धरान ११औँ रनको उपाधि दिपक र राजपुरालाई

धरान ११औँ रनको उपाधि दिपक र राजपुरालाई

धरान । “स्वास्थ्य शरीर, स्वास्थ्य जीवन, स्वच्छ धरान” मूल नाराको साथ ११औँ धरान १० किमी नेवा च्यारिटि रनमा खुला पुरुषतर्फ पाँचथरका दिपक सुहाङ प्रथम भएका छन् भने महिलातर्फ नेपाल पुलिसकी राजपुरा पछाई प्रथम भएकी छिन्।

शनिबार धरानमा सम्पन्न भएको दौड प्रतियोगितामा खुला पुरुषतर्फ प्रथम भएका दिपकले निर्धारित १० किलोमिटरको दृुरी ३२ मिनेट ५ सेकेण्डमा पुरा गर्दै विजेता भए । उनी भारतीय सेनामा कार्यरत छन्। त्रिभुवन आर्मी क्लबका गजेन्द्र राईले ३२ मिनेट २४ सेकेण्डमा दौड पुरा गर्दै दोस्रो भए भने केन्याका धावक सिमेन किप्लागतले ३३ मिनेट १३ सेकेण्डमा दौड पुरा गर्दै तेस्रो भएका थिए ।

महिलातर्फ प्रथम भएकी राजपुराले निर्धारित दुरी ३७ मिनेट ३६ सेकेण्डमा पुरा गर्दै विजेता भइन्। । त्रिभुवन आर्मी क्लबकी पुर्णलक्ष्मी न्यौपानेले ४० मिनेट २८ सेकेण्डमा दुरी पार गर्दै दोस्रो भइन् भने एपिएफकी आशा राउतले ४२ मिनेट २७ सेकेण्डमा दौड पार गर्दै तेस्रो भएकी थिइन् । महिला र पुरुष खुलातर्फका प्रथम, दोस्रो र तेस्रो हुने धावकधाविकाहरुलाई क्रमशः ट्रफीसँगै नगद ६० हजार, ४० हजार र ३० हजार पुरस्कार हात पारेका थिए ।

यस्तै, १६ बर्ष मुनिको दौडमा पुरुषतर्फ कविन राई प्रथम, करण लिम्बु दोस्रो र अनिष लिम्बु तेस्रो भए भने महिलातर्फ नानी तामाङ प्रथम, कुसुम राई दोस्रो र सुना सिद्धिकी तेस्रो भइन्। उनीहरुले क्रमशः नगद ७ हजार, ५ हजार र ३ हजार पुरस्कार पाए।

भेट्रानतर्फ पुरुषमा धर्म महर्जन प्रथम, निमेश क्षेत्री दोस्रो र पाण्डव महतो तेस्रो भए। भेट्रान महिलातर्फ जमुना लिम्बु प्रथम, श्रीलामा भुटिया दोस्रो र शर्मिला राई तेस्रो भइन्। उनीहरुले पनि नगद ७ हजार, ५ हजार र ३ हजार पुरस्कार हात पारेका थिए ।

ह्विलचियर रेसका विजेताहरुलाई पनि पुरस्कार विरतण गरिएको थियो भने सुपर भेट्रानतर्फका विजेता कृष्ण तामाङलाई उपहार दिइएको थियो। विजेताहरुलाई आयोजक धरान रनका संस्थापक सन्तोष राई, अध्यक्ष रमु राई, प्रमुख अतिथि धरानका मेयर हर्क साम्पाङ, अभिनेता दयाहाङ राई, बिबिसि मास्टर सेफ विजेता सन्तोष साहलगायतले पुरस्कार वितरण गरेका थिए।

यसैगरी धरान रनमा आएर दौड प्रतियोगितामा पहिलो पटक टाइमिङ चिपको प्रयोग गरेको थियो । करिब १६ लाख रुपैयाँ खर्चमा टाइमिङ चिप प्रयोगमा ल्याएको थियो । टाइमिङ चिपको प्रयोग नेपालमा नै पहिलो रहेको धरान रनका अध्यक्ष रोमु राईले बताए ।

महिला पुरुष विजेतालाई आयोजक धरान रनले लन्डन हाल्फ म्याराथन इन लन्डनमा सहभागिता गराउने भएको छ ।

प्रतियोगितामा ३ हजार भन्दा बढीले सहभागिता जनाएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्