स्वागतयोग्य नाम कोशी

स्वागतयोग्य नाम कोशी

नेपालको संविधान अनुसार राज्य पुर्नसंरचना हुँदा बनेका सातवटा प्रदेशमध्ये १ अंक उल्लेखित भुगोलको रुपान्तरित नाम कोशी प्रदेश न्वारन भएको छ । संघीय ढाँचाको पुनर्सरचनामध्ये अब नेपालको सबैभन्दा पूर्वी भागका १४ जिल्ला कोशी प्रदेश भएको हो । प्रदेशको राजधानी विराटनगर तोकिएपनि प्रदेशले नाम भने छ वर्षपछि मात्रै पाएको हो ।

संसद र सरकारको अभ्यास गरिसकेको लामो समयसम्म नामविहीन थियो । प्रदेश सरकारको एक कार्यकालमा तीनजना मुख्यमन्त्री बनेका थिए । नामाकरणको विषय संसदमा प्रवेश पाउन सकेन । दलहरुबीच खास–खास नामका बारेका कहिल्यै एकिकृत छलफल भएन । त्यसैले प्रदेश संरचना भित्रको सरकार र संसदमा उपस्थित सांसदले अन्य कुनै गतिलो काम गरेपनि नामाकरण गर्न नसकेको विषय उनीहरुको कमजोरीको रुपमा प्रस्तुत हुने गरेको थियो ।

दोस्रो निर्वाचन सम्पन्न भएर त्यसको परिणाम सार्वजानिक हुँदै गर्दा नामाकरणको विषय अझै जटिल हुने अनुमान गरिएको थियो । पहिलो कार्यकालमा नामाकरणको मुद्दामा सामान्य भनाई बाहिर आउँदा पनि दवावको घेरा बढ्थ्यो । सडकमा पहिचान झल्कने नाम राख्नुपर्ने आवाज उठिहाल्थ्यो । लामो समयसम्म यहि अलमल भित्र रुमलिएको प्रदेशको नाम राख्न नसक्दा नागरिकले प्रश्न उठाउन थालेका थिए ।

राजनीतिक मुद्दा थियो पहिचान । नेपालका आम जाति र वासीले पहिचान पाउनु पर्ने मुद्दा माओवादीको सशस्त्र विद्रोहले जगाएको हो । हुन त इतिहासले कोशी प्रदेश नामाकरण भएको क्षेत्र किराँत सभ्यतामा पर्ने देखिन्छ । किराँतीहरु नेपालको पूर्वोत्तर हिमालका मूल निवासी भएको र उनीहरु ७०० ईशा पूर्वमा नेपाल आएर बसोबास गरि अधिपत्य कायम गरेको तथ्य छ । धर्नुविद्यामा निपुण उनीहरु आजका लिम्बु, याख्खा, सुनुवार, राई, कुलुङ, थुलुङ, नाछिरिङ र येल्लुङ रहेको इतिहाससँगै सभ्यता छ ।

नामाकरणको मुद्दा उठ्दा ती जातीहरुले आफ्नो पहिचान फर्काउने नाम राख्नुपर्ने आवाज त उठाए । तर, त्यो मागलाई सम्बोधन गर्ने राजनीतिक विचारलाई समर्थन कहिल्यै गरेनन् । जसको कारण संविधानमा भुगोल र पहिचानका आधारमा नामाकरण गर्ने सुविधाको धार संसद भित्र भुगोल पक्षीय बाहुल्यता हुनगयो । राजनीतिक विचारधाराले मात्रै हरेक कुराको निर्धारण गर्छ भन्ने मान्यता प्रदेशसभा भित्र पार्टीगत संसदको अंकगणितले निर्धारण गरिदियो । जसको परिणाम पहिचान पक्षधर कमजोर हुँदा भुगोलका आधारमा कोशी नामाकरण भयो । सबै राजनीतिक दलको अंकगणितले नामकरण असंभव होला भन्ने अनुमान अब आसामा फर्कियो । सबैलाई सर्वस्वीकार्य नाम कोशी रहन पुग्यो ।

सन्दर्भ जति कोट्याएपनि प्रदेश संरचनाको दोस्रो कार्यकालको सरकार र संसदले नामाकरण टुङ्ग्याउने कार्य सम्पन्न गर्नु स्वागतयोग्य विषय छ । सबैलाई सर्वस्वीकार्य नाम कोशी राखेर प्रदेशवासीलाई नदि सभ्यतासँग जोड्नु सकारात्मक छ । कोशी नदी सभ्यता मात्रै नभई हाम्रो धार्मिक र मौलिक परम्परासँग समेत जोडिने गरेको छ । किराँतहरुको पनि खुवालुङ्ग कोशी नदीको सभ्यता भित्रै पर्ने भएकोले अब सबैले साझा अपनत्वको रुपमा ग्रहण गर्नु नै उचित हुन जान्छ । हाम्रा लागि नाम भन्दा कामको जरुरी छ । अब कोशी प्रदेशवासीको हैसियतमा हातेमालो गर्दै विकासमा फड्को मार्न उत्साहित बनौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्