विराटनगरमा सडक पार्किङ निषेधको सहि निर्णय

विराटनगरमा सडक पार्किङ निषेधको सहि निर्णय

विराटनगर । विराटनगर महानगरपालिकाले अति व्यस्त हुने बजार क्षेत्रका सडकलाई खाली गराएर आवागमन सहज बनाउने अभियानको थालनी गरेको छ । जसले शहरलाई खुल्ला, सहज र शान्तपूर्वक आउजाउ गर्ने वातावरण सिर्जना गराउने उद्देश्यलाई समेट्छ । व्यस्त बजार क्षेत्रका सडकको पार्किङ व्यापारको दृष्टिकोणले सहज-असहज दुवै तर्कसँग सहमत होलान् । तर, शहर भित्रको वातावरणलाई सहज बनाउनु पर्ने पक्ष महत्वपूर्ण हुनेछ । महानगर र त्यसमा पनि प्रदेशको राजधानी विराटनगर अव्यवस्थित पार्किङ मात्रै नभई अव्यवस्थित सवारी आवागमनको चापमा छ । जथाभावी सवारी प्रवेश गर्ने, सिटी सफारीको चापले सडकलाई छेक्ने मात्रै नभई सडकमा गरिने पार्किङले शहरीया पैदल यात्रुलाई तनावको स्थिति सिर्जना गरिदिने गरेको छ ।

कतिपय यस्ता क्षेत्र पनि छन्, जहाँ विदेशी पाहुनाले विराटनगरमा पाईला टेकेर होटलसम्म पुग्ने सडक पनि पार्किङमा प्रयोग भईरहेका छन् । स्वार्थसँग जोडिएको यस्तो पार्किङ कार्य आम विराटनगरवासीका लागि आक्षेपपूर्ण हुनसक्छ । जस्तै विराटनगर विमानस्थलबाट निस्कनसाथ एयरपोर्ट रोडमा खोलिएका होटलमा पुग्ने सेवाग्राहीको पार्किङस्थल सडक नै बन्ने गरेको छ । साँझ वा बिहान विराटनगर आउनेहरुले गाडीको भीड छिचोल्दै मुख्य राजमार्ग टेक्नुपर्ने अवस्था छ । बजार क्षेत्रमा पार्किङ व्यवस्थापन गरिरहेको महानगरले एयरपोर्ट रोडको साँझपखको पार्किङलाई समेत ध्यान दिनुपर्दछ ।
महानगरले अहिले ट्राफिकचौक–जलजलामोडसम्मको पार्किङ व्यवस्थापनका लागि सार्वजानिक अवधारणा अगाडी सारेको छ । कोहि व्यक्ति वा सेवाग्राही या त व्यापारीले निश्चित तोकिएको स्थानमा पार्किङ गरेर आफ्नो लक्ष्य अनुसारको गन्तव्यसम्म पुग्नुपर्नेछ । सडकमै पार्किङ गरेर खुरुरु पसल पस्ने सेवाग्राहीले तोकिएको सार्वजानिक पार्किङस्थलमा सवारी राखेर केहि मिनेट हिड्नु सामान्य कुरा नै हो । यो एक हिसाबले सवारीबाट ओलिएर शारिरीक रुपमा तन्दुरुस्ती हुने वातावरण पनि हो । अर्कोतर्फ सार्वजानिक पार्किङस्थलको विकास र शहरी वातावरण निर्माणका लागि नयाँ योजनाको प्रारुप बनाउने दवावको पनि काम गर्नेछ ।

सडकमै पार्किङ गर्दा मात्रै सेवाग्राही आउने हैनन् । केहि दुरीको पार्किङबाट पनि राम्रो सामान लिन आउने सेवाग्राही सोचेका पसलसम्म पुग्छन् । त्यति मात्रै नभएर नयाँ संरचना निर्माणका क्रममा बेसमेन्ट पार्किङको अवधारणा कार्यन्वयनका लागि ढोका समेत खुल्नेछ । यदि व्यस्त बजार क्षेत्रको सडक पार्किङमा प्रयोग गरिरहँदा नयाँ विकल्पको खोजी भएन भने त्यहि बजार साँघुरो हुँदै जान्छ र नयाँ बजार विस्तारको वातावरण सिर्जना हुन्छ । नयाँ बजार विस्तार हुनु नराम्रो हैन तर त्यसको असर त पुरानै स्थानमा हुनेहरुलाई पर्नजान्छ । बजार व्यवस्थापनका लागि सुरु भएको सडक निषेधित पार्किङ अवधारणालाई व्यापारीले उचित विकल्पको मागसहित स्वागत गर्नु नै उचित हुन्छ । आवश्यकताले विकासमा पहल बढाउँछ । महानगरले सडकबाट पार्किङलाई एकिकृत स्थलमा व्यवस्थापन गर्ने भएपछि उसले सेवाग्राहीमुखी व्यवस्थापन गर्नुपर्ने दायित्व अझै बढ्दै जानेछ ।

अहिलेकै व्यवस्थापनले सबैलाई चित्त नबुझेको हुनसक्छ । तर, त्यो भनेर जथाभावी पार्किङ्ग गर्ने कार्यले शहरलाई अस्तव्यस्त समेत बनाउँछ । कार्यक्रम ल्याउनु कार्यन्वयनमा ध्यान दिनु महानगरको सहि कार्य मान्नुपर्ने हुन्छ । तर, यो हैन की यहि व्यवस्थापनले दिर्घकालिन समाधान नहुन सक्छ । त्यसैले पार्किङ व्यवस्थापनलाई सहज बनाउनु स्थानीय सरकार विराटनगरको दायित्व हो । तोकिएको सार्वजानिक पार्किङस्थलमा आएका सेवाग्राहीलाई सेवाबाटै आकर्षण गर्नु व्यापारीको जिम्मेवारी । त्यसका लागि हानथाप गरेर वा सडकमा निस्केर विरोध गरेर शहरको वातावरण कसैलाई सहज हुने छैन । सडक पार्किङको हाम्रो बानीलाई सार्वजानिक पार्किङमा अभ्यस्त बनाउँदा शहरलाई सहज रुपमा अंगाल्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्