शनिबारदेखि धरानमा बुढासुब्बा गोल्डकप, ‘ए’ डिभिजन क्लबहरू सहभागी नहुने

शनिबारदेखि धरानमा बुढासुब्बा गोल्डकप, ‘ए’ डिभिजन क्लबहरू सहभागी नहुने

धरान ।मोफसलको लोकप्रिय प्रतियोगिता बुढासुब्बा टुबोर्ग गोल्डकपको २३औँ संस्करण भोलिदेखि धरान–१६ स्थित रङ्गशालामा सुरु हुँदैछ ।

प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक धरान फुटबल क्लबका अध्यक्ष किशोर राईले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिनुभएको छ । उद्घाटन समारोहमा ब्रिटिस गोर्खा ब्रिगेड ब्यान्डको ९० जनाको टोलीले विशेष प्रस्तुति दिने अध्यक्ष राईले जानकारी दिनुभयो ।

प्रतियोगिताको उद्घाटन खेल आयोजक धरान र युकेएफसी भारतबीच हुने तालिका छ । प्रतियोगितामा आयोजक धरान, युकेएफसी भारत, केबिपिएस बङ्गलादेश, एभेनियर एफसी क्यामरुन, नेपाल पुलिस क्लब काठमाडौँ, बागमती युवा क्लब सर्लाही, केएफटिसी झापा र एन्फा मोरङ गरी कूल आठ टोलीको सहभागिता रहेको छ ।

नेपालको ‘ए’ डिभिजन क्लबहरू मनाङ मस्र्याङ्दी क्लब, थ्री स्टार क्लब, नेपाल आर्मी क्लब, सङ्कटा क्लब, पोखराको सहारालगायत क्लबको भने यस पटक धरानमा उपस्थिति नहुने भएको छ । आयोजकले यस पटक उनीहरूलाई नबोलाएको बताएको छ ।

बाइसौँ संस्करणको बुढासुब्बा टुबोर्ग गोल्डकपको उपाधि मनाङ मस्र्याङ्दी क्लबले जितेको थियो । विसं २०७६ फागुन १७ गते भएको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई ३–१ गोल अन्तरले हराउँदै मनाङले उपाधि जितेको थियो । २०७६ पछि कोरोनाका कारण प्रतियोगिता हुन सकेको थिएन ।

यसपालि पहिलो पटक कोड आइटीसँग सहकार्य गरेर प्रतियोगिताको एप्स बनाएर अनलाइन टिकट काट्न सकिने र खेलहरूको सबै जानकारी दिइने पनि आयोजक क्लबले जनाएको छ ।

फागुन २० गतेसम्म हुने प्रतियोगिताको फाइनल विजेताले रु १० लाख र उपविजेताले रु पाँच लाख पाउनेछ । उत्कृष्ट खेलाडीले रु एक लाख पाउनेछ ।

खेल हेर्न ६५ वर्ष उमेरमाथिका ज्येष्ठ नागरिक र अपाङ्ग बालबाालिकाका लागि प्रवेश निःशुल्क गरिएको आयोजकले जनाएको छ । उद्घाटन खेल तथा क्वार्टरफाइलनसम्मको खेलका लागि प्रवेश शुल्क रु एक सय राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्