विराटनगरको दि जुद्ध म्याच : ‘मजदुरको भोलि उठी कहाँ जाने केही थाहा छैन’

<span class='c1'>विराटनगरको दि जुद्ध म्याच : ‘मजदुरको भोलि</span> <span class='c2'>उठी कहाँ जाने केही थाहा छैन’</span>

सुजता लिम्बु
विराटनगर । ड्यूटी समय बिहान ७ बजे देखि ११ बजेसम्म
टिफिन समय : बिहान ९ बजेदेखि ९ः१५ सम्म
दिउँसो १ः०० बजे देखि ५ बजेसम्म
टिफिन समय दिउँसो ३ बजे देखि ३ः२५ सम्म

विराटनगर– १६ स्थित दि जुद्ध मैच फैक्ट्री (सलाई मिल) प्रवेशद्धारको भित्र पट्टीको भित्तामा रातो अक्षरले समय तालिका तोकर लेखिएको छ । कुनै समय भित्तामा कोरिएको समयको रफतारसँगै काम गरेर नथाक्ने जुद्ध सलाई मिलका मजदुरहरु अहिले फुर्सदीला छन् ।
सायद यही समयसँगै कामदारहरुलाई चल्न सिकाउने अधिपतिहरु आफैले समय चिन्न नसकेर होला अहिले फैक्ट्री देहावसानको अवस्थामा पुगेको छ । सँधै चलायमान रहने फैक्ट्रीका मेसिनरी समानहरु खिया र जालोले ढाकिएको छ । भवनहरु भत्किएर कुरुप भएका छन् । वरिपरि झाडी र माकुराले डेरा जमाएका छन् । सलाइ फैक्ट्रीकै अगाडी ठिंग उभिएको मन्दिर भित्रको भगवान नै मौन भएर उद्योगको तमासा हेरिरहे झैं देखिन्छ । विश्वकर्मा बाबाको मन्दिरलाई मजदुरको दुःख नदेखुन भने र्झैँ गरी पुरानो जस्ताको पाताले छोपिएको छ । यस्तै जीवन र मरणको दोसाँधमा पुगेको सलाई मिलले आफूसगँै छेउछाउका वस्ती र वर्षौ लगानी गर्ने कामदारहरुलाई दोधारे अवस्थामा पु¥याएको छ ।

२००२ सालमा स्थापना भएको सुनसरी–मोरङमा पर्ने जुद्ध मैच फैक्ट्री अहिले भत्काउन सुरु गरिएको छ । योसँगै त्यहाँ बस्दै आएका कर्मचारीहरु कहाँ जाने कसो गर्ने भन्ने द्विविधामा परेका छन् । सात बिघा १६ कट्ठा १३ धुर जग्गासँगै लिलाम भईसकेको छ । नेपाल बैंकले शारडा गु्रपलाई लिलामी बिक्री गरेको उद्योगमा तत्कालिन समय कार्यरत १० जना मजदुरहरु अझै पनि पारिश्रमिक पाउने आसमा उद्योगको रेखदेख गर्दै बसिरहेका छन् ।

सम्झनामा मात्रै उद्योगको रौनक
कुनै समय जुद्ध सलाइ फैक्ट्री भित्र र बाहिर मजदुरहरुको आउनेजाने ताँतीले पाइला राख्ने ठाँउ हुँदैन थियो । तर, अहिले त्यो भिड र रौनकता त्यहाँ काम गर्ने मजदुरहरुका लागि सम्भनामा मात्रै सिमित भएको छ । सधैं सलाइ मिलको प्रवेशद्धार कुरेर बस्ने नरबहादुर गुरुङको उर्जाशिल उमेर सलाईको बारुद झैं बलिसक्यो । उनी १८ वर्षको कलिलो उमेरमा रामेछापदेखि काम खोज्दै विराटनगर हान्निए । अहिले ६६ वर्षका भएका छन् । जीवनभरको उमेर र जवानी त्यही सलाइ उद्योगको मेसिनको पार्टपुर्जामा पसिना बगाएर बित्यो । उद्योग लिलाममा परेसँगै अभावको रापले पिल्सिएको नरबाहादुरलाई उमेरका खुड्किलाले जति नेटो काट्दै जान्छ त्यति नै काम नपाइएला भन्ने चिन्ताले पिरोल्दै जान्छ । उद्योग डुबेसँगै उनलाई काम छोडेर अन्तै जाउ जस्तो नभएको पनि होइन ।

तर, संघर्षको पहिलो यात्रा यही उद्योगबाट सुरु गरेकाले उनलाई पारिश्रमिक नपाउँदा पनि छोड्न मन नलागेको उनी बताउछन् । अहिले उनी उद्योग भित्र रहेको क्वाटरमा भाडामा बस्नेहरुसँग रकम उठाएर त्यहीबाट आउने पैसाको भरथेगमा छन् । ‘मेरो कलिलो उमेर यहीँ विताए, अब त कपाल फुल्यो, उमेरले डाँडा काटयो । अन्त काम पाइन्न त्यही भएर पनि अब कतै जाने इच्छा त छैन, उनी भन्छन्,‘अहिले त यहाँ भित्र बस्नेहरुलाई भाडा उठाउँछु, पानी, बत्तीको तिरेर बाँकी रहेको पैसाले बाँचेको छु ।’ त्यसो त उद्योग भित्र रहेका पार्टपुजाहरु उनीसगैँ बस्दै आएका मजदुरहरुको भरमा छ । उनले ०६६ साल देखि पारिश्रमिक पाएका छैनन् । कम्पनिले जम्मा रकम कति दिन्छ भन्ने एकिन पनि छैन ।

कुनै समय ५ जनाको परिवार थेग्ने उद्योगको क्षमता यस्तो हुन उद्योग भित्र राजनीति प्रवेश गरेर नै क्षति भएको बताउछन् । दशकौ देखि ज्याला पाउने आशमा रहेकोे उनलाई ८४ वर्ष अगाडी फ्याक्ट्री स्थापना गर्ने आनन्दराज श्रेष्ठको सम्झना गर्छन् । श्रेष्ठ हुन्जेल उद्योगको रौनकता बेग्लै रहेको बताउने उनी श्रेष्ठको निधनसँगै उद्योगले पनि जिउँदो लास झैँ भएको सुनाउछन् । उनको निधनसँगै उद्योगको अवस्था राजनीतिक दलले खेलेको नराम्रो खेलले सकिएको उनले गुनासो सुनाए । ‘आनन्दराज श्रेष्ठ हुँदा यहाँको रौनक नै बेग्लै थियो, सिस्टममा थियो । जब उहाँको मृत्यु भयो उहाँसँगै कम्पनी पनि अन्तिम अवस्थामा पुग्यो,’उनीविगत सम्झदै सुनाउछन्,‘अब त सबै सम्झनामा मात्रै रहने भयो ।’ यता, ६६ वर्षिय मानबहादुर गुरुङको पनि सलाई उद्योगमा पसिना र उमेरको लगानी नरबहादुरको भन्दा कम छैन । तेह्रथुमबाट सुनौलो भविष्यको खोजी गर्दै विराटनगर भित्रिएका उनी उद्योग चल्दा गुजारा राम्रै चलिरहेको थियो । तर, एकाएक उद्योग लिलामीमा गएसँगै आफूसहित परिवार कसरी पाल्ने भन्ने प्रश्नको संघारमा पुगे ।

कम्पनी बन्दभएसँगै अभाव र अप्ठ्यारो परिस्थिति झेल्दै आएका मानबहादुरको परिवारलाई अब पाउने रकम चुक्ता गरिदिए उद्योगको घर खाली गरेर अन्तै बस्ने तयारी रहेको सुनाउछन् । ‘कम्पनी लिलामी भएपछि नयाँ मालिक आउनुभएको छ, घर खाली गर्नुभन्ने सूचना पनि आएको छ । अब पाउने रकम चुक्ता गरिदिए बाहिर निस्किएर केही गर्ने तयारी त हो,’उनी सुनाउछन् । तर, पैसा नदिइ त कसरी खाली गर्नु ? कहाँ जानु ? खाली गर्ने हो । हाम्रो पैसा आउनुप¥यो ।’ त्यही उद्योगमा दशकौँ बिताएकी ज्ञानु थुलुङका् पनि दुःखको पहाड नरबहादुर र मानबहादुरको भन्दा सानो छैन । उनको श्रीमान अर्थात भगीराज थुलुङको सलाइ मिलको मेसिनसँग ३९ सालदेखिको साइनो छ । भने, उनको ५० सालदेखि सलाइ मिल भित्रको जमिनसँग नाता जोडिएको छ । उनले पनि फुर्सदको समय श्रीमानलाई साथ दिन फ्याक्ट्री जाने गरेको बताउँछिन् ।

‘दशकौँ देखिको साइनो छ यो माटोसँग नुन देखि बाससम्मको कम्पनीले पैसा नदिए पनि आफू छुच्चो बनेर यहाँको समान कुरेर बसेका छाँै,’उनी सुनाउछिन्,‘अब १५ दिनमा घर खाली गर्नु भनेको छ, नयाँ मालिकले पैसा आउने पैसा चुक्ता गरे हामी खाली गर्छौ ।’ विभिन्न राजनीतिक खिचातानीसँगै कम्पनीको रेखदेख गर्न आउने नेतृत्वको फटाइले पनि उद्योग लिलामीमा पर्ने अवस्थामा गएको उनको अनुमान छ । उनी सुनाउछिन्,‘एकजना राई सर आउनुभएको थिया, उहाँले राम्रो गर्दै हुनुुहन्थ्यो । तर, उहाँलाई टिक्न दिएन पछि आउनेहरु घाटा भयो भन्दै जान्थे, कमाएर जान्थे वा गुमाएर पत्तो पाइएन ।’

ऋण असुली न्यायाधिकरणले माघ ३ गते डोर खटाएसँगै अहिले त्यहाँ बस्दै आएको परिवारले तत्कालिन फ्याक्ट्रीमा २०६१ सालसम्म काम गर्दै आएका पुराना मजदुरहरु अहिले पनि त्यहि बसोबास गर्दै आएका छन् । त्यसो त कतिसँगै काम गरेका साथीहरु पारिश्रमिक पाइएला भन्ने आसामा देहात्याग गरिसकेको मानबाहादुर सुनाउछन् । ्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्