झापा फुटबलको उर्वरभूमि : अध्यक्ष ओली

झापा फुटबलको उर्वरभूमि : अध्यक्ष ओली

बनियानी । नेकपा (एमाले) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले झापा फुटबलको उर्वरभूमि भएको बताउनुभएको छ ।

झापाको भद्रपुरस्थित मेची रङ्गशालामा आज ‘प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकप–२०७९’ को खेल तालिका सार्वजनिक गर्नुहुँदै अध्यक्ष ओलीले झापाले धेरै अब्बल खेलाडी उत्पादन गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “मैले गोल्डकपलाई गर्नुपर्ने आवश्यक सहयोग गर्छु ।”

आयोजक संस्थाका अध्यक्ष दीपेश ढकालले प्रतियोगिताका आवश्यक तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो । तालिकाअनुसार फागुन ७ गतेको उद्घाटन खेल आयोजक भद्रपुर ब्लेजर्स र जयगाउँ फुटबल क्लब भारतबीच हुनेछ ।

मेची रङ्गशालामा हुने खेलका लागि करिब २० हजार दर्शक बस्न सक्नेगरी स्थायी प्यारापिटको मर्मत, रङरोगन तथा बाँसको अस्थायी प्यारापिट निर्माण कार्य पनि अन्तिम चरणमा पुगेको छ ।

पहिलो संस्करणको भद्रपुर झापा गोल्ड कपको विजेताले नगद रु १३ लाख र उपविजेताले नगद रु सात लाख प्राप्त गर्नेछ । गोल्डकप सम्पन्न गर्न रु एक करोड ५० लाख खर्च लाग्ने अनुमान गरिएको छ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद रु एक लाख, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, उत्कृष्ट प्रशिक्षक, उच्च गोलकर्ता र फाइनल खेलको पहिलो गोलकर्तालाई नगद रु २५ हजार प्रदान गरिनेछ । प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’लाई नगद रु २० हजार प्रदान गरिने आयोजक भद्रपुर झापा गोल्डकपका महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
फोटो :फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्