बातालावाको २६ औँ पर्या साहित्यबारे अन्तरक्रिया सम्पन्न

<span class='c1'>बातालावाको २६ औँ पर्या</span> <span class='c2'>साहित्यबारे अन्तरक्रिया सम्पन्न</span>

काठमाडौँ । साहित्यिक मासिक शृङ्खला ‘बातालाबा’को २६ औँ अङ्क पर्या साहित्यबारे अन्तरक्रिया एवम् पर्यावरणसम्बन्धी कविता वाचन सहित सम्पन्न भएको छ । शनिबार अपरान्ह काठमाडौँस्थित पद्मोदय स्कुलमा आयोजित उक्त कार्यक्रममा पर्यावरण साहित्यकार विजय हितानले पर्यावरण साहित्य लेखनको महत्त्वबारे प्रकाश पार्नु भएको थियो ।

लामो समयदेखि पर्यावरण साहित्यबारे बेलायत र नेपाल केन्द्रित अभियान चलाउँदै आएका हितानले पर्यावरण सन्तुलन तथा वातावरण संरक्षणमा अबको लेखन केन्द्रित हुनुपर्ने बताए । विकास, समृद्धि, शक्ति उपार्जन, चरम सुविधोपभोग जस्ता मानव स्वार्थकेन्द्रित क्रियाकलापले जलवायु परिवर्तन, ग्लोबक वर्मिङ, महामारी जस्ता पर्यावरणीय सङ्कट व्यहोर्नु परिरहेकोले पर्यावरण संरक्षणका लागि लेखकहरु अभियान चलाउनुपर्ने बताए । ‘‘हामीले प्रेम, समाज, राजनीति, धर्म, संस्कृतिबारे धेरै लेख्यौँ, धेरै सुधार पनि ल्यायौँ । तर उत्तिकै महत्त्वको विषय पर्यावरण पनि हो । अहिले जुन रुपमा पर्यावरणमा असन्तुलन आई रहेको छ, त्यसले पृथ्वीको अस्तित्वमाथि नै प्रश्न उठेको अवस्था छ ।’’ लेखकहरुले लेख्नुसँगै पर्यावरण संरक्षणका क्रियाकलापलाई दैनिक जीवनव्यवहारमा समेत अपनाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव डा. धनप्रसाद सुवेदीले पृथ्वी नै बस्न लायक नभए राजनीति, साहित्य सबै अर्थहीन हुने भएकाले पर्यावरणीय मुद्दा आजको सर्वाधिक चासोको विषय रहेको भन्दै पर्यावरण साहित्यबारे प्रज्ञा–प्रतिष्ठानबाट पनि आवश्यक कार्य गर्ने प्रतिबद्धता जनाए । साहित्यकार प्रगति राईले एक प्रसङ्गमा प्रकृति र आदिवासीसँग अत्यन्त लयात्मक सम्बन्ध हुने भएकाले पर्या साहित्य लेख्ने लेखकहरुलाई त्यतापट्टि ध्यान दिन सल्लाह दिइन् । अन्तरक्रियामा सहभागी अर्का कवि शकुन्तला जोशीले शक्तिसम्पन्न वर्गले पृथ्वीको दोहन कम गर्नुको सट्टा पृथ्वीकै विकल्पमा अन्य ग्रहमा बसाइँसराइको सपना देख्नु निम्न वर्गको विनाश भएको भन्दै रोष प्रकट गरिन् ।

कार्यक्रममा अग्रज साहित्यकार कृष्ण बाउसे, दीपा राई पुन, शकुन्तला जोशी, असीम सागर, युग सर्वनाम, मणिराज सिंह, सुधा मिश्र, राधा कार्की, चन्द्र मादेन ‘आन्छेन’ र सोनाम सज्जन किरातीले पर्यावरणसम्बन्धी कविता वाचन गरेका थिए भने वाचित कविताउपर साहित्यकार प्रगति राईले टिप्पणी गरेकी थिइन् । अखिल नेपाल लेखक सङ्घका उपाध्यक्ष स्वप्निल स्मृतिले सञ्चालन गरेको उक्त कार्यक्रममा नेपाल सरकारबाट नेपाल प्रज्ञा–प्रतिष्ठानमा नव नियुक्त सदस्यसचिव डा. धनप्रसाद सुवेदी र प्राज्ञपरिषद् सदस्य डा. कौशिला रिसाललाई सम्मान समेत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्