कानूनी उपचारको खोजीमा विद्यालय व्यवस्थापन समिति

कानूनी उपचारको खोजीमा विद्यालय व्यवस्थापन समिति

ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–४ स्थित श्री सरस्वती माविका शिक्षक शान्तिराम मिश्रलाई बर्खास्त गरेको निर्णय गाउँपालिकाले उल्टाएपछि विद्यालय व्यवस्थापन समितिले निर्णय सच्याउन माग गरेको छ ।

विद्यालयमा उपस्थित नहुने र हुँदा पनि जिम्मेवारी पूरा नगरेकाले विद्यालय व्यवस्थापन समितिले बर्खास्त गरेको शिक्षकलाई गाउँपालिकाले दरबन्दी नै कटाएर अर्कै विद्यालयमा नियुक्त गरेपछि उक्त निर्णय सच्याउन विद्यालय व्यवस्थापन समितिले माग गरेको हो ।

सोमबार सदरमुकाम फुङ्लिङमा पत्रकार सम्मेलनको आयोजना गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तेजबहादुर लिङ्देनले गाउँपालिकाले गरेको गैरकानूनी निर्णय सच्याउन माग गर्नुभयो । एक शैक्षिक सत्रमा ११ दिनको मात्रै हाजिरी रेकर्ड रहेको र पटक पटक सचेत गराउँदा पनि बेवास्ता गरेकाले मिश्रलाई बर्खास्त गरिएको उहाँले बताउनुभयो ।

बर्खास्तपछि नयाँ शिक्षक नियुक्तिका लागि गाउँपालिकाले असहयोग गरेको साथै दरबन्दी नै कटौती गर्ने निर्णयले विद्यालय अन्यायमा परेको उहाँको भनाइ थियो । उहाँका अनुसार गणित विषयको पठनपाठनका लागि निमावि तहमा राहत दरबन्दीमा मिश्र नियुक्त हुनुभएको थियो । विनासूचना १५ दिनभन्दा बढी अनुपस्थित रहेमा पदबाट हटाउन सकिने शिक्षा ऐन, २०२८ को प्रावधानअनुसार मिश्रलाई २०७८ साल माघ ५ गते बर्खास्त गरिएको विद्यालय व्यवस्थापन समितिले जनाएको छ ।

पदीय जिम्मेवारी पूरा नगरी ठेक्कापट्टा तथा विद्युत् सहकारी संस्थामा काम गर्ने गरेको समेत पाइएको समितिले जनाएको छ । गणित विषयको शिक्षक नहुँदा पठनपाठन नै प्रभावित बनेपछि खुला विज्ञापन गरी परीक्षा गराउन विषय विज्ञ तोकिदिन गाउँपालिकालाई पटक पटक पत्राचार गर्दा पनि गाउँपालिकाले अटेर गरेको विद्यालय व्यवस्थापन समितिको आरोप छ ।

बर्खास्तपछि गाउँपालिका अध्यक्षसहित वडाका जनप्रतिनिधिले समेत पटक पटक हाजिर गराउन दबाब दिएको तर हाजिर गराउन विद्यालय तयार नभएपछि गाउँपालिका अध्यक्षले राहत दरबन्दीसहित बर्खास्त भएका शिक्षक मिश्रलाई सिदिङ्वा–३ मा पर्ने श्री जलेश्वरी आधारभूत विद्यालयमा गैरकानूनी रूपमा हाजिर हुन पठाएको विषयप्रति विद्यालयको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमार्फत जनाइएको छ ।

यही माघ १९ गते अध्यक्षको सचिवालयबाट एक पत्रमार्फत दरबन्दीसहित हाजिर हुन पठाएको विद्यालयले जनाएको छ ।

पत्रकार सम्मेलनमा जनाइएअनुसार गणित विषयका शिक्षक मिश्रको २०७८ सालमा ११ दिन मात्र विद्यालयमा हाजिर छ । उक्त अवधिमा मिश्रले पढाउनुभएन । विसं २०७७ साल कक्षा ६ र ७ मा पढ्ने विद्यार्थीको गणित विषयमा सिकाइ उपलब्ध कमजोर पाइएको विद्यालयले जनाएको छ ।

यता शिक्षक मिश्रले आफूलाई साब्लाखुका तत्कालीन वडाध्यक्ष नन्दलाल गौतमले राजनीतिक काण्ड बनाएर बर्खास्त गराएको आरोप लगाउनुभएको छ । मिश्रले भन्नुभयो, “मेरो बिरामी बिदाको निवेदन नष्ट गरेको छ, अनि ११ दिन हाजिर ग¥यो पढाएन भन्न मिल्छ ?”

आफू गाउँपालिकाको कर्मचारी भएकाले पालिकाले नै सरुवा गरेर पठाएको ठाउँमा काम गर्न गएको उहाँले बताउनुभयो । जिल्ला शिक्षा विकास तथा समन्वय एकाइले २०७९ जेठमा उक्त दरबन्दीमा विज्ञापन खुलाएर नियुक्ति गर्न सिफारिस गरेको थियो । जेठ २९ गते विद्यालयमा विज्ञापन खुलाइएको थियो । गाउँपालिकामा विषय विज्ञ तोकी पठाएर परीक्षा सञ्चालन गर्नका लागि छ पटकसम्म विद्यालयले पत्रचार गरेको थियो ।

यद्यपि गाउँपालिकाले परीक्षा गर्नका लागि विषय विज्ञ नपठाउँदा परीक्षा नै हुन सकेको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्