भ्रष्टचार गर्नेमाथि कडा सजाय

भ्रष्टचार गर्नेमाथि कडा सजाय

थाई स्माइल एयरलायन्सका प्रतिनिधिसँग गैरकानुनी लाभ लिएको तथ्य बाहिर आएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बनमा परेका छन् । उनलाई विभागिय मन्त्रालयले प्रमाणका आधारमा निलम्बन गर्ने निर्णय गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको यो कार्य सुशासनका लागि सकारात्मक छ ।

महाप्रबन्धक ठाकुरले अन्तराष्ट्रिय हवाई सेवा प्रदान गर्दै आएको थाई स्माइलसँग घुस मागेको प्रकरण सामान्य भने छैन । एयरपोर्ट ग्राउण्डेडको म्याद थप्न घुस माग्ने ठाकुरले नेपालको हवाई सेवालाई थप बदनाम गराउने नियत राखेको देखिन्छ । विदेशी वायुसेवा कम्पनीसँग उनले अग्रेंजी भाषा प्रयोग गरेर ड्रिल गरेको अडियोले हाम्रो देशको भ्रष्टचारलाई अन्तराष्ट्रिय जगतसम्म लान अझै मद्दत गरेको छ ।
यसपछि उनका विषयमा थप अनुसन्धान गर्ने निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग छ । मन्त्रालयले अख्तियारलाई पत्र लेख्दै अनुसन्धानका लागि अनुरोध गर्ने काम गरिसकेको छ । सार्वजानिक ओहोदामा बसेर जहाज ग्राउण्ड गराउने विषयमा समेत घुस माग्ने महाप्रबन्धकमाथि यथेष्ट अनुसन्धान होस् र कारवाही पनि ।

सरकारले भ्रष्टचार नियन्त्रण गर्ने प्रतिवद्धता जनाउँदै शुन्य सहनशीलता अपनाउने योजना ल्याउँछ । तर, कार्यन्वयन गर्ने चरणमा रहेका कर्मचारीतन्त्रले नै घुस मागेका प्रकरण दोहोरिँदा सरकारी कार्यक्रम कार्यन्वयनविहीन देखिने गरेको छ । घुस माग्ने कर्मचारी भएपनि दोष पाउने राजनीतिक दल र सरकारको नेतृत्वकर्ता नै हुने गरेका छन् । नागरिकले देशमा व्याप्त भ्रष्टचार भएको विषयलाई चासोको रुपमा हेर्ने र खबरदारी गर्ने गरेका छन् । तर, सरकारको योजना कार्यन्वयनमा हुने भ्रष्टचारको मुल स्रोत कहाँ हो भन्ने बुझ्न सकिरहेका छैनन् ।

अन्त्यमा नेपालको लोकतन्त्रमा स्वनियम र स्वअनुशासनको पाठ प्रत्येक तहमा रहेका नागरिकले अवलम्बन गर्नुपर्ने देखिन्छ । सेवाप्रवाह गर्ने कार्यालयमा पुग्दा सेवा नपाउने सेवाग्राहीले कार्यस्थलमै प्रश्न सोध्ने बानिको विकास गर्न जरुरी छ । कानुनले तोकेका कागजात पूरा गरेर मात्रै सेवाप्रवाहको कार्यालयमा पुग्ने र तोकिएको अवधीमा काम नभए तत्काल प्रश्न गर्ने बानीको विकास नागरिकमा पनि हुनुपर्दछ । त्यसले मात्रै महाप्रबन्धक ठाकुर जस्ता भ्रष्टचारमा लिप्त कर्मचारी लाइनमा आउने छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्