आर्थिकरूपमा देशलाई समृद्ध बनाउन सरकार, निजी क्षेत्र मिल्नुपर्छ : सभामुख घिमिरे

आर्थिकरूपमा देशलाई समृद्ध बनाउन सरकार, निजी क्षेत्र मिल्नुपर्छ : सभामुख घिमिरे

झापा । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आर्थिकरूपमा देशलाई समृद्ध बनाउनका लागि सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुपर्ने बताउनुभयो ।

बिर्तामोड उद्योग वाणिज्य सङ्घले आयोजना गरेको १० दिने अन्तर्राष्ट्रिय औद्योगिक महोत्सवको आज समुद्घाटन गर्दै उहाँले देशको अर्थतन्त्र सङ्कटमा पर्दै गएकाले मिलेर समाधान गर्नुपर्ने बताउनुभयो । उहाँले संसद्मा आर्थिक अवस्था सुधारका लागि भूमिका निर्वाह गर्नेसमेत बताउनुभयो ।

उहाँले महोत्सवको आयोजना गरेर आर्थिक अवस्थालाई चलायमान बनाउन भूमिका निर्वाह गरेको भन्दै बिर्तामोड उद्योग वाणिज्य सङ्घको प्रशंसा गर्नुभयो । उहाँले झापाका पर्यटकीय क्षेत्रको विकासका लागि पनि वाणिज्य सङ्घले भूमिका खेल्ने विश्वास व्यक्त गर्दै आफ्नो तर्फबाट सदैव सहयोग हुने बताउनुभयो ।

यही फागुन १५ गतेसम्म चल्ने महोत्सवमा नेपालसहित भारत, बङ्गलादेश र पाकिस्तानको समेत दुई सयभन्दा बढी व्यावसायिक स्टल रहेका छन् । महोत्सवमा रु ४५ करोड बराबरको कारोबार हुने अपेक्षा गरिएको महोत्सव मूल आयोजक समितिका संयोजक राजु न्यौपानेले बताउनुभयो ।

कार्यक्रममा उपसभामुख इन्दिरा रानामगरले बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक महोत्सव प्रदेश नं १ कै गौरवको विषय भएको बताउनुभयो । उहाँले सबै पक्षको सहकार्यमा महोत्सव सफल हुने विश्वास व्यक्त गर्नुभयो । उपसभामुख रानाले समृद्ध मुलुक निर्माणका लागि कृषि उत्पादनमा लाग्नुपर्ने, महिला उद्यमीले आत्मनिर्भर हुँदै सीप हस्तान्तरण गर्दै जानुपर्ने बताउनुभयो ।

कार्यक्रममा प्रदेश नं १ का उद्योग, कृषि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौला र सार्क चेम्बर अफ कमर्सका उपाध्यक्ष तथा नेपाल वाणिज्य महासङ्घका पूर्वअध्यक्ष चण्डीराज ढकालले आर्थिक मन्दीका बीच पनि महोत्सवको आयोजना गरेर स्वदेशी उत्पादनहरूको बजारीकरण गर्न खोज्नु सराहनीय भएको धारणा राख्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्