निजामती अस्पतालको सेवा सातै प्रदेशबाट दिने : मन्त्री मोदी

निजामती अस्पतालको सेवा सातै प्रदेशबाट दिने : मन्त्री मोदी

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले निजामती कर्मचारी अस्पतालको सेवा सातवटै प्रदेशबाट दिइने बताउनुभएको छ ।

उक्त अस्पतालको आज अनुगमनका क्रममा मन्त्री मोदीले निजामतीसहित सबै राष्ट्रसेवक (प्रहरी, संस्थानका कर्मचारी, शिक्षक, जनप्रतिनिधि, खेलाडी)को उपचारको व्यवस्था गर्ने गरी अस्पतालको विकास गर्नुपर्नेमा जोड दिनुभयो । “सातवटै प्रदेशबाट अस्पतालको सेवा सुरु गर्ने योजना छ”, उहाँले भन्नुभयो । अनुगमनका क्रममा मन्त्री मोदीले स्वास्थ्यकर्मीले बिरामीसँग गर्ने व्यवहारमा सुधार गर्नुपर्नेमा जोड दिनुभयो । लामो समयदेखि रोकिएको अस्पताल र कर्मचारीको वृतिविकासतर्फ आफूले ध्यान दिने उहाँको भनाइ थियो ।

सो अवसरमा अस्पतालका कार्यकारी निर्देशक डा विधाननिधि पौडेलले अस्पतालले हालसम्म गरेका कामका बारेमा जानकारी गराउनुभएको थियो । उहाँले अस्पतालले सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको बताउनुभयो । अस्पताललाई अतिविशिष्टिकृत बनाउँदै चिकित्सा विज्ञान प्रतिष्ठानको रुपमा स्थापना गरी विशिष्ट शिक्षण अस्पतालको रुपमा विकास गर्ने तयारी रहेको पौडेलले जानकारी दिनुभयो ।

अस्पतालका उपसचिव कृष्ण सापकोटाले चालू आवमा चार सय शैय्या पु¥याउने बताउनुभयो । उहाँले प्रदेश तहमा अस्पतालको सेवा विस्तार गरी निजामती कर्मचारीलाई सहज रुपमा सेवा उपलब्ध गराउने बताउनुभयो । चालू आव भित्रमा एमआरआई, कार्डियो, युरोलोजी, न्यूरो, रेडियोथेरापी सेवा सुरु गर्ने उहाँले जानकारी दिनुभयो । चीन सरकारको सहयोगमा निर्माण गरिएको सो अस्पतालले २०६५ चैत १६ गतेदेखि बहिरङ्ग सेवा सुरु गरेको हो । अस्पतालमा हाल ७५ प्रतिशत सर्वसाधारण र २५ प्रतिशत कर्मचारी उपचारका लागि आउने गरेका बताइएको छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्