सरकारलाई सहयोग गर्नेलाई धन्यवाद दिने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता एवं यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्रप्रसाद घिमिरेले जानकारी दिए ।
प्रदेश नं. १ मा राजेन्द्रकुमार राई मिति २०७८ कात्तिक १६ गते मुख्यमन्त्री नियुक्त भएका थिए । उनी प्रदेश नं. १ को तेस्रो मुख्यमन्त्री हुन् ।