वसन्त ऋतुमा रङ्गको चाड होलीले नेपाली कला र संस्कृतिको अनुपम आनन्द भरिदिन्छ । संस्कृतिलाई झल्काउने फागु पुर्णिमा एक अर्कामाथि रङ्गहरु भरेर रङ्गिन बनाउने दिन हो । हिन्दू संस्कृतिमा आधारित फागुन शुक्ल पूर्णिमाको दिन नेपाल र भारत तथा अन्य राष्ट्रमा बसोबास गर्नेहरुका लागि महत्वपूर्ण चाड हो ।
पुरानो कटुता र दुश्मनी बिर्सेर एकअर्कासित सम्बन्ध सुधार्ने दिनको रुपमा समेत होलीलाई लिईने गरिएको छ । होली रङ्गहरुबाट प्रेम भाव दर्शाउने नेपालीबीच एकताको पर्वको रुपमा मनाउने गरिएको चाड मानिन्छ । नेपालका पहाडी जिल्लादेखि तराईसम्मका नागरिकले कुनै र कुनै रुपमा यो दिन रङ्ग भरेर उत्साह छर्दछन् । यो वर्षको होलीले सबैलाई स्वागत गर्दै उत्साहमा रम्न आग्रह गरिसकेको छ । पहाड र उपत्यकामा धुमधामसँग होली उत्सव मनाईरहँदा तराईले धुमधाम तयारी गरिरहेको छ ।
यसको पौराणिक मान्यता फरक छ । त्रेता यूगमा भगवान विष्णुका परम भक्त प्रहलादसंग होलीलाई जोडेर हेरिन्छ । हिरण्यकश्यपुका पुत्र प्रल्हादलाई उनको आफ्नै फुपु होलिकाले आगोमा भष्म पार्न लाग्दा उनि आँफै आगोमा भष्म भएको दिनका रुपमा होलीको पर्व स्थापीत भएको मानिन्छ । विष्णुको नरसिंह अवतार को वर्णन अनि उत्पती पनि होली अनि प्रहलाद घटना क्रम सँग सम्वन्धित रहेको मान्यता छ ।
नारद पुराण र भविष्य पुराणमा होलीको महत्व अनि चलनको चर्चा गरिएको छ र भगवान श्रीकृष्णलाई दुध खुवाएर मार्न आएकी राक्षसनी पुतनाको पनि होली कै दिन बालक कृष्णले वध गरेको उल्लेख गरिएको छ । यसरी पुतनाको बध भएपछी गोपालवासीहरुले जयजयकार गर्दै रंगीन उत्सव मनाएको विवरण उल्लेख छ ।
पौराणिक मान्यतामा रङ्गहरुको आफ्नै तरिकाले व्याख्या गरिएको छ । नीलो रंगले मानवता र धैर्यता पहेलो भगवान श्री कृष्णको प्रिय रगं, शौभाग्यको सुचक रातो रगं मानिन्छ । पर्वका बहुआयमिक मान्यता भएपनि नेपालमा हरेक जाति र समुदायलाई जोड्ने पर्वको रुपमा होलीलाई लिईने गरिएको छ । उत्साह अनि सदभाव बाँड्दै एउटै आँगनमा स–परिवारबीच रङ्ग साट्ने, छरछिमेक र सामाजिक रुपमा रङ्ग खेल्ने, आफन्तसँग भेट्ने र खुशी साट्ने पर्व होली भएको छ । एकतामा बाँध्ने पर्व होलीलाई प्रेमभाव बाँडेर मनाऔं, शुभकामना ।