विराटनगर । प्रदेश १ को नामाकरणका लागि बसेको प्रदेशसभा बैठक २ घण्टाका लागि स्थगित भएको छ।
छलफलमा रहेको कोशी प्रदेशको प्रस्तावमा संशोधन दर्ताका लागि सभामुख बाबुराम गौतमले २ घण्टाको समय दिएका हुन् ।
नेकपा एमालेले प्रस्ताव दर्ता गराएको कोशी प्रदेशमा नेपाली काँग्रेस, माओवादी केन्द्र र राप्रपाले समर्थन गरेका छन् । तर, काँग्रेसकै सांसद सम्शेर राई र विनोद राईले नाममा किराँत जोड्नुपर्ने मत राखेका छन् । यस्तै एमालेका रमेश बस्नेतले पनि किराँत नाम राख्दा जनमतको सम्मान हुने धारणा राखेका छन् ।
माओवादी केन्द्रले पहिचान सहितको नाम आउनु पर्ने आफ्नो चाहना रहेको भएपनि सोही कारण आउन लागेको नामको विषयमा बाधक नबन्ने बताएको छ । नेकपा एकीकृत समाजवादी र जसपाले किराँत, लिम्बुवान, सगरमाथा हुनुपर्ने बताएका छन् ।
कोशी नामसम्बन्धी प्रस्तावमाथि संशोधन दर्ता गराउन सांसदहरूलाई राति साढे ८ बजेसम्मको समय दिइएको छ । नाममाथि संशोधन परेमा त्यसमाथि छलफल गरेर निर्णय हुने र संशोधन प्रस्ताव दर्ता नभए कोशी प्रस्तावको पक्ष र विपक्षमा मत विभाजन गरिने प्रदेशसभाका सचिव गोपाल प्रसाद पराजुलीले जानकारी दिए ।